रचना गर्भ

मैले किन गर्नुपर्‍यो पूर्वीय दर्शनको पुनर्व्याख्या?

हाल प्रकाशित ‘पूर्वीय दर्शनको पुनर्व्याख्या’ पुस्तक केही महत्त्वपूर्ण मोडहरूमा घुम्दै नेपाली बजारमा आइपुगेको छ। विश्वमा प्रचलित शिक्षा प्रणालीबाट एउटा मौलिक हाँगो उमार्ने प्रयत्नमा लागिरहेका बेलामा मैले ‘के नेपाली संस्कारमा विद्याकी देवी मानिएकी सरस्वतीमा चित्रण गरेको दर्शन र हामीले उठाउन खोजेको विद्या सम्बन्धी दर्शनका बीचमा कुनै सारूप्य छ ?’ भनेर कुनै अध्ययन गरिरहेको थिएँ। तर त्यो बेला म क्यानाडामा थिएँ, नेपाल फर्किसकेको थिइनँ। त्यसरी खोज्ने क्रममा सरस्वतीमा बुनिएको दर्शन हिजो, आज, भोलि र युगौँ पछिसम्मका लागि पनि समसामयिक देखिएकाले मैले नेपाल फर्केपछि कुनै शैक्षिक संस्थामा अतिथि भएर बोल्नु पर्दा सरस्वतीको दर्शनबारे बोल्ने गर्थेँ। मलाई ‘जलबिन्दु निपातेन, क्रमशः पुर्यते घट। स हेतु सर्व विद्यानां, धर्मस्य च धनस्य च॥’ अर्थात् “जसरी पानीका थोपा झर्दै जाँदा घैँटो आकस्मिक रूपमा नभएर क्रमशः भरिन्छ, त्यसरी नै विद्या पनि क्रमशः आर्जन गरिँदै जाने हो’ भन्ने कुरालाई एकदम अचुक रूपमा बुझाउन सरस्वतीको उपमा निकै मन पर्थ्यो।

सरस्वतीको मूर्तिमा बुनिएको दर्शन

मेरो सरस्वती सम्बन्धी प्रवचन सुन्ने श्रोताले उपयोगी बताएका हुनाले तथा सरस्वतीको मूर्तिमा बुनिएको दर्शनबाट म आफैँ पनि प्रभावित भएको हुनाले पछि  ‘नेपाल खुला विश्वविद्यालय’ मा मूर्तिमा बुनिएको प्रतिकात्मकतालाई प्रयोग गरेरवैदिक दर्शन पढाउने सोच मैले बनाएको थिएँ।त्यही उद्देश्यले धेरै वर्षदेखि देवीदेवतामा बुनिएको दर्शनलाई अध्ययनर खोज गर्दै आएको थिएँ। तर सन् २०७२को अन्त सम्ममा सरस्वती सम्बन्धी लेख र क्यानाडा छँदै लेखेको संस्कार र कर्मकाण्ड सम्बन्धी लेख बाहेक अरू केही लेखेको थिइन।

सरस्वतीमा उतारिएको प्रतीकवादबाट प्रभावित र उत्साहित भएको ममा सरस्वतीमा बुनिएको दर्शनलाई नै प्राचीन वा आधुनिक पुस्तकहरूमा पढेर, साभार-ग्रन्थहरूको लामो सूचीले रङ्गाउँदै, नेपाली शिक्षा प्रणालीको रूपान्तरणमा समर्पित एउटा पूर्ण ग्रन्थ बनाउने विचार थियो। त्यस्तो किनभने मेरो रुचिका विषय ज्ञान, विज्ञान, प्रज्ञा, शिक्षा, विद्या आदि थिए। साथै,यी विषयसँग सम्बन्धित दर्शनलाई प्रतीकवादी अभिव्यक्तिको उपयोग गरेर उतार्न सक्नु मेरा लागि बडो आनन्ददायी हुने थियो। तर त्यसका लागि आवश्यक मात्रामा प्राचीन सन्दर्भ सामग्री पाउन मलाई अत्यन्त कठिन भयो। वास्तवमै उचित ग्रन्थ मैले पाउनै सकिन। पहिले सरस्वतीकै अलग्ग पुस्तक बनाउन भन्दा अति प्रचलित देवीदेवतामा रहेको प्रतिकवादलाई उपयोग गरेर वैदिक दर्शनलाई समाजमा पस्कनु तत्कालका लागि बढि उपयुक्त हुने देखियो।

गणेश र लक्ष्मीसम्बन्धी निबन्धहरु

त्यसैले किताब लेख्ने निधो गर्नासाथ एकदम तदारुकताका साथ गणेश र लक्ष्मीका बारेमा निबन्धात्मक लेखहरू लेखेँ। जब मैले यी तीन देवीदेवताकोदर्शनलाई निबन्धात्मक रूपमा लेखेर केही विद्वान् मित्रहरूसँग प्रतिक्रिया लिँदा वहाँहरूले तिनलाई नितान्त नौला भएको बताउनु भयो। त्यसरी अभिव्यक्त गरिएको कुनै पुस्तक आफूले नपढेको बताउनु भयो। उता नेपाल खुला विश्वविद्यालयमा राजनीतिक कब्जा हुने पक्का भएपछि त्यो विश्वविद्यालयलाई स्थापनाको दिनबाट नै छोड्ने स्थिति बन्यो। छोड्ने मात्र स्थिति नभएर हाम्रा विचार र परिकल्पनाहरूले आफैले जन्म दिएको संस्थामा प्रवेश नपाउने र त्यसको स्थापनामा सहयोग गरेका कोही व्यक्तिको कुनै सम्मान गरिने कुरा त परै जाओस् अभिलेख सम्म पनि नराखिने सङ्केत पनि स्पष्टसँग देखियो। अतः खुला विश्वविद्यालयको भारी पूर्णतः बिसाउनु नै हामी अभियन्ताहरूका लागि श्रेयस्कर देखिन गयो। संस्थागत अनुसन्धान गरेर देशलाई केही दिने हाम्रो सपनाको अन्त्य हुन गयो। त्यो अवस्थामा एक्लै गर्न सकिने काम रोज्नु नै  सर्वोत्तम देखिन गयो। अनि मेरा लागि लेखन जस्तो उपयुक्त काम अरू खासै थिएन। उता मेरा मित्रहरूले पनि किताब लेख्न प्रेरित गरिरहनु भएको थियो।

पूर्वीय साहित्यको अध्ययन

सन् २००५ देखि उत्साहपूर्वक थालेको पूर्वीय साहित्यको अध्ययनलाई निरन्तरता दिँदै गर्दा जब-जब देवी देवताका प्रसङ्ग आउँछन् तब-तब तिनमा बुनिएको दर्शनको सार खोज्ने मेरो बानी थियो। नेपाली, हिन्दी र अङ्ग्रेजीमा लेखिएका वा अनुवाद गरिएका वैदिक र पौराणिक सभ्यता, संस्कृति र दर्शनसँग सम्बन्धित पुस्तक पढ्ने सन्दर्भमा मलाई के थाहा हुन गयो भनेसामान्य व्यक्तिले ती किताबहरू पढेर मूर्तिमा बुनिएको दर्शनलाई ठीक-ठीक ढङ्गले बुझ्न बडो कठिन छ। त्यस्ता उपयुक्त पुस्तक हुन त सक्लान् तर मैले पाएका र पढेका किताब मध्ये त्यस्तो एउटा किताब देखिन जसले एकदम स्पष्ट र सहज तरिकाले देवीदेवताका मूर्तिमा उतारिएको दर्शनलाई जनमानसमा र मूलतः वैज्ञानिक पुस्तामा लैजानसकुन्। त्यसैले वैज्ञानिक क्षेत्रमा गरिने अध्ययन र अनुसन्धानको मूल मर्मलाई आत्मसात् गरेको र लामो समय त्यस क्षेत्रमा काम गरेको आफ्नो सचेतनालाई उपयोग गरेर वैज्ञानिक वा आध्यात्मिकजुनसुकै यात्रालाई अपनाउने चाहनेउदाउँदो पुस्ताका मानिसका लागि उपयोगी हुने प्रारम्भिक दर्शनको किताब लेखेमा लिकमा त्यसको उपयोगिता हुनेछ भन्ने मलाई लागेको थियो, तर त्यस्तो ग्रन्थ आफैँले लेख्न भने मैले समय निकाल्न सकिरहेको थिइन।

उता मेरा पुराना अध्ययनबाट मैले खास देवी देवता बारे सामान्य धारणा त बनाएको भए पनि कमसेकम कतिवटा देवी देवतामा बुनिएको दर्शनले वैदिक दर्शनको सारलाई उजागर गर्न सकिएला भन्ने निर्णयलेख्दै जाने क्रममा नै लिन सकेको हुँ। अन्तमा ब्रह्मा-सरस्वती, विष्णु-लक्ष्मी, शिव-काली, तथा गणेशबाट वैदिक दर्शनको सार उतार्न सकिने देखियो रतिनमा नै मैले पूर्वको मूल दर्शनलाई उतारेको छु। तर मलाई के कुरामा खुसी लाग्यो भने ईश्वरवादी, अनीश्वरवादी र मध्यस्थ खेमाका लागि छुट्टाछुट्टै देवी देवताको आवश्यकता नपर्ने पाउनु एउटा अचम्मको संयोग जस्तो मैले पाएँ।

पुस्तकमा उतारिएको दर्शन

संस्कृतबाट नेपालीमा आएका शब्दहरूको व्यापक प्रयोग भएको र तीशब्दको अर्थका बारेमा आम समाजमा अन्योलहरू रहेका हुनाले यो पुस्तकमा उतारिएको दर्शनलाई ठीक-ठीक तरिकाले बुझ्न वैदिक परम्पराका खास दार्शनिक शब्दहरूको परिचय दिन उचित देखेर पुस्तकको केही अंश यसका लागि खर्चिएको छ। उता पूर्वको वैदिक-बौद्ध परम्परामा कर्मकाण्डको ठूलो स्थान भएको, धर्म र सम्प्रदाय सम्बन्धी अवधारणा विश्वका अन्य धर्म-सम्प्रदायको भन्दा फरक रहेको हुनाले ती बारे पनि लेख्न आवश्यक देखियो। त्यही कारणले यो पुस्तकमा ‘वैदिक दर्शनको आधारभूत अन्तरवस्तु’ नामको पहिलो खण्ड र ‘वैदिक दर्शनमा देवीदेवताको अवधारणा’ नामको दोस्रो खण्ड रहन गए।

विद्वान् मित्रहरूबाट उत्साहजनक प्रतिक्रिया पाएपछि मैले प्रमात्रा सिद्धान्तका बारे लेखेर सक्नु पूर्व नै यो किताब एकजना साहित्यकार र एकजना आध्यात्मिक समीक्षकबाट समीक्षा गराउन चाहेँ। तर त्यस्ता कोही प्रसिद्ध व्यक्तिसँग मेरो निकटता थिएन। यसमा दुईजना मित्रहरू काममा आउनु भयो जसको अनुग्रहले मैले नेपालका प्रसिद्ध आध्यात्मिक लेखक र चिन्तक प्रा. डा. शिवगोपाल रिसाल तथा प्रसिद्ध साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराई ज्युसँग परिचित हुनुका साथै वहाँहरूलाई आफ्नो पाण्डुलिपि दिन पाएँ। लगत्तै प्रमात्रा सिद्धान्तका बारेमा पनि लेखि सके पछि पूर्व परिचित वैज्ञानिकअनुसन्धानकर्ता तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. दिनेश राज भुजुलाई पाण्डुलिपि दिएर समग्र पुस्तकलाई एउटा वैज्ञानिकका आँखाले हेरिदिन आग्रह गरेँ। पुस्तकालयविद्  डा. जनार्दन ढुङ्गानालाई विधा-स्वतन्त्र तरिकाले हरिदिन भनेँ। वहाँहरूसवैले यति राम्रा निबन्धहरू मार्फत प्रतिक्रिया दिनुभएको छ कि ती आफ्नै मौलिक ढङ्गले पछि-पछि सम्म पनि जीवित रहिरहने छन्। उता केही प्रकाशन-गृहसँग पनि म सम्पर्क गर्दै थिएँ।

१४ वर्षको फल

यति  हुँदै थियो तर मेरो लेखहरूलाई माझेर र प्रकाशनमा लैजानु अगाडी नै मेरो काम रोकियो। नेपालमा भएको संघीयपुनर्संरचना पछिको पहिलो स्थानीय चुनाव सकिनासाथ गैँडाकोट नगरपालिका नगर-प्रमुख तथा स्थानीय केही विद्वान् हरूले एउटा नयाँ विश्वविद्यालय स्थापना गर्ने कामको नेतृत्व गर्न मलाई आह्वान गर्नु भयो। खुला विश्वविद्यालयबाट केही समय अघिमात्र बाहिरिएको मलाई यो प्रस्तावले उत्साहित गरायो। फलस्वरूप, किताबका सवै कामलाई पुर्ण रूपमा थन्क्याएर म प्रस्तावित नेपाल विश्वविद्यालय स्थापना गर्ने काममा होमिएर डेढ वर्ष भन्दा बढि काम गरेँ।  तर अभियानले नयाँ चरणहरूमा प्रवेश गर्दै जाँदा राजनीतिक आकाङ्क्षीहरूका व्यवहारसँग सहमत हुन नसकेकोले यो अभियानलाई समयमा नै छोड्नु पर्छ भनेर छोडेँ। अनि फेरि किताबमा नै फर्केको कारणले यो किताबलाई अन्ततः बाहिर ल्याउन सम्भव भयो। मैले आफ्नो वैज्ञानिक र प्राविधिक पेसालाई थाती  राखेर सन् २००५ देखि सक्रिय रूपमा थालेको पूर्वीय दर्शनको अध्ययनले अन्ततः एउटा फल फलाएको छ। यदि यसले राष्ट्रकवि माधव घिमिरेले भने झैँ “एउटा महत्त्वपूर्ण शोधबाट जन्मेको ‘पूर्वीय दर्शनको पुनर्व्याख्या’ नेपाली समाज, संस्कृति र राष्ट्र प्रतिको प्रेम भावना जगाउँदै त्यहाँ लुकेको सत्य उद्घाटित गर्न उत्प्रेरणा जगाउने रचना” बन्न सफल भएमा र सामाजिक रूपान्तरणको काममा एउटा इँटा थपेमा लेखकलाई सन्तोषको अनुभूति हुनेछ।

यस बीचमा परिचित हुनु भई सँगै काम गर्नु भएका कवि गोविन्दराज विनोदीका कविताबाट म अति प्रभावित भएको र वहाँले मेरो पाण्डुलिपि पढि नै सक्नु भएकोले वहाँको एउटा कवितात्मक मन्तव्य पुस्तकमा राख्न चाहेँ। साथै अरू पनि पाण्डुलिपि पाठक र सुभचिन्तकलेराष्ट्रकवि माधव प्रसाद धिमिरे र संस्कृतिविद्सत्यमोहन जोशी सय वर्ष आयु पुगेका नेपालका राष्ट्रीय स्तम्भहरू भएकोले वहाँहरूका विचार पनि राख्ने सुझाव दिनुभयो। यसरी वहाँहरूलाई मैले पाण्डुलिपि पनि टक्र्याएँ। संयोगले सत्यमोहन जोशीज्यूलाई वहाँको जन्म-शताब्दीको अवसरमा धेरै संस्थाहरूबाट लगातार सम्मान दिइइरहेको समय पर्नाले किताब प्रेसमा जाने दिनसम्ममा पढेर समीक्षा लेख्न भ्याउनु भएन। राष्ट्रकविका जन्म-शताब्दी समारोहहरू ६ महिना अघि नै परेका र वहाँको स्वास्थ्य पनि राम्रो भएको अवस्था पर्नाले सुन्दर शुभकामना दिन सक्नु भयो र यो रचनालाई राष्ट्रसेवाको कामका रूपमा देख्नु भयो। दुवै शताब्दी पुरुषहरूलाई मेरो नमन छ।

साउन १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्