एउटै विमानस्थल बनाउन तीनपटक शिलन्यास !

तीनै पटकका विमानस्थलको शिलन्यासका तस्वीरहरु। शुरुमा खाडलमा। त्यसपछि रुख काटेर। अहिले डोजर चलाएर र रिवन काटेर।

बुटवल-२०७३ असार १३ गते तत्कालीन उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीको अर्घा भगवती विमानस्थलको शिलन्यास गरेका थिए।
उनले त्यतिबेला भनेका थिए–एकवर्ष भित्र नै आधारभुत रुपमा हवाईजहाज उड्नसक्ने गरी विमानस्थल तयार हुन्छ।’

उनले अर्घाभगवतीमा बोलेको ३ वर्ष भयो। विमानस्थल त तयार भएन। अर्घामा चल्ने तीब्र बेगको हावामा उडेर गयो मन्त्रीको कुरा। २०७४ मा चुनाब भयो। चुनाबमा पनि विमानस्थल बनाउने कुरा घोषणापत्रमै थियो। रायमाझीले चुनाब सकिएको ३ महिनापछि २०७४ चैत ११ मा विमानस्थल निर्माण शुरु भएको भन्दै सल्लाको रुख काटे।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रायमाझीले त्यतिबेला पनि भनेका थिए–विमानस्थल १ वर्षमा जहाज उड्ने गरी तयार हुन्छ। २ वर्ष बित्यो। विमानस्थल बन्ने भनिएको चौरमा फेरि एउटा कार्यक्रम आयोजना भयो। ब्यानरमा लेखिएको थियो–अर्घाभगवती विमानस्थल आयोजनाको निर्माण कार्य शुभारम्भ।

यसरी अर्घाभगवती विमानस्थलको तेश्रो पटक २०७६ साउन २२ गते शिलन्यास भयो रिबन काटेर र डोजर चलाएर–उनै नेता टोपबहादुर रायमाझीबाट।
साउन २२ देखि ५ करोड ६० लाखको लागतमा विमानस्थलको रनवेको काम सुरु गरिएको जानकारी दिइएको छ। पुष्पा जेभी कन्स्ट्रक्सनले विमानस्थल निर्माणको जिम्मा पाएको छ। विमानस्थल २०७७ साल कात्तिक ५ गतेसम्म सम्पन्न गरिसक्नु पर्ने सम्झौता रहेको छ।

विमानस्थलको शिलन्यास गर्दै रायमाझीले विमानस्थल पर्यटन विकासको महत्वपूर्ण आधार रहेको बताएका थिए। पर्यटनको विकासका लागि हवाई सेवा प्रमुख रहेको भन्दै उनले अर्घा भगवती विमानस्थल समयमै सम्पन्न गर्ने बताए।

विमानस्थल निर्माणले अर्घाखाचीका जनताहरुले जिवनमा सोच्दै नसोचेको काम भएको भन्दै उनले विकानस्थल निर्माण कार्यको सुरुवात सम्पूर्ण अर्घाखाँचीबासीहरु सवैको गर्वको विषय भएको बताए।

‘अर्घा भगवती विमानस्थल पहिलो चरण निर्माणको जिम्मा पाएको निर्माण कम्पनीलाई आग्रह गर्न चाहन्छु रायमाझीले भने–तपाईले कुनै बहानामा काम रोक्ने अधिकार छैन, रकमको समस्या भए मलाई फोन गर्नुहोला।’

अर्घा भगवती विमानस्थलको पहिलो चरणमा ५ सय मिटर रनवे निमार्ण गर्ने जिम्मा पाएको निर्माण कम्पनी लुम्बिनी–अर्घाखाँची–पुष्पा जेभीले जानकारी दिएको छ।

जेभीका प्रमुख नारायण बन्जाडेले २०७७ साल कात्तिकमा आफुले ५ करोड ६९ लाख ६२ हजार ३ सय ३६ रुपैया बराबरको काम गर्ने बताए। ‘५ सय मिटर लम्बाई र ३ सय ५० मिटरको चौडाईको रनवे हाम्रो कम्पनीले अहिले निर्माण गर्ने बन्जाडेले भने ।

साउन २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्