‘नमस्कार बुवा , सन्चै हुनुहुन्छ ?’ एउटा खाइलाग्दो र हरिलो भरिलो ज्यान भएको दरिलो मान्छेले दुवै हात जोडर बुढाको अगाडि उभिँदै ठुलो स्वरमा भन्यो ।
‘ए, आफ्नै माननीय पो आएछौ । अनि कति कामले आयौ त हाम्रातिर?’ अर्को मुढा तान्दै हँसिलो अनुहार पारेर सोधे बुढाले ।

‘आफ्नो गाउँठाउँमा आउनको लागि के काम हुन पर्यो र बुवा । तैपनि यी भाइहरुले एउटा खानेपानीको शिलान्यास गरिदिन पर्यो भनेर हैरान पारे त्यसैको लागि जाँदा बुवासित पनि भेटिहालौँ भनेर आएको’, मायालु पाराले बुढाका दुवैै हातमा कसिलो तरिकाले समाउँदै र आँगन भरि जम्मा भएका गाउँलेहरु देखेर रमाउँदै माननीयले भने ।

‘अझै दुईचार चोटि भोट हालेर मात्रै मर्ने विचार मनमा पालेर बसेकोमा तिमीहरुले निकै राम्रा राम्रा काम थालेर खुसी लागेको छ । गएको चुनाव पछि त आजै पो भेट भयो त । लौ यो खानेपानीको शिलान्यासको कारणले भएपनि भेट भयो । बाँचे देखि भेट हुने रहेछ । हैन त बावु ?’ हाँस्दै भने बुढाले ।

‘के गर्नु बुवा ? कामको चाप अति धेरै हुन्छ । यहाँ आउन, तपाइँहरु सित भेट्न त मन लाग्छ नि । तर फुर्सदै नभएर आउन नसकेको हो । तपाइँहरुको आशीर्वादले अहिलेसम्म राम्रो पनि भएको छ,’ बुढालाइ हल्का अँकमाल गर्दै माननीयले भने ।

‘ठिक छ बावु, तिम्रो विषयमा हामिले राम्रै खबर सुन्न पाएका छौँ । माननीय भएको र संसदमा गएको थोरै अवधिमै तिमीले राजधानीको निकै महँगा महँगा ठाउहरुमा भव्य भब्व्य घरहरु बनायौ रे । निकै महँगो र महत्वपूर्ण ठाउँहरुमा राम्रा राम्रा घडेरीहरु पनि जोडिसक्यौ रे । परिवारका हरेक सदस्यहरुका लागि छुट्टा छुट्टै जापानिज गाडिहरुकै व्यवस्था गरेका छौ रे । थोरै समयमा राम्रो कमाइ गर्ने माननीय मध्ये तिमी पनि रहेकोे सुन्न पाउँदा हाम्रो भोट ज्यादै सहि मान्छेलाइ परेको देखेर हामी सबैले ज्यादै गर्ब गरेको तिमीलाइ पनि थाहा होला । गाउँमा खानेपानीको शिलान्यासको लागि आउँदा हेलिकप्टरमा आयौ रे भन्ने खबरले त हामि औधि खुसी छौँ’, बुढाले भने ।

‘जनताको काममा आउँदा जाँदा बस्नको लागि बास मात्रै हो’, माननीयले भने ।

‘अहिले तिमीले शिलान्यास गर्ने पानी गाउँलेले कहिले सम्म खान पाउँछन् नि बावु?’ बुढाले सोधे । ‘छिटै हुन्छ बुवा । धेरै समय लाग्दैन’, माननीयले भने ।

‘यो त छिटै आउला । झण्डै तिन दशक अगाडि शिलान्यास भएको मेलम्चीको पानी खाने र अघाउन्जेल पानी खाएर जाने इच्छा कुन पुस्तामा पूरा होला ? मेलम्ची आउँछ र सबैले मनग्गे पानी पाउँछ भनेर सुनेको म तन्नेरी हुँदैमा हो । म मास्तिर जानुभन्दा पहिले मेलम्चीको पानी आउला त बावु ?’ बुढाले सोधे ।

‘आउँछ बुवा । सरकार, कर्मचारी, प्राबिधिक, ठेकेदार, कामदार, स्थानीय बासिन्दा र अरु सरोकारवाला सबै लागेका लाग्यै छन्’, माननीयले भने ।

‘त्यतिन्जेल सम्मलाइ सबैजना मिलेर जनताको लागि वैकल्पिक व्यवस्था गरेर पानी उपलब्ध गराएको सुन्दा खुसी लाग्यो’, बुढाले हाँस्दै भने ।

कस्तो वैकल्पिक व्यवस्था बुवा ?’ माननीयले सोधे ।

‘हाकिमहरुले नै ट्याँकर,जार,बोतल आदिबाट पानी पुर्याउने व्यवसाय गरेर पानी खान नपाएका जनतालाइ ठूलो राहत दिएका छन् रे । अहिलेसम्म आधा दर्जन भन्दा बढी प्रधानमन्त्री भए, झण्डै तीन दर्जन मन्त्री भए, त्यत्तिकै संख्यामा राज्यमन्त्री र सहायकमन्त्रीहरु पनि भए होलान्, कर्मचारीहरुको कुरै गर्न परेन, कार्यकारी प्रमुख, ठेकेदार, सामान्य मजदुर यहि काममा लागेको देख्दै र सुन्दै आएको यतिका वर्ष हुँदा पनि कहिल्यै नसकिने कस्तो काम होला बावु ?’ बुढाले सोधे ।

‘यहाँ काम गर्न पनि गाह्रो छ बुवा । पहिलेकाले नगरेको कामको दोष पनि अहिलेकै सरकार माथि थोपर्ने र हाम्रो भविष्य कोपर्ने प्रयास भएको मात्रै हो । अब छिटै सकिएला’, माननीयले भने ।

‘मन्त्रिहरुकै पानी उद्योग छन् रे । मेलम्चीको निर्माणको जिम्मा पाएका हाकिमहरुले आप्mना श्रीमतीहरुका नाममा ट्याँकर राखेर जनतालाइ मजाले सेवा पुर्याइ रहेका छन् रे । जार बोतल आदिको पानीका कम्पनीहरु पनि यिनिहरुकै छन् रे । व्यवसायमा बाधा पर्ला भनेर निहुँ झिक्दै आयोजनाको काम हुन दिइन्न रे भन्छन्’, बुढाले सोधे ।

‘त्यस्तो त के होला र बुवा । भन्नेले त के के भन्छन के के । वास्तविक कुरा नबुझिकनै बर्बराउने र सहि कुरा बुझेपछि धर्मराउने धेरै देखिन्छन् बुवा’, माननीयले भने ।

‘तिमी त हाम्रो आफ्नो मान्छे भएर सुनेका कुरा तिमिलाइ भनेको मात्रै हो । मेलम्चीको कमिशन खाँदा खाँदा माथिल्लो तहका नेता र कर्मचारीहरुले त्यो भन्दा ठूला आप्mना आयोजनाहरु बनाइ सके रे भन्ने पनि हल्ला छ । अहिले ठेकेदार कम्पनी पनि कमिशनको माग थेग्न नसकेर भागेको हो रे पनि भन्छन् बावु’, बुढाले भने ।

‘हल्ला नै हो बुवा’, माननीयले भने ।

‘राजधानीका धारामा हावामात्रै आउँदापनि पानीको महसुलचाहिँ समयमै पुरै नबुझाए जरिवाना समेत तिर्नपर्ने । मेलम्चीको काम तिन दशकसम्म पनि पूरा नहुने । ठेकेदारहरु बेला बेलामा काम छोडेर भाग्ने, त्यससँग सम्बन्धित नेता र कर्मचारीहरु हेर्दाहेर्दै छोटो समयमै आर्थिक रुपमा जाग्ने र त्यहाँको पानी खाने आश गर्दागर्दै लगभग तिन पुस्ता स्वर्गबासतिर लाग्ने गरेको देख्दा त स्याल कराउनु र कुखुरा हराउनु एकैचोटी परेजस्तोमात्रै भएको हो त बावु ?’ माननीयको मुखमा हेर्दै बुढाले भने।

‘हो नि बुवा’, माननीयले भने ।

जनतालाइ मेलम्चीको पानी खुवाएर पुण्य कमाउने जिम्मेवारी पाएका पानी मन्त्रि र त्यहाँका ठूला कर्मचारीहरुले आफ्नै र आफन्तका पानी उद्योग,टयाँकर,जार र बोतलहरुबाट भएपनि पानी खुवाएर ठूलो पुण्य कमाएका हुनाले स्वर्गमा पनि यिनिहरुले ज्यादै सम्मानित र उचित स्थान पाउने निश्चित छ । तिमीले पनि यस्ता पुण्यका केहि कामहरु सुरु गरिसकेका छौ रे भन्ने सुनिन्छ । यसलाइ अलि बढाउँदै लैजान पर्छ है बावु’, बुढाले भने ।
‘बुवा पनि’, अलि लजाए जस्तो गरी माननीयले भने ।

‘अबपनि त्यसै गर्नपर्छ । मेलम्चीको सपना चाहिँ देखाइ राख्ने र त्यो बनाउने जिम्मा लिने सबैले पानीको व्यापार गरेर आर्थिक रुपमा अपार छलाड् नमारे के को मेलम्चीको धाक लगाएर हिँड्नु ? यो भन्दा पुण्यको काम अरु के गर्न सकिन्छ र ?’ बुढाले भने ।

‘ल बुवा, अहिलेलाइ बिदा पाउँ । पछि भेटौँला । बुवाको आशिर्बाद भएपछि हामी सबै ठाउँमा सफल भइहाल्छौँ । हस् त बुवा अहिले जान्छु’, दुवै हात जोड्दै नमस्कार गरेर उठ्दै माननीयले भने र कार्यकर्ताहरु सहित फटाफट लम्कि पनि हाले ।

‘ल बावु, यस्ता पुण्यका काम मेलम्चीमा मात्रै होइन सबै ठाउँमा गर्दै जानु । मेरो आशीवार्द छ’, माननीय गएको दिशातिर फर्केर बुढाले अलि ठूलो स्वरमा भने । माननीयले सुने कि सुनेनन् थाहा भएन ।

साउन २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्