फाइल तस्बिर
अमेरिकामा बन्दुक आतंक

असुरक्षित अमेरिका, यो वर्ष २५४ आम नरसंहारका घटना

अमेरिकामा बन्दुक प्रयोग भएर हुने हिंसाका घटना बढ्दै गएका छन् । शनिबार र आइतबार झण्डै १४ घण्टाको अन्तरालमा दुई ठाउँमा अन्धाधुन्ध गोली प्रहार भयो, जसमा २९ जनाको ज्यान गयो । ५३ जना घाइते भए ।

टेक्सासको एल पासोमा रहेको वालमार्टमा २१ वर्षका प्याट्रिक क्रुसियसले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गयो, २६ जना घाइते भए । यो सन् २०१९ को हालसम्म अमेरिकामा भएको सबैभन्दा ठूलो बन्दुक आतंक हो ।

त्यसको झण्डै १४ घण्टापछि ओहायोमा अन्धाधुन्ध गोली प्रहार भयो । ओहायोको ऐतिहासिक डेटन जिल्लामा भएको गोलीकाण्डमा ९ जनाको ज्यान गयो, २७ जना घाइते भए । ओहायोको गोलीकाण्डमा आक्रमणकारीको पनि ज्यान गयो प्रहरीको कारवाहीमा । २४ वर्षका कोनर बेट्स नाम गरेका गोरो जातिका व्यक्तिले चलाएको गोली लागेर ज्यान जानेमा उनकी बहिनी पनि परिन् । टेक्सासको घटनामा संलग्न पनि गोरो वर्णकै हुन् ।

वर्ष २०१९ को २१६ औँ दिन थियो आइतबार । आइतबारसम्म यो वर्ष अमेरिकामा मास सुटिङ्गका २५४ घटना भएको गन भ्वाइलेन्स अर्काइभले जनाएको छ । गन भ्वाइलेन्स अर्काइभ गैरनाफामुखी संस्था हो, जसले अमेरिकामा भएका सबै बन्दुक सम्बन्धी हिंसाको तथ्यांक संकलन गर्ने गर्छ र सार्वजनिक स्थानमा हुने धन्धाधुन्ध गोलीकाण्डविरुद्ध वकालत गर्ने गर्छ ।

अहिलेसम्मको तथ्यांक अनुसार औषतमा दैनिक एक भन्दा बढी बन्दुक सम्बन्धी हिंसाका घटना हुने गरेका छन्, जुन सन् २०१६ यताको उच्च हो।

गन भ्वाइलेन्स अर्काइभका अनुसार अमेरिकामा यो वर्ष हालसम्म ३३ हजार १९० वटा गोलीकाण्ड भएका छन् । जसमा ८ हजार ७७८ जनाको ज्यान गएको छ र १७ हजार ४४९ जना घाइते भएका छन् । यसमा मास सुटिङ्गसहित सुरक्षा अधिकारीले अपराधी तथा शंकास्पदमाथि चलाएको गोली, घरायसी रुपमा भएका घटना, सुरक्षात्मक प्रयोजनका लागि चलाइएको गोली, हत्या गर्ने मनसाय नराखी भएका गोली प्रहार सहितको सूचना रहेको जनाइएको छ ।

यसअघि सन् २०१६ मा औषतमा दैनिक एक गोलीकाण्ड भएका थिए, सो वर्ष अन्धाधुन्ध गोली प्रहारका ३८२ घटना भएका थिए । सन् २०१७ मा ३४६ तथा २०१८ मा ३४० पटक अन्धाधुन्ध गोली प्रहारका घटना भएका थिए ।

आइतबारसहित पछिल्लो ८ दिनमा १०० जना भन्दा बढीमाथि गोली प्रहार भएको छ । टेक्सास र ओहायोको घटनाअघि सन फ्रान्सिस्कोको बे एरियमा भएको गिलरोय गार्लिक फुडफेस्टिभलमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीनजनाको ज्यान गएको थियो भने १५ जना घाइते भएका थिए ।
यस्तै ब्रुक्लिनको क्लब पार्टीमा अन्धाधुन्ध गोली प्रहार हुँदा एकजनाको ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए ।

यस्तै मिसिसिपीको साउथएवेनमा भएको गोलीकाण्डमा दुईजनाको ज्यान गएको थियो र अरु दुईजना घाइते भएका थिए।

केही घण्टा भित्रै दुई आम गोलीकाण्ड भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधीवक्तासँग भेटेर घटनाको अनुसन्धानका सम्बन्धमा छलफल गरेका छन् ।

अमेरिकामा भएका प्रमुख गोलीकाण्ड


लस भेगास (अक्टोबर १, २०१७) – एक बन्दुकधारीले कन्ट्री म्युजिक फेस्टिभलमा अन्धाधुन्ध गोली चलाए । जसमा ५८ जनाको ज्यान गयो, ५६४ जना घाइते भए । होटल सुटको ३२ औँ तलबाट गोली चलाएका उनले त्यसपछि आफैलाई गोली हाने ।

ओरल्याण्डो (जुन १२, २०१६) – एक बन्दुकधारीले पुल्सीमा रहेको गे नाइटक्लबमा अन्धाधुन्ध गोली चलाउँदा ४९ जनाको ज्यान गएको थियो ।

भर्जिनिया टेक (अप्रिल १६, २००७) – बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ३२ जनाको ज्यान गयो । भर्जिनियाको ब्ल्याक्सबर्गमा रहेको भर्जिनिया टेक विश्वविद्यालयमा भएको सो घटनामा बन्दुकधारी आफैलाई पनि गोली हानेका थिए ।

स्याण्डी हूक (डिसेम्बर १४, २०१२) – एक बन्दुकधारीले आफ्नी आमालाई गोली हानेर हत्या गरेपछि २० बालबालिका र ६ वयश्यकको हत्या गरे । स्याण्डी हूक एलिमेन्ट्री स्कूलमा भएको सो घटनामा उनले आफैलाई पनि गोली प्रहार गरेका थिए ।

सुथरल्याण्ड स्प्रिङ (नोभेम्बर ५, २०१७) – श्रीमती र छोराछोरीलाई कुटपिट गरेका कारण अमेरिकी वायु सेनाबाट निकालिएका व्यक्तिले ससुरालीका परिवारले प्रार्थना गरिरहेको टेक्सासको ग्रामीण क्षेत्रस्थित चर्चमा अन्धाधुन्ध गोली चलाए । जसमा २६ जनाको ज्यान गयो । त्यसपछि उनले आफैलाई गोली हानेका थिए ।

किलीन (अक्टोबर १६, १९९१) – एक व्यक्तिले आफूले चलाएको ट्रक टेक्सास सिटी स्थित रेस्टुरेन्टको पसालेर अन्धाधुन्ध गोली चलाउँदा २३ जनाको ज्यान गएको थियो ।

सन यसिड्रो (जुलाई १८, १९८४) – क्यालिफोर्नियाको सन डियागोमा रहेको म्याक्डोनल्सको रेस्टुरेन्टमा अन्धाधुन्ध गोली चलाउँदा २१ जनाको ज्यान गएको थियो भने १९ जना घाइते भएका थिए । आक्रमणकारीको प्रहरीको कारवाहीमा ज्यान गएको थियो ।

एल पासो (अगस्ट ३, २०१९) – टेक्सासको एल पासोमा रहेको वालमार्ट स्टोरमा २१ वर्षका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गयो । आक्रमणकारी पक्राउ परेका छन् र घटना आन्तरिक आतंकवाद हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको अधिकारीले बताएका छन् ।

पार्कल्याण्ड (फेब्रुअरी १४, २०१८) – फ्लोरिडाको पार्कल्याण्डमा रहेको म्याजोरी स्टोनम्यान डुग्लस हाइस्कूलका पूर्व विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १७ विद्यार्थी तथा शिक्षकको ज्यान गएको थियो । आक्रमणकारी पक्राउ परे ।

सन बर्नार्डिनो (डिसेम्बर २, २०१५) – दक्षिणी क्यालिफोर्नियाको सन बर्नार्डिनोमा श्रीमान–श्रीमतीले गोली चलाउँदा १४ जनाको ज्यान गयो । आक्रमणकारीको प्रहरी कारवाहीमा ज्यान गयो ।

भर्जिनिया बिच (मे ३१, २०१९) – भर्जिनियाको भर्जिनिया बिचमा रहेको नगरपालिका कार्यालयमा त्यहिँ कार्यरत इन्जिनियरले गोली चलाए । जसमा १२ जनाको ज्यान गएको थियो । आक्रमणकारीले सोही दिन आफ्नो राजीनामा इमेल गरेका थिए । प्रहरीको कारवाहीमा उनको ज्यान गएको थियो ।

थाउजेण्डे ओएक्स (नोभेम्बर ७, २०१८) – क्यालिफोर्नियाको थाउजेण्ड ओएक्समा अमेरिकी नेभीका पूर्व सदस्यले गोली चलाउँदा १२ जनाको ज्यान गएको थियो । उनले आफैलाई गोली हानेका थिए ।

फोर्ट हूड (नोभेम्बर ५, २००९) – टेक्सासमा रहेको अमेरिकी सेनाको बेस क्याम्पमा आर्मी मेजर तथा मानसिक रोग विशेषज्ञले अन्धाधुन्ध गोली चलाउँदा १३ जनाको ज्यान गयो । उनलाई मृत्युदण्डको सजाय दिइएको थियो ।

अस्टिन (अगस्ट १, १९६६) – टेक्सास विश्वविद्यालयको क्लक टावरमा बसेर एक व्यक्तिले ९० मिनेटको अवधिमा एक गर्भवतिसहित १३ जनाको हत्या गरे, घटनामा ३० जना भन्दा बढी घाइते भए । यसलाई अमेरिकाको इतिहासमा सार्वजनिक स्थानमा भएको पहिलो गोलीकाण्ड मानिन्छ । प्रहरीको जवाफी कारवाहीमा आक्रमणकारीको ज्यान गएको थियो ।

वासिङ्गटन डिसी, (सेप्टेम्बर १६, २०१३) – अमेरिकी नेभीका पूर्व सदस्यले वासिङ्गटनको नेभी यार्डमा अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको ज्यान गयो । प्रहरीको कारवाहीमा आक्रमणकारीको ज्यान गयो ।

अरोसा (जुलाई २०, २०१२) – क्लोराडोको अरोसामा रहेको मल्टिप्लेक्स सिनेमा हलमा ब्याटम्यान चलचित्र ‘द डार्क नाइट राइज’ को मिडनाइट प्रिमियरमा नकाबधारी व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको ज्यान गयो, अरु ७० जना घाइते भए । आक्रमणकारीले एक भन्दा बढी जन्मकैद पाए ।

कोलम्बाइन (अप्रिल २०, १९९९) – क्लोराडोको जेफर्सन काउन्टीमा रहेको कोलम्बाइन हाइस्कूलमा दुई किशोरले अन्धाधुन्ध गोली चलाउँदा १२ जना विद्यार्थी तथा शिक्षकको ज्यान गयो । यस्तै २० जना घाइते भए । आक्रमणकारीले आफैलाई गोलीहानी आत्महत्या गरेका थिए ।

ट्री अफ लाइफ (अक्टोबर २७, २०१८) – पिटर्सबर्ग नजिकै रहेको ट्री अफ लाइफमा एक बन्दुकधारीले एउटा सेमी–अटोमेटिक राइफल तथा तीन ह्याण्डगन मार्फत ‘सबै यहुदी मर्नु पर्छ’ भन्दै गोली चलाउँदा ११ जनाको ज्यान गयो ।

वासिङ्गटन डिसी (अक्टोबर २००२) – दुई व्यक्तिले १३ जनलाई लक्षित गरी गोली चलाए, जसमा १० जनाको ज्यान गयो । आक्रमणकारी मध्ये एकजनालाई फाँसी तथा एकलाई जन्मकैद भयो ।

डेटन (अगस्ट ४, २०१९) – ओहायोको ऐतिहासिक डेटनमा एकजनाले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गयो । २७ जना घाइते भए । प्रहरीको गोली लागि आक्रमणकारी मारिए ।

चार्ल्सटन (जुन १७, २०१५) – एक ह्वाइट सुप्रिमिस्टले साउथ क्यारोलिनाको चार्ल्सटनमा रहेको अधिकांश कालो वर्णका समुदाय जाने चर्चमा गोली चलाउँदा ९ जनाको ज्यान गयो । उनलाई जन्मकैदको सजाय दिइयो ।

विस्कन्सिन (अगस्ट ५, २०१२) – एक ह्वाइट सुप्रिमिस्टले विस्कन्सिनमा रहेको शिख मन्दिरमा अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको ज्यान गयो । आक्रमणकारी आफैले आफ्नो हत्या गरेका थिए ।

टुसन (जनवरी ८, २०११) – एरिजोनाको टुसनमाभएको अन्धाधुन्ध गोलीकाण्डमा ६ जनाको ज्यान गयो, अरु १३ जना घाइते भए । यो घटनामा अमेरिकी कंग्रेसका सदस्य गाब्रिएली गिफोर्डस घाइते भए ।

(यो सामग्री तयार पार्नका लागि गन भ्वाइलेन्स अर्काइभसँगै अमेरिकी सञ्चारमाध्यमहरु सिबिएस, सिएनएन तथा समाचार संस्था रोयटर्सको सहयोग लिइएको छ ।)

साउन २०, २०७६ मा प्रकाशित