मध्यरातमा नेपालगञ्‍जका आधा दर्जन फर्निचर पसलमा भीषण आगलागी, निभाउने प्रयास जारी

नेपालगञ्‍जमा रहेको वीपीचोकको गुरुद्वारा पूर्वका आधा दर्जन फर्निचर पसलमा लागेको आगो निभाउँदै प्रहरी र स्थानीय। तस्बिर-कुमार श्रेष्ठ/देश सञ्‍चार

नेपालगञ्ज – नेपालगञ्जमा भीषण आगलागी भएको छ।

वीपीचोकको गुरुद्वारा पूर्वका आधा दर्जन फर्निचर पसलमा आगलागी भएको हो।

राति सवा ११ बजे आगो लागेको थियो। नेपालगञ्जमा रहेका तीन वटा दमकल र ठूलो संख्याका प्रहरीले आगो निभाउने प्रयास गरेका छन्।

बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले तीन वटा आगो निभाउन नसकेपछि एयरपोर्टबाट अर्को दमकल मगाएको जानकारी दिए। उनका अनुसार जिल्ला प्रहरी, वडा, दंगा गणबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

लस्करै रहेका आधा दर्जन फर्निचर पसल खरानी भइसकेको छ। आगो फैलिरहेको र त्यही नजिकै ग्याँस पसल रहेकाले जोखिम बढेको छ।

एसपी वलीले नजिकै रहेको ग्याँस पसललाई सुरक्षित गर्न लागि परेको बताए।

भीषण आगलागी भएपछि बत्ती काटिएको छ। विजुलीको तार सर्ट भएर आगो लागेको आकलन गरिएको छ।

मध्यरातमा भीषण आगलागी हुँदा आगो निभाउन र हेर्न आउनेको ठूलो भीड लागेको थियो। आगलागीबाट मानवीय क्षति भएको छैन।

साउन २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू