मान्छेले शायद माया मारे, तर उनीहरुले मान्छेको माया गर्न या साथ छोडेका छैनन्। आफ्नो स्वार्थपूर्तिका लागि मानिसले उनीहरुको बास मास्दै गए। र, पनि विकल्पहरु खोज्दै उनीहरुले मान्छेसँगको सामिप्य या मित्रता जोगाइराखेका छन्। उनीहरु अर्थात भँगेरा।

भँगेरा प्रजातिका अधिकांश चराहरु मानवबस्ती वरपर नै बस्छन्। उनीहरु जंगलमा विरलै पाइन्छन्। मान्छेकै वरपर बस्न रुचाउने भँगेराहरु खतराको सूचीमा त छैनन् तर उनीहरुको संख्या घट्दै गएको छ। बासस्थानको कमी तथा मानवीय आवश्यकता पूर्तिका नाममा उनीहरुको उपयुक्त स्थान मासिँदा यो समस्या उत्पन्न भएको हो।

प्राणी जगतको विकास क्रमदेखि नै अस्तित्वमा रहेका भँगेराहरु नेपालमा पाइने चराको सूचीमा अग्रस्थानमा पर्छन्। अचेल भँगेराहरु कम हुँदै गएका छन्। अझ शहर बजारमा त उनीहरुका लागि बास बस्ने ठाउँ नै निक कम हुँदै गएका छन्।

बाँसका गाँज, रुखहरु तथा पुराना प्वालयुक्त घरहरु मासिँदै गएसँगै उनीहरुको बास पनि हराएको छ। तर बास हरायो भनेर उनीहरु मान्छेलाई छोडेर जंगल पसेका छैनन् या भनौँ मानिसको साथ भँगेराहरुले छोडेका छैनन्।

यसको गतिलो तर मार्मिक उदहारण भक्तपुरको कौशलटार चौकमा देखिन्छ। रुख तथा घरका प्वालमा बास बस्ने भँगेराहरुले त्यस्तो ठाउँ नपाएपछि जोखिम लिएरै व्यस्त सडक छेउको बिजुली तथा टेलिफोन–इन्टरनेटका तारहरुको गुजुल्टो परेको पोलमा रात बिताउने ठाउँ या अस्थायी गुँड बनाएका छन्।

टेलिफोन तथा इनटरनेटका काला तारहरुको गुजुल्टोमा साँझ पर्दै गर्दा आफ्नो बास मिलाउँदै गएका भँगेराहरुको हुल देखिन्छ। पोलको तल मोटरसाइकल तथा गाडीहरु पार्क गरिएका छन्।

मूलबाटोमा गाडी चर्को स्वरमा हर्न बजाउँदै गुडेका छन्। मानिसहरु आफ्नो सुरमा छन्। हल्लाखल्ला छ, तर भँगेराको ठूलो हुल कालो तारका गुजुल्टाहरुमा चिरबिर गर्दै बास बस्ने हतारोमा छन्। यो प्रायः हरेक दिनको दृश्य हो त्यहाँ।

चराविद डा. हेमसागर बरालले यो भँगेराको बाध्यता रहेको बताए। ‘भरसक भँगेराहरु कसैले बाधा नपुर्‍याउने ठाउँमा बास बस्छन् । भिडभाड र प्रदूषण युक्त ठाउँमा बस्नु उनीहरुको बाध्यता हो।’

मान्छेले बासस्थान मासेर लखेटेपछि बाध्य भएर उनीहरुले रात बिताउन सडक छेउको पोल र त्यसमा रहेको तारको गुजुल्टो प्रयोग गरेको चराविद डा. बरालको बुझाइ छ।

डा. बरालले भने, ‘उनीहरुलाई मान्छेबाट समस्या हुँदैन । मान्छेकै नजिक बस्न रुचाउँछन् । तर बासस्थानमा बाधा पुग्नु हुँदैन । मान्छेले चलाइदियो भने उनीहरुले सुत्न पाउँदैनन्।’

यसरी सडक छेउको पोलमा बस्न बाध्य भँगेरालाई बास्तवमा ‘सुकुम्बासी’ भन्न सकिने बरालले बताए। ‘भँगेरा वनमा पाइँदैन। मान्छेले उनीहरुको स्वभाविक घर हडपे, त्यसपछि बाध्य भएर सुकुम्बासी बनेका छन् उनीहरु,’ बरालले भने, ‘त्यहाँ पनि तार हल्लाउने या उनीहरुलाई दुःख दिन थालियो भने उनीहरु पूर्णरुपमा बिस्थापित हुने छन्।’ सडक छेउको बास भँगेराका लागि स्थायी भने हुन नसक्ने उनले बताएका छन्।


कौशलटारमा सडक छेउमै बास बस्न लागेका भँगेराहरु।

भँगेरा सानो प्रजातिको चरा हो। यो विशेष गरी नेपालसहित एसिया र युरोपमा पाइन्छ। अफ्रिकाका क्षेत्रमा पनि भँगेरा पाइने गरेको छ। अस्ट्रेलिया र अमेरिकासहितका उत्तर अमेरिकी देशमा भने पछि लगिएको हो।

नेपालमा विशेष गरी रुखमा बस्ने ‘ट्री स्प्यारो’ र घरमा बस्ने ‘हाउस स्प्यारो’ पाइने गरेका छन् । तराईदेखि मध्य पहाडसम्म भँगेरा प्रसस्त पाइन्छ । ‘ट्री स्प्यारो’ मध्य पहाड भन्दा माथि पनि पाइने डा. बरालले बताए।

चैत–वैशाखदेखि साउन–भदौसम्म यिनीहरुले विशेष गरी बच्चा कोरल्ने गर्छन्। भँगेराको आहर विशेष गरी मानिसले फालेका अन्न नै रहेको उनी बताउँछन्। कनिका या अन्न खाने गर्छ। तर उसले आफ्ना बचेरालाई किराफट्याङ्ग्रा विशेष गरी रौँ नउम्रिएको झुसिलकिरा खुवाउँछ। एकपटकमा चारवटा फुल पार्ने भँगेराले झण्डै तीन हप्तामा बच्चा कोरल्छ।

हेरौँ, कौशलटारको त्यो निवासमा उनीहरुको प्रजननले निरन्तरता पाउला कि नपाउला।