नेकपाका वरिष्ठ नेता माधव नेपालको माग

‘वाइडबडीमा व्यापक भ्रष्टाचार भएको छ, गम्भीर छानबिन हुनुपर्छ’

माधवकुमार नेपाल।

काठमाडौँ —पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले वाइडबडी प्रकरणमा व्यापक भ्रष्टाचार भएको र त्यसको सरकारले गहिराईमा पुगेर गम्भीर छानबिन गर्नु पर्ने माग गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रकरणमा दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारी र गृहसचिव प्रेमकुमार राईलाई छानबिन अघिनै निर्दोष घोषणा गरी छानबिन प्रक्रिया अघि बढाउन बेवास्ता गरेका बेला नेता नेपालले भने वाइडबडी प्रकरण सामान्य नभएको बताएका छन्।

देश सञ्चारले लिएको अन्तवार्तामा उनले छानबिन अघिनै प्रधानमन्त्री ओलीले समेत कसैलाई पनि निर्दोष सावित हुने गरी बोल्न नहुने बताएका छन्।

यता बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछिएपछि आक्रोशित बनेका नेता नेपालले आफ्नो पालामा कुनै पनि निजी व्यक्तिलाई जग्गा दिने काम नगरेको दाबी पनि गरेका छन्।

उनले भने,‘ प्रधानमन्त्रीले कुनै पनि श्रेस्ताको कागजमा नाम हेर्दैन। यो अनुचितको विरोध हो । यही मौकामा हिलो छ्याप्ने काम भएको छ।’

नेता नेपालले हालै मात्रै उनी निकट मानिएका योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हालेका बेला महत्वपूर्ण तथा बहुचर्चित लुम्बिनी विमानस्थलको ‘टर्मिनल’ मा एउटा पनि आकाशे पूल नराख्नु गैरजिम्मेवारी काम भएको बताएका छन्।

पार्टी एकता निकै सुस्त गतिमा अघि बढाएका नेता नेपालले आफू नेतृत्वमा भएको भए दुई सातामा एकताका सबै काम सकिदिने दाबी समेत गरेका छन् ।

उनीसँगको विस्तृत भिडियो अन्तर्वार्ता हाम्रो वेभसाइट र युटयुव च्यानलमा छिट्टै आउने छ।

साउन २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्