सामूहिक बलात्कारको घटना मिलापत्र गराउने सात जना पक्राउ

मोरङ– मोरङको रंगेलीबाट बलात्कारको घटनामा मिलापत्र गराउने १० जना मध्ये ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रंगेलीले शुक्रबार ७ जनालाई १६ वर्षिया एक किशोरीमाथि एकमहिना अघि भएको बलात्कारको घटनामा मिलापत्र गराएर घटना लुकाउने प्रयास गरेको आरोपमा पक्राउ गरेको हो।

प्रहरीका अनुसार रंगेली नगरपालिका–९ की एक सुस्त मनस्थितीकी किशोरीमाथि असार २० गते रोमन मगर, प्रिन्स अधिकारी र सुनील चौधरीले बलात्कार गरेका थिए। बलात्कारमा संलग्न रोमन र प्रिन्सलाई प्रहरीले साउन ३ गते नै पक्राउ गरेको भएपनि सुनिल फरार रहेका छन्।

सोही घटनालाई आर्थिक लेनदेनसहित मिलापत्र गराएर दबाउने प्रयास गरेका ७० वर्षीय निमलाल राजवंशी, ६५ वर्षीय रामबहादुर राजवंशी, ६० वर्षीय शेखर गौतम, ४० वर्षीय अभिनव बजगाई, ३७ वर्षीय चित्रसेन राजवंशी, ३५ वर्षीय सुवास राजवंशी र ३३ वर्षीय दिलिप मुर्मुलाई प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ परेका सातैजना विरुद्ध शुक्रबार प्रहरीले जबरजस्ती करणी मुद्दामै अनुसन्धान अघि बढाउन अदालतबाट चार दिनको म्याद थप गरेको कार्यालयका प्रहरी निरीक्षक गणेशप्रसाद दाहालले जानकारी दिए।

प्रहरी निरीक्षक दाहालका अनुसार घटनापछि पीडित बालिकालाई १ लाख ५० हजार रुपैयाँ पीडक पक्षबाट दिलाएर घटना टुंग्याउनका लागि असार २६ गते गाँउमै मिलापत्र गराइएको थियो।

गाँउमा राखिएको छलफलमा घटना सार्वजनिक नगर्ने शर्तमा पीडित पक्षलाई उपचार खर्च वापत सो रकम उधारोमा उपलब्ध गराइने बताइएको थियो।

त्यसैगरि घटना दबाउँदै लेनदेन र मिलापत्रका लागि दबाब दिएका अन्य तीन जना ५५ वर्षीय चेतबहादुर मगर, ३५ वर्षीय गणेशप्रसाद दाहाल र ३४ वर्षीय रेवतबहादुर काफ्ले भने फरार रहेको प्रहरीले जनाएको छ।

गाँउमा भएको छलफलका क्रममा पीडितलाई मिल्न दबाब दिएर गरिएको मिलापत्रको कागजमा १० जनाकै हस्ताक्षर छ।

त्यसैगरी, घटनामा संलग्न रोमन, प्रिन्स र सुनीलले समेत समान ५० हजार रुपैयाँ पीडित किशोरीलाई दिइने मिलापत्र कागजमा उल्लेख रहेको प्रहरीको भनाइ छ। सोही पत्रमा तीनै जनाले बलात्कार गरेको कुरा समेत उल्लेख रहेको छ।

साउन २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्