विमान उडाउनुअघि रक्सी पिएका दुई पाइलट पक्राउ

स्कटल्याण्डको ग्लास्गो विमानस्थलबाट विमान उडानको तयारीमा रहेका दुई पाइलट पक्राउ परेका छन् ।
युनाइटेड एयरलाइन्सका दुई पालट अमेरिकाको न्युयोर्कका लागि विमान उडाउने तयारीमा थिए । विमान उडानका लागि जानु पूर्व भएको स्वास परीक्षणमा असफल भएपछि उनीहरु पक्राउ परेका हुन् ।
४५ र ६१ वर्षका ती पाइलट विरुद्ध कुनै उजुरी दर्ता गरिएको छैन तर उनीहरु थुनामै छन् । उनीहरुलाई मंगलबार अदालतमा पेश गर्ने तयारी रहेको बिबिसीले उल्लेख गरेको छ ।
स्कटल्याण्ड प्रहरीले दुई पाइलट पक्राउ परेको पुष्टि गरेको छ । युए १६२ फ्लाइटको विमान उडाउनु पूर्व उनीहरुलाई पक्राउ परेका हुन् ।
पाइलट पक्राउ परेपछि विमानको उडान रद्द भएको थियो । घटनापछि युनाइटेड एयरलाइन्सले वक्तव्य जारी गरेर आफूहरुका लागि यात्रुको सुरक्षा पहिलो प्राथमिकता रहेको उल्लेख गरेको छ ।
पक्राउ परेका पाइलटले रक्सी पिएको पाइएको थियो । यसमा कुनै पनि किसिमको सहनशीलता नदेखाइने एयरलाइन्सले उल्लेख गरेको छ ।