बुटवल– बुटवलको मणिमुकुन्द सेन उद्यान (फुलबारी) मा चोरीको काठ फेला परेको छ। डिभिजन वन कार्यालयको स्वीकृति विना रुख काटेर चितुवाको खोरमा लुकाइएको अवस्थामा २८ थान टिकको काठ फेला परेको हो।

डिभिजन वन कार्यालय रुपन्देहीका सहायक वन अधिकृत रविन्द्र अधिकारीले २८ थान टिकको काठ अवैध भएको पुष्टि गरे। ‘कहाँबाट ल्याएर कसले राख्यो भन्ने पहिचान हुन सकेको छैन’, उनले भने, ‘यो काठ अवैध हो, हामी अनुसन्धानकै क्रममा छौँ।’

करीव ३ लाख रुपैयाँ बराबर पर्ने काठ मणिमुकुन्द सेन उद्यानका पदाधिकारी र बुटवल सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा चोरेर ल्याएर राखेको स्थानीयको दाबी छ।

त्यहाँ राखेर बेच्नका लागि तयारी गरेको उपभोक्ताको दाबी छ। तर बुटवल सामुदायिक वनकै क्षेत्रभित्र रहेको मणिमुकुन्द सेन उद्यानका अध्यक्ष खेम लुइँटेल काठ चोरीको विषयमा अनविज्ञता प्रकट गर्छन्।

‘चितुवाको खोरमा कसरी काठ पुग्यो मलाई थाहा भएन’, उनी भन्छन्, ‘मैले सबै कर्मचारीलाई बोलाएर सोधपुछ गरेँ, तर हाम्रोतर्फबाट त्यस्तो भएको छैन।’

बुटवल सामुदायिक वनका निवर्तमान अध्यक्ष माधव प्रधानले काठ चोरी गरेर बिक्री गरेको बताए।

साउन २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्