सात महिनामा साढे ९ लाख पर्यटकले लुम्बिनी घुमे, सबैभन्दा बढी श्रीलंकन

बुद्धको जन्मस्थल लुम्बीनी । फाइल तस्बिर ।

बुटवल-बितेको सात महिनामा बुद्ध जन्मस्थल लुम्बिनीमा साढे ९ लाख पर्यटक घुम्न आएका छन्।

गत ७ महिना (जनवरीदेखि जुलाईसम्म) मा ९ लाख ६० हजार २ सय ६० जनाले लुम्बिनी घुमेको लुम्बिनी विकास कोषले जनाएको छ।
यो अवधिमा १ सय ४ देशका पर्यटक लुम्बिनी घुम्न आएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव एवं योजना प्रमुख इन्जिनियर सरोजकुमार भट्टराईले बताए।

गत सात महिनामा तेश्रो मुलुक (राहदानीबाहक)बाट ८६ हजार ५ सय ३१ पर्यटक लुम्बिनी आए भने ७ लाख ६३ हजार ४ सय ३१ नेपालीले लुम्बिनी घुमे। यस्तै छिमेकी मुलुक भारतबाट १ लाख १० हजार २ सय ९८ पर्यटक लुम्बिनी घुम्न आएका थिए।

विदेशी पर्यटकहरूको संख्या गत वर्षको सोही अवधिको तुलनामा १२ हजार ४ सय २ जना अर्थात् १६ प्रतिशतले बढी रहेको लुम्बिनी विकास कोष सूचना शाखाका नायब सुब्बा दिलिप कुलुंगले बताए। अघिल्लो वर्षको सोही अवधिमा ७४ हजार १ सय २९ जना विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए।

सबैभन्दा धेरै श्रीलंकाका पर्यटक


७ महिनामा लुम्बिनी आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी श्रीलंकाका पर्यटक छन्। सो अवधिमा १९ हजार २ सय ३९ श्रीलंकनले लुम्बिनी भ्रमण गरेका छन्।

त्यसपछि म्यान्मारका १६ हजार ९ सय ५६, थाई १५ हजार ९ सय २०, चिनीयाँहरू १२ हजार ८ सय ७, दक्षिण कोरियाका ३८ सय ४६, भियतनामीहरू २९ सय ९६, जर्मनीका १८ सय, स्वीट्जरल्याण्डका १३ सय ४८, जापानका १२ सय ३६, अमेरिकाका ११ सय ८९, फ्रान्सका १ हजार २३ पर्यटक लुम्बिनी आए ।

लुम्बिनी घुम्न आउने पर्यटकले मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कण्ड, विश्व शान्ति दीपलगायत विभिन्न स्वदेशी तथा विदेशी बिहार अवलोकन गर्छन् ।

केही पर्यटक चराचुरुङ्गी हेर्न र साइक्लिङमा पनि रमाउने गर्छन्। केही पर्यटक कपिलवस्तु र नवलपरासीका विभिन्न बौद्धस्थल र रामग्राम स्तुपासम्म पुग्ने गरेका छन्।

स्थलमार्ग हुँदै आउने बुद्धिष्ट देशहरू श्रीलंका, थाइल्याण्ड, भियतनाम, म्यान्मार, दक्षिण कोरियालगायतका देशका पर्यटकहरू सोही दिन या एकरात लुम्बिनीमा बसी फिर्ता जाने गरेतापनि युरोपियनलगायत चीन एवं अन्य देशका पर्यटक भने नेपालका अन्यत्र क्षेत्रमा भ्रमणका लागि जाने गरेका छन्।

प्रवर्द्धनलाई निरन्तरता दिनुपर्ने व्यवसायीको राय


भैरहवाबाट लुम्बिनीसम्म पुग्ने सडक बाटो निर्माणका क्रम जारी रहेको समयमा पनि विदेशी पर्यटक बढ्नुलाई सकारात्मक रूपमा लिनुपर्ने पर्यटन व्यवसायीहरूको भनाइ छ।

लुम्बिनीको प्रचार राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हुँदै जानु, प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६को कार्यक्रम आयोजना गर्नु, लुम्बिनीमा विभिन्न आध्यात्मिक कार्यक्रमहरू आयोजना हुनुलगायतका कारणले लुम्बिनी आउने विदेशी पर्यटकहरूको संख्या बढ्दै गएको हो।

भारतका बुद्धस्थलहरु बोधगया, सारनाथ, बनारस, कुशिनगर लगायतका क्षेत्रमा अझ बढी प्रवद्र्धन गर्नसके लुम्बिनी आउने विदेशी पर्यटकको संख्या बढ्ने सिद्धार्थ होटल संघ सान नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए।

‘भारत र चीनमा बढीभन्दा बढी प्रवद्र्धनका कार्यक्रम आयोजना गर्नुपर्छ, यसमा नेपाल पर्यटन बोर्ड, प्रदेश ५ सरकार र लुम्बिनी विकास कोषले मिलेर सामुहिक योजना बनाउनु पर्छ, हामी नीजि क्षेत्र सहकार्य गर्न तयार छौं– श्रेष्ठले भने।

यस वर्ष पनि बोधगयामा बुद्धिस्ट ट्राभल मार्ट, लखनउ, दिल्लीलगायतका शहरमा आयोजना हुने पर्यटन विशेष कार्यक्रममा होटल संघ सिद्धार्थनगरले प्रचारमुखी कार्यक्रम आयोजना गर्ने श्रेष्ठले जनाए।

साउन २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्