तालबाराही गुठीको जग्गा भाडामा दिने प्रस्तावको बिरोध

पोखरा – गुठी संस्थानले तालवाराही समिधा गुठीको ५५ रोपनी जग्गा ३९ वर्षसम्म भाडामा दिने कुरा मान्य नहुने सरोकारवालाहरुले जनाएका छन् । गुठीको जग्गाको आय मन्दिरलाई नदिइ जग्गा हडप्न अनेक चलखेल भएको भन्दै तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिले जग्गा भाडामा दिने संस्थानको प्रस्तावप्रति बिरोध गरेको हो ।
पोखरा–१८, खहरेडाँडा सिम्पानीस्थित झण्डै ७१ रोपनी जग्गामध्ये ५५ रोपनी जग्गा भाडामा दिने भन्दै गुठी संस्थानले असार १० गते प्रस्ताव आह्वान गरिसकेको छ ।
‘गुठी माथिको हस्तक्षेप हाम्रो परम्परा, संस्कार र संस्कृतिमाथिको हस्तक्षेप हो’, समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘असक्त असहाय, सन्त महन्त, योगी सन्यासीहरुलाई मानवीय सेवा प्रदान गर्ने उद्देश्यले सहश्रधाम आश्रम निर्माण गर्नेबारे संस्थानसँग सहमति भएको तर त्यसबारे कुनै निर्णय भएको छैन ।’
तालबाराही मन्दिर पुनर्निर्माण गर्नुपर्ने अवस्थामा गुठी संस्थानले एक रुपैयाँ सहयोग नगरेको तर जग्गा हडप्ने उद्देश्यले चलखेल सुरु गरेको समिति अध्यक्ष हिकमतबहादुर कुँवरले बताए ।
मन्दिर गुठी व्यवस्थापन समिति र सहश्रधाम आश्रम सञ्चालन समितिको साउन २२ गते बसेको बैठकले जग्गा भाडामा दिने संस्थानको कदममा विरोध जनाउने निर्णय गरेको छ । उक्त जग्गामा बोटानिकल गार्डेन बनाई व्यवस्थित गर्न सकिने समितिको तर्क छ । बिरोध स्वरुप वडा भेला, आम भेला आयोजना गरेर विरोधका कार्यक्रम जारी राख्ने समितिले निर्णय गरेको छ ।