बहुविवाह गर्ने जोडी पक्राउ

सांकेतिक तस्बिर

भोजपुर– जिल्ला प्रहरी कार्यालय भोजपुरले बहुविवाह गर्ने दुई जोडीलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।

प्रहरीले अरुण गाउँपालिका–४ चरम्बीका २६ वर्षीय टङ्क विक र कान्छी श्रीमती बनेर आउने १९ वर्षीय वसन्ती विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ।

उनीहरुलाई टङ्ककी जेठी श्रीमती अमृता विकको जाहेरीपछि झापाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै प्रहरीले बहुविवाह गर्ने रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङ फाक्लेका ३३ वर्षीय खगेन्द्र विक र कान्छी श्रीमती २६ वर्षीया हिमा राईलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई जेठी श्रीमती मीना बराइली रसाइलीको जाहेरीका आधारमा घरबाटै पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ। दुवै जोडीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

साउन २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्