चालकको लापर्बाहीले एम्बुलेन्स प्रहरीको निगरानीमा

मोरङ-स्वास्थ्य क्षेत्रमा परिचालित एम्बुलेन्समा चालकको लापार्वाही बढेसँगै प्रहरीले निगरानी राख्‍ने भएको छ।

आपतकालिन अवस्थामा लामो तथा छोटो दूरीमा विरामी ओसारपोसारका लागि प्रयोग हुन गरेको एम्बुलेन्स चालकप्रति मोरङ प्रहरीले कडाइ गर्न थालेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एवं प्रवक्ता राजकुमार खिउजुका अनुसार एम्बुलेन्स चालकहरुमा मादक पदार्थ सेवनको गुनासो बढी आएको हुनाले निगरानी सुरु गरिएको हो।

यस क्रममा शनिबार राती आकस्मिक रुपमा चेक गर्ने क्रममा दुइ वटा एम्बुलेन्सका चालकले मापसे गरेको उनले बताए।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा बिरामी पुर्‍याएर फर्किदै गरेको को.२.च ३१२१ नम्बरको एम्बुलेन्सका चालक मोरङको सुनवर्सी नगरपालिका पूर्ण तामाङ र को.१.च ४०७१ नम्बरको एम्बुलेन्सका चालक विराटनगर महानगरपालिकाका मुकेश चौहानले मापसे गरेको भेटिएको उनले जानकारी दिए।

हाल प्रहरीले दुवै चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ। दुवैजना विरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी खिउजुले बताए।

मोरङमा १ सय ३८ वटा एम्बुलेन्स दर्ता भएर सञ्चालनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ।

साउन २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्