सम्बन्ध कटौतीको निर्णयमा पुनर्विचार गर्न पाकिस्तानसँग भारतको आग्रह

भारतीय विदेशमन्त्री एस जयशंकर।

एजेन्सी– भारत सरकारले पाकिस्तानसँग नयाँ दिल्लीसँगको कूटनीतिक सम्बन्ध सीमित गर्ने र व्यापारिक कारोबार बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ।

भारतले जम्मु–कश्मिरलाई विशेष राज्यको मान्यता दिएको संविधानको धारा–३७० खारेज गरेपछि पाकिस्तानले बुधबार एक उच्चस्तरीय बैठक गर्दै भारतसँगको कूटनीतिक सम्बन्ध सीमित गर्ने र द्विपक्षीय व्यापारिक सम्बन्ध नराख्ने घोषणा गरेको थियो।

बिहीबार यस विषयमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘पाकिस्तानले हिजो लिएको निर्णयप्रति भारतलाई खेद छ। हामी पाकिस्तानसँग ती निर्णयमाथि पुनर्विचार गर्न अपिल गर्दछौँ ताकी कुटनीतिक सम्पर्कलाई सामान्य बनाउन सकियोस्।’

भारतले संविधानको धारा ३७० माथिकाे निर्णय जम्मु–कश्मिरकाे विकासको उद्देश्यले लिइएको भन्दै यसलाई नकारात्मक रुममा लिन नहुने बताएकाे छ।

भारतको विदेश मन्त्रालयले भनेको छ, ‘भारतीय संसद र सरकारको निर्णय जम्मु–कश्मिरमा विकासको अवसरलाई बढाउने प्रतिवद्धताका साथ लिइएको हो, जसलाई पहिले एक अस्थायी संवैधानिक प्रावधानले रोकेको थियो।’

भारत सरकारले आफ्नो यस निर्णयबाट लैंगिक र आर्थिक–सामिजिक विभेदको अन्त्य हुने र आर्थिक गतिविधीका साथै मानिसहरुको रहनसहनको स्तरमा पनि बृद्धि हुने दावी गरेको छ।

भारत सरकारले भनेको छ, ‘विकासको यस्तो प्रयासलाई पाकिस्तानले नकारात्मक रुपमा लिइरहेको छ।’

भारतले धारा ३७० को सम्बन्धमा लिइएको निर्णय भारतको आन्तरिक मामिला भएको र यो भारतको संविधानको सम्प्रभूताको विषय भएको भन्दै अगाडि भनेको छ, ‘डर फैलाएर यसमा हस्तक्षेप गर्ने कोशिस सफल हुनेछैन।’

प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बुधबार बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतसँगको द्विपक्षीय व्यापारिक सम्बन्धलाई सिमित गर्ने घोषणा गरेको थियो। साथै  बैठकले यस मामिलालाई संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा उठाउने निर्णय गरेको थियो।

यस उच्च स्तरिय बैठकमा प्रधानमन्त्री इमरान खानका  साथै विदेश मन्त्री, गृह मन्त्रीका साथै सेना र अनुसन्धान एजेन्सीका अधिकारीहरु पनि उपस्थित थिए।

पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘बैठकमा कश्मिरको स्वायत्ततामाथि भारत सरकारका तर्फबाट एकतर्फी  र गैरकानुनी रुपमा गरिएको निर्णयपछि उत्पन्न परिस्थितिमाथि छलफल भयो।’

एआरवाई टेलिभिजनमाफर्त पाकिस्तानका विदेशमन्त्री एसएम कुरैशीले  दिल्लीस्थित पाकिस्तानी दुतावासबाट आफ्ना राजदूतलाई छिट्टै फिर्ता बलाइने र इस्लामावादबाट भारतीय राजदूतलाई फिर्ता पठाउने बताएका छन्।

बुधबार नै पाकिस्तानका दुबै सदनको संयुक्त बैठकमा धारा ३७० खारेज गर्ने भारतको निर्णयको निन्दा गरिएको थियो।

यसैबीच पाकिस्तानले आफ्नो एउटा हवाईमार्ग समेत बन्द गरिदिएकाे छ। पाकिस्तानको यो निर्णयसँगै भारतीय विमानहरुले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्ने भएको छ।

–बिबीसी हिन्दीबाट

साउन २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्