हुम्लामा हिमाली जडिबुटी नारुबाट साबुन उत्पादन सुरु

जडिबुटी नारुबाट उत्पादित साबुन।

सिमकोट-हिमाली क्षेत्रमा पाइने जडिबुटी नारुबाट साबुन उत्पादन सुरु भएको छ। परम्परादेखि स्थानीयले नारुलाई साबुनका रुपमा प्रयोग गर्ने गरेको भएपनि अहिले भने नारुलाई प्रशोधन गरेर साबुन उत्पादन सुरु गरिएको हो।

साबुनका लागि कच्चा पदार्थ जडिबुटी नारु भएर पनि त्यसै खेर गएको अवस्थामा यसको प्रशोधन गरेर साबुन उत्पादन सुरु गरिएको हो।

पहिला नारुबाटै उनीका कपडा धुनका लागि साबुनका रुपमा प्रयोग गर्ने गरिएको भए पनि अहिले त्यो जडिबुटी खेर गएको अवस्थामा यसलाई मेसिनमा प्रशोधन गरेर साबुन उत्पादन गर्न सुरु गरिएको उद्यमीले बताएका छन्।

यसलाई व्यवसायिक उत्पादन गरेर जिल्ला बाहिरबाट साबुन आयातलाई निरुत्साहित गर्ने लक्ष्य उनीहरुको रहेको छ।

स्थानीयले काम पनि पाउने र जिल्लाको श्रोत बाहिर नजाने भएपछि नारुबाट साबुन उत्पादन गर्न सुरु गरिएको सिमकाेट वडा नम्बर २ तुल बहादुर बोहराले बताए।

अब जिल्लाको आवश्यकता मात्र धान्ने भन्दा पनि जिल्ला बाहिर निकासी गर्ने किसिमले साबुनको उत्पादन सुरु गरिने उनले बताए। हुम्ला जिल्लामा नारु वनमा पाइने र हाल त्यो जडिबुटी खेर गएको अवस्था छ।

यसलाई प्रशोधन गरेर साबुन उत्पादन भएपछि रोजगारी र आम्दानी दुबै कुरा उपलब्धि हुनेछ। यसलाई खेतीका रुपमा उत्पादन गर्न सकिने भए पनि यो जडिबुटीको हालसम्म कसैबाट पनि खेती भएको छैन।

बाहिरबाट सोडा मात्र ल्याएर नारुको धुलोसँग प्रशोधन गरेर तीन सय ग्रामका साबुनका चक्की उत्पादन गरिएको छ। साबुनको फिज पनि राम्रो आउने गरेको छ। उत्पादन भएका साबुन साझा सुविधा केन्द्रबाट बिक्री वितरण गरिने भएको छ।

सबै मुल्यको हिसाब मिलान गर्दा प्रतिचक्की पचास रुपैयाँ पर्ने र त्यसबाट उद्यमीलाई प्रतिचक्की पन्ध्र रुपैयाँ नाफा हुने उद्यमीले बताएका छन्। पहिलो लटमा साढे तीन सय चक्की उत्पादन गरिएकाे छ। जब कि बाहिरबाट गएका साबुनहरुको मुल्य प्रतिचक्की सत्तरी रुपियाँ पर्ने गरेको छ।

नेपाल सरकारको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको आर्थिक लगानीमा स्थानीय सहयोगी संस्था स्नोल्याण्ड एकिकृत विकास केन्द्रको सहजिकरणमा केही समय अगाडी नारुको साबुन उत्पादन सम्बन्धि तालिम उद्यमीलाई प्रदान गरिएको थियो।

तीनै उद्यमीहरुबाट स्थानीय जडिबुटीको साबुन उत्पादन सुरु भएको केन्द्रका निर्देशक गोबिन्द शाहीले बताए। नारु मात्र होइन रिठा र बोसोबाट पनि साबुन उत्पादन गर्ने तयारी भै रहेको छ।

साउन १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्