सञ्चालनकाे अनुमति नपाउँदा विषादी परीक्षण प्रयोगशालाले काम पाएन

मोरङ– फलफूल तथा तरकारीको विषादी मापनका लागि विराटनगर भन्सार कार्यालयले मान्यता नदिँदा विराटनगरमा रहेकाे विषादी परिक्षण प्रयोगशाला पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन।

सरकारले तेश्रो मुलुकबाट आयात हुने फलफूल तथा तरकारीको विषादी मापनपछि मात्र आयात गर्न सकिने व्यवस्था गरेसँगै विराटनगर भन्सार कार्यालयबाट भित्रिने तरकारीको जाँच झापाको विर्तामोडमा हुँदै आएको छ।

यसअघि, असार २३ गते २५ लाख रुपैयाँको लागतमा प्रदेश एकको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विषादी परिक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको थियो। तर सो प्रयोगशालाले अझै पनि विराटनगर भन्सार कार्यालयबाट भित्रिने फलफूल तथा तरकारीको विषादी मापन गर्ने अवसर पाएको छैन।

मन्त्रालयका सचिव हस्तबहादुर विष्टले भने, ‘भन्सार कार्यालय विराटनगरले विषादी परिक्षणका लागि अनुमति नदिँदा हालकाे  लागि काम रोकिएको छ। तथापी हामीहरुले सुनसरी भन्सार कार्यालयबाट भित्रने गरेका तरकारी र महानगर बजार क्षेत्रको तरकारीको जाँच गरिरहेका छाैँ’

प्रदेश संरचनाका रुपमा विषादी परिक्षण प्रयोगशाला रहेकोले संघीय सरकारबाट अनुमति नहुन्जेल काम गर्न नसकिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विषादी जाँचको अनुमतिका लागि केन्द्रीय सरकार समक्ष साउन ६ गते पत्राचार गरिएको थियाे।

विराटनगरमा रहेको विषादी परिक्षण प्रयोगशालाले सुनसरीबाट अधिकतम रुपमा भित्रिएको आलु र प्याजको परिक्षण गरिरहेको छ। बाली संरक्षणका अधिकृत मुकेश यादवका अनुसार भारतबाट भित्रिएको प्याजमा विषादीको मात्रा नदेखिएको बताए। उनले भने, ‘प्याजमा केही देखिएको छैन। तथापी आलुमा भने केही विषादी देखिएको छ। जसलाई केही दिन राखेर खान सकिन्छ।’

जाँचका क्रममा हाल आलुमा ३४ प्रतिशत इनिवेशन भेटिएको छ। अधिकृत यादवका अनुसार ३५ प्रतिशतभन्दा कम इनिवेसनमा भएका खानेकुरा खानयोग्य हुन्छ। सो भन्दा माथि ४५ प्रतिशत इनिवेसन भए केहीदिन राखेर पुनः परीक्षण गराएरमात्र खान योग्य हुन्छ। त्यसैगरि, ४५ प्रतिशत भन्दा बढी इनिवेसन भए ती फलफूल तथा तरकारी वा खाद्यवस्तु नष्ट गर्नुपर्ने हुन्छ।

अर्कोतर्फ भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौडेलले पछिल्लोसमय भारतबाट आयात हुने फलफूल तथा तरकारीको आँकडा न्यून रहेको छ। गत आर्थिक वर्षमा भारतबाट ३९ करोड ५५ लाख ५३ हजार मूल्य बराबरको आलु, प्याज, खोर्सानी, सुकेको लसुन, विभिन्न प्रकारका हरियो तरकारी, केराउ, बोडी, चना, दाल कागती आदि आयात भएको थियो।

सो क्रममा ११ लाख ८८ हजार किलोग्राम दाल आयात भएको थियो। त्यस्तै फलफूल पनि ३८ करोड ९ लाख ६५ हजार मुल्य बराबरको आयात भएको थियो। फलफूल र तरकारी आयातबाट राज्यलाई १० करोड ७९ लाख २० हजार राजस्व संकलन भएको थियो।

साउन २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्