प्रदेश–१ मा हालसम्म ३३ वटा विधेयक प्रमाणिकरण

मोरङ– प्रदेश–एकले प्रदेश सभा गठन भएदेखि हालसम्म विभिन्न ३३ वटा विधेयक प्रमाणिकरण गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा सात वटा विधेयक बढी प्रमाणिकरण भएको छ। अघिल्लो आर्थिक वर्षमा १३ विधेयक प्रमाणिकरण गरेका प्रदेश प्रमुख प्राडा. गोविन्द तुम्बाहाङले २०७५/७६ को असार मसान्तसम्ममा २० विधेयक सहित ३३ विधेयक प्रमाणिकरण गरिसकेका छन्।

प्रदेश प्रमुख तुम्बाहाङले प्रदेशको आर्थिक कार्यविधी २०७४ चैत्र २२ गते प्रमाणीकरण गरेका थिए। जुन विधेयक प्रदेश सभाको बैठकले २०७४ साल माघ २२ गतेको पहिलो अधिवेशनले पारित गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले जानकारी दिए।

त्यसैगरि, २०७४ माघ ७ गते पदवहालीपछि तुम्बाहाङले प्रदेश सभाबाट पारित भई आएका विधेयकहरू प्रमाणिकरण गरेका थिए। तुम्बाहाङले प्रमाणिकरण गरेको पछिल्लो विधेयक प्रदेश विनियोजन विधेयक–२०७६ हो।

२०७५/७६ मा प्रदेश प्रमुख तुम्बाहाङले प्रमाणिकरण गरेका विधेयकहरूमा प्रदेश रेडियो, एफएम र टेलिभिजन प्रशारण सम्बन्धमा बनेको विधेयक–२०७५, जिल्ला सभाको काम कर्तव्य र अधिकार सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, विपद् व्यवस्थापनका सम्बन्धमा गर्न बनेको विधेयक, प्रदेश–१ सामाजिक विकास संस्था विधेयक र प्रशासकीय कार्यविधी नियमित गर्ने सम्बन्धमा बनेको विधेयक रहेको छ।

त्यस्तै विपद व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जिल्ला सभा , जिल्ला सम्वन्य समितिका सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र प्रदेश विनियोजन विधेयक रहेका छन्।

साउन २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्