नेपालका जेल: गुन्द्रुक खाँदेजसरी कैदी राख्ने ठाउँ

काठमाडौ‌‌ : सुन्धारास्थित केन्द्रीय कारागारमा बुधबार ३ हजार ५० कैदीबन्दी छन्। देशकै सबैभन्दा ठुलो यो कारागारको क्षमता केवल १५ सय जनाको हो। तर हरेक दिन यस कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिन्छ।

यस अस्पतालमा ४ सय भन्दा बढी मानसिक रोगी र ८ सय भन्दा बढी विरामी रहेको केन्द्रीय कारागार प्रमुख ‘जेलर’ वेदनिधि तिवारी बताउछन्।

विज्ञापन

अस्पताल पनि रहेकाले देशभरका जेलमा विरामी भएका कैदीवन्दीलाई उपचार पनि हुने भएकाले उनिहरुलाई केन्द्रीय कारागारमा ल्याउने गरिएको छ। तर जेल भित्र यी विरामीलाई राख्ने छुट्टे ठाउँ छैन। अन्य कैदीवन्दीसँगै उनीहरुलाई राख्ने गरिएको कारागार प्रशासन बताउँछ।

‘अन्तर्राष्ट्रिय मापदन्डअनुसार कैदीहरुलाई वर्गिकरण गरेर बेग्ला बेग्लै राख्ने चलन छ। तर हाम्रोमा त्यो छैन किनभने त्यस अनुसारको साधन स्रोत हामीसँग छैन।  कैदीलाई व्यवस्थापन गर्न हामीले डबल डेकर खाटको  व्यवस्था गरेका छौँ’, जेलर अधिकारी भन्छन्।

यस्तै अवस्था छ ललितपुरको नख्खु कारागारको पनि। यो कारागारमा दैनिक १३ सय भन्दा बढी कैदीबन्दी हुन्छन्। यो कारागारको क्षमता ४ सय जति भएपनि करिब तीन गुणा बढी संख्यामा कैदीबन्दी राखिने गरिएको छ।  यीमध्ये करिब ५ सय जना मानसिक रोगी रहेको कारागार प्रशासन बताउँछ। यो कारागारमा मनोचिकित्सक अस्पताल खोलिएपनि सन्चालनमा आइसकेको छैन।

नख्खु कारागार प्रमुख वेदप्रसाद अर्याल सबै कैदीबन्दीलाई मिसाएर राख्ने गरिएको बताउँछन्। ‘मानसिक बिरामी र अन्य विरामीलाई छुट्टै राख्न हाम्रो साधन स्रोत छैन। भएका कैदीबन्दीलाई कसरी मिलाएर राख्ने भन्ने समस्या हुन्छ’, जेलर अधिकारी भन्छन्।

काठमाडौंमै रहेको अर्को कारागार ‘डिल्लीबजार कारागार’मा पनि क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ। कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार नेपालका ७२ जिल्लामा रहेका कारागारमा क्षमताभन्दा कम्तीमा २ गुणा बढी कैदीबन्दी छन्।  भक्तपुर, बारा, धनुषा, पश्चिम रुकुम र नवलपुरमा कारागार छैनन्। १६ जिल्लामा मात्र महिला कैदीबन्दी कारागार छन्।

हरेक वर्ष कैदीबन्दीको संख्या बढ्दो छ। आर्थिक वर्ष ०७४/७५ को असार मसान्तमा देशभर २० हजार ७ सय ५ जना कैदीबन्दी थिए। गत जेठसम्मको तथ्यांकलाई हेर्ने हो भने नेपालभर २३ हजार ४ सय ३ जना कैदीबन्दी रहेका छन्।

यो तथ्यांकलाई हेर्ने हो भने २० हजार ८ सय ६० पुरुष, एक हजार चार सय ४८ महिला र एक हजार ९५ विदेशी कैदीबन्दी नेपालका जेलमा रहेका छन्। यीमध्ये सुधार गृहमा २ सय ५४ पुरुष र चार महिला कैदीबन्दी छन्।

कैदीबन्दीमा आश्रीत ८१ जना पनि जेलमै छन्। अघिल्लो आर्थिक वर्षको समाप्तीमा नेपालका जेलमा १८ हजार तीन सय २८ पुरुष, एक हजार दुई सय ९० महिला र एक हजार ८७ जना विदेशी कैदीबन्दी थिए। त्यतिबेला आश्रितको संख्या ६० थियो।

सरकारले कारागारलाई सुधार गृह भन्न थालेपनि यो केवल नामाकरणमा मात्र सिमित भएको छ। नेपालका कारागारभित्रका न्युनतम मानव अधिकारका विषयलाई लिएर पटकपटक प्रश्न उठ्ने गरेको भएपनि राज्य यसप्रति उदासिन रहँदै आएको छ। राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारी नेपालका कारागारमा कैदीबन्दीको अवस्था नाजुक भएको बताउँछिन्।

‘ कानुनत् मानसिक विरामीलाई अन्यसँगै राख्नु हुन्न भनिन्छ। तर नेपालमा यसलाई फलो गरेको पाइन्न। भन्न त हामी कारागारलाई सुधार गृह भन्छौँ तर नेपालका कारागारले सुधार गर्ने हैन की यातना दिने गर्दछ। कैदीबन्दीहरु भित्रको वातावरणका कारण ट्रमाटाइज्ड हुन्छन्। हाम्रा पटकपटकका अनुगमनले यही देखाएका छन्।  राज्य यसप्रति संवेदनशील हुनैपर्छ’, अन्सारी भन्छिन्।

कारागार व्यवस्थापन विभागका सुचना अधिकारी बासुदेव घिमिरे भने कारागारको अवस्था दिनदिनै सुधार हुँदै गएको दावी गर्छन्। ‘ कारागार भनेको यातना दिने ठाउँ हो भन्ने विषयभन्दा पक्कैपनि हामी माथी उठिसकेका छौँ। जति कारागार जुन रुपमा हुनु्पर्ने हो त्यो अवस्थामा चाहीँ छैन। त्यसका लागि हामी पुर्वधार निर्माण र विस्तारलगायतका कामहरु गरिरहेका छौँ’, घिमिरे भन्छन्।

उनका अनुसार अहिले नुवाकोटमा १५ सय अट्ने कारागार निर्माण भइरहेको छ। भविस्यमा यस कारागारमा पूर्वधार थपेर ५ हजारसम्म पुर्‍याउन सकिने उनि बताउछन्। यसैगरि दाङ, बाँके, सर्लाहीलगायत जिल्लामा कारागार थप्ने काम भइरहेको विभागले जनाएको छ। केही कारागारको क्षमतावृद्धी र स्तरोन्नती पनि भइरहेको घिमिरे बताउँछन्।

 

साउन २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्