‘साहित्य र कलाको विकासका लागि चेतनाको आवश्यकता हुन्छ’

मोरङ– विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले मोरङका दुई जना नगर प्रमुखलाई सम्मानित गरेको छ।

शनिबार विराटनगरमा आयोजित प्रतिष्ठानको १४ औँ साधारण सभा तथा सम्मान कार्यक्रममा प्रतिष्ठानले विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीलाई सम्मान गरेको हो।

यस्तै उक्त कार्यक्रममा देश सञ्चारका सम्पादक युवराज घिमिरेसमेत सम्मानित भएका छन्। उनलाई अघिल्लो संस्करणमै पुरस्कृत गर्ने घोषणा भएको भएपनि समय नमिलेका कारण यसपटक पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ। पत्रकार घिमिरेलाई ५१ हजार रुपैयाँसहित सम्मान गरिएको हाे।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश एक प्रमुख प्राडा गोविन्द तुम्बाहाङले साहित्य र कला क्षेत्रमा धैर्यताको खाँचो हुने गरेको बताएका थिए। यस क्षेत्रमा भिज्नका लागि समय र मेहनत उत्तिकै आवश्यक पर्ने बताएका प्रदेश प्रमुख तुम्बाहाङले भने, ‘आजको समयमा साहित्य र कलाको विकास लागि चेतनाको आवश्यकता हुन्छ। र त्यसमा विवेकपनि जोडिएको हुन्छ। चेतना र विवेकको समिश्रणले नै सही मार्ग प्रशस्त हुन्छ।’

सोही क्रममा विराटनगर महानगरपालिकाले साहित्य क्षेत्रमा सफलतापूर्वक कार्य गर्दै आएको प्रतिष्ठानका लागि जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेकाे छ।

कार्यक्रममा विशिष्ठ अतिथि प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले संस्कृति र संस्कारको संरक्षण चुनौतिपूर्ण बन्दै गएको बताएका थिए।

पछिल्लो पुस्ता नेपाली भन्दापनि अन्य भाषामा आकर्षित भएको बताएका मन्त्री घिमिरेले आफ्नो पहिचान र संस्कार जोगाउन साहित्यले अहम भूमिका खेल्नेमा जोड दिए।

२०६१ सालमा स्थापित प्रतिष्ठानले भाषा तथा साहित्यमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।

साउन १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू