आफूलाई लोप्साङ लामा भनी चिनाउने गर्ने युवकको धम्की

‘के मैले एउटा बुलेट खर्च गर्नैपर्न हो त?’

काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले स्वयम्भूको बिजेश्वरी हाउजिङनजिकै फायरिङ गर्दा गोली लागेका मिलन तामाङको राजधानीस्थित ट्रमा अस्पतालमा उपचार भइरहेको छ।

उनले विप्लव माओवादी समूहमा संलग्न रहेको भन्दै ठेकेदार र जनप्रतिनिधिहरुलाई धम्क्याउने र रकम माग्ने गरेको प्रहरीले जानकारी दिएको छ।

उनलाई घुँडामुनि तीन गोली लागेको छ।

उनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षलाई दुई करोड रुपैयाँ माग्दै नदिए छोरीलाई मार्ने धम्की दिँदै आएको प्रहरीले जानकारी दियो। उनले धम्क्याउने क्रममा आफूलाई सेन्ट्रल जेलमा रहेका अपराधी लोप्साङ लामा भनी चिनाउने गरेको पनि प्रहरीले जानकारी दियो। उनले रकम नदिए मारिदिने धम्की दिने गरेका थिए। उनले पीडितहरुलाई भन्ने गर्थे, ‘के मैले एउटा बुलेट खर्च गर्नैपर्ने हो त?’

उनले लिखु हाइड्रोपावर र रोड कन्स्ट्रक्सनका ठेकेदारसँग पनि रकम माग्ने गरेका थिए।

लोप्साङ भनेर आफूलाई चिनाउँदा मानिस थर्किन्छन् भनेर उनले थर्काउने गरेको प्रहरीको दाबी छ।

उनलाई राजधानीको स्वयम्भूस्थित विजेश्वरी हाउजिङ नजिकै प्रहरीले गोली हानेको हो। उनी रामेछापको लिखु गाउँपालिकाकै स्थानीय हुन्।

साउन २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू