‘पठाओ’ ट्याक्सीले तोक्यो मनोमानी रुपमा चर्को भाडा र सेवाशुल्क

काठमाडौं- मोबाइल एपको माध्‍यमबाट दुईपाङ्ग्रे सवारी साधनबाट यात्रुलाई सेवा दिइरहेको ‘पठाओ’ले शुक्रबारदेखि आफ्नै भाडादरमा ट्याक्सी सेवा सुरू गरेको छ।

कम्पनीले शुक्रबार काठमाडौंमा यो सेवा तीन सय ट्याक्सीबाट सुरु गरेको पठाओका रिजनल डाइरेक्टर असीममान सिंह बस्न्यातले जानकारी दिए।

उनले भने, ‘अब हामी दुई पाङग्रे सवारी साधनबाट चार पाङग्रे सवारीको सेवा यात्रुलाई दिन सक्‍ने भएका छौँ ट्याक्सी मार्फत। केही सर्भिस चार्ज लिएर हामीले उक्त सेवा दिनेछौँ।’

उनका अनुसार चारपांग्रेमा पनि कार लाइट र कार प्लस गरी दुई किसिमको सेवा कम्पनीले उपलब्ध गराएको छ जसमा पठाओको कार बोलाएबापत नै यात्रुले सय रुपैयाँ तिर्नुपर्छ। उनले भने, ‘यो हामीले सर्भिस चार्ज लिएका हौँ। तर भाडादर भने नेपाल सरकारले तोकेकै किलोमिटर अनुसार लिएका छौँ।’

यद्यपि पठाओको कार लाइटको भाडादरभन्दा कार प्लसको भाडादर दोब्बर महँगो छ। यसबारे पठाओका रिजनल डाइरेक्टर बस्न्यातले भने, ‘ हामीले यात्रुलाई दिएको प्रिमियम सेवा हो। कार अनुसारको सर्भिस चार्ज लिएका हौँ, अरु केही होइन।’

उनले चाँडै काठमाडौं उपत्यकामा कार प्लसको प्रिमियम सेवा उपलब्ध गराउने बताए। उनले भने, ‘यात्रुको सेवाका लागि जाँदा मोबाइलबाट अनलाइन बस्नु पर्ने र इन्टरनेटको खर्च लाग्‍ने हुन्छ। त्‍यहाँसम्म पुग्नको लागि पेट्रोल पनि खर्च हुन्छ। त्‍यसकारण हामी यो खर्च यात्रुसँगै उठाउँछौँ।’

दुई पाङग्रे सवारी साधनमा पठाओले यात्रुलाई सुरुमा भने सेवामार्फत ३० रुपैयाँ लिँदै आएको उनको भनाइ छ। यात्रुले पठाओको सवारीसाधन बोलाउँदा पुग्‍नुपर्ने ठाउँको दूरीअनुसार मोबाइल एपमा नै सर्भिस चार्ज जोडेर कुल भाडा लिने गरेको देखाउँछ। तर सरकारले तोके अनुसारको भाडादर प्रति किलोमिटर ३९ रुपैयाँ मात्रै छ।

यता, प्रदेश ३ सरकारले निजी सवारीसाधनलाई भाडामा प्रयोग गर्न नपाइने गरी कानुन ल्याएर प्रदेश सवारी तथा यातायात व्यवस्था ऐनमा निजी सवारीलाई (गैर-व्यावसायिक सवारी) व्यावसायिक प्रयोजनमा चलाउन नपाउने गरी घुमाउरो भाषामा प्रतिबन्ध लगाउन खोजेको छ।

ऐनको दफा १३ को उपदफा १ मा ‘निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त सवारीलाई गैर-व्यावसायिक सवारी भनिनेछ’ भनी लेखिएको छ। त्यस्तै उपदफा २ मा गैर-व्यावसायिक सवारी व्यावसायिक रुपमा यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन भनी स्पष्ट पारिएको छ।

निजी सवारीलाई गैर-व्यावसायिक सवारीको रूपमा परिभाषित गरेको प्रदेश ऐनले यस्ता सवारीले निश्चित रुट, भाडा निर्धारण तथा यात्री बिमा गरेमा मात्र यात्रु बोक्न पाइने उल्लेख गरेको छ। तर पठाओले भने यात्रु बोक्‍ने न दुइपाङ्ग्रे सवारी साधनको बीमा गरेको छ न त शुक्रबारबाट सेवा सुरु गरेको चार पाङग्रे सवारीको बीमा गरेको छ। बरु उल्टै पठाओको कार सर्भिस चार्ज सय रुपैयाँ जोडेर यात्रुले तिरेको भाडाको २० प्रतिशत कम्पानीले लिने गरेको छ।

साउन २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्