नियमित आउने विद्यार्थीका अभिभावकलाई २ लिटर खानेतेल

‘छोरीलाई नियमित विद्यालय पठाउनुस्, दुई लिटर तेल लैजानुस्’

नमूना छात्रा विद्यालयमा नियमित आउने विद्यार्थीका अभिभावकलाई खाने तेल वितरण गर्दै नेपालगञ्जका मेयर डा.धवलशमशेर राणा, उपमेयर उमा थापामगर र वडा नं. ४ का अध्यक्ष सफिक बेहना। तस्बिर- कुमार श्रेष्ठ/देश सञ्‍चार

नेपालगञ्ज-नेपालगञ्जको सल्यानीबागमा रहेको नमूना छात्रा विद्यालयमा नियमित आउने विद्यार्थीका अभिभावकलाई खाने तेल दिन थालिएको छ।

विद्यार्थीलाई नियमित गराउनका लागि विद्यालयले यस्तो उपाय निकालेको हो । मंगलबार ८५ जना विद्यार्थीका अभिभावकलाई २-२ लिटर खाने तेल दिइएको छ।

महिनामा ८५ प्रतिशत बढी हाजिर हुने विद्यार्थीले यो सुविधा पाउने छन्। नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर र वडा नं. ४ का अध्यक्ष सफिक बेहनाले नियमित आउने विद्यार्थीका अभिभावकलाई खाने तेल वितरण गरे।

नमूना छात्रा विद्यालय शैक्षिक सत्रदेखि सञ्चालनमा आएको हो।विद्यालयमा अहिले २ सय २३ जना विद्यार्थी रहेका छन् । सबैजसो मधेसी, मुस्लिम बालिका रहेका छन् । विद्यालय बाल विकास केन्द्रदेखि आठ कक्षासम्म सञ्चालनमा रहेको छ।

नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालय सञ्चालन गरेको हो। सो अवसरमा नेपालगञ्जका मेयर राणाले नेपालगञ्जमा छिट्टै छात्रा कलेज सञ्चालनमा ल्याउने उद्घोष गरे। नेपालगञ्जमा छात्रा कलेज सञ्चालन गर्ने मेयर राणाको चुनावी नारा पनि थियो।

साउन २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्