बाँकेकाे राप्तीपारीका आधा दर्जन गाउँमा डुंगाकै भर

नेपालगञ्ज– बाँके जिल्ला शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, खेलकुदका हिसाबले साविकको मध्य र सुदूरपश्चिमको ‘केन्द्र’ हाे। औद्योगिक क्षेत्र, अस्पताल, शिक्षण संस्था, बजार, विमानस्थल र आधुनिक रंगशालाले गर्दा बाँकेलाई सुगम हाे।

तर यही सुगम जिल्लाका कतिपय गाउँका मानिसहरु अहिले पनि डुंगामा यात्रा गर्छन् भन्दा अपत्यारिलो लाग्न सक्छ। राप्तीपारीका आधा दर्जन गाउँका मानिसहरु दैनिक डुंगामा यात्रा गर्न बाध्य छन्।

राप्ती नदीको एउटा भंगालो खल्ला झगडिया हुँदै गंगापुरतिर अघि बढेको छ। त्यही भंगालो तर्न स्थानीयले दैनिक डुंगा चढ्नु पर्ने बाध्यता रहेको छ।

खल्ला झगडिया, कुडुवा, पिप्रहवा लगायतका गाउँका मानिसहरु आफ्ना खेतबारी, आफन्त, हाट बजार गर्न डुंगा चढेर जाने गर्दछन्। खल्ला झगडिया गाउँ भन्दा अलिकति अगाडि एउटा ठूलो डुंगा सधैं तयारी अवस्थामा रहने गर्दछ।

भारतीयसँग भाडामा ल्याइएको ठूलो डुंगा सावित मौर्यले ठेक्कामा चलाइरहेका छन्। उनले एकजना मान्छेलाई नदी तारेको दश रुपैयाँ लिने गर्दछन्। दिनमा ५/६ सय रुपैयाँ कमाई हुने गरेको छ।

शुक्रबार भने चार हजारसम्म कमाई हुन्छ। शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा हाट बजार लाग्छ। त्यो हाट बजारमा राप्तीपारीका साविकका होलिया, बेतहनी र फत्तेपुर गाविसका धेरै मानिसहरु जाने गर्दछन्।

यो होलियाको पिप्रहवादेखि ४ किलोमिटरको दुरीमा रहेको छ। भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध नजिक पर्छ। विशेष गरेर शुक बजारमा तरकारी सस्तो पाइने किनमेल गर्न जानेहरु बताउँछन्। शुक बजार पुगेका राजकुमार शुक्लाले हाटमा साह्रै भीडभाड हुने बताए।

डुंगा सञ्चालक मध्येका जगत पालले शुक्रबार डुंगामा चलाउन भ्याइनभ्याइ हुने बताए। ‘भारतमा लाग्ने शुक बजारमा जानेहरुका कारण शुक्रबार साह्रै भीड हुन्छ’, पालले भने, ‘शुक्रबारकै कमाईले डुंगा लाचउन पुगिरहेको छ।’

डुंगाको मासिक भाडा आठ हजार भारतीय रुपैयाँ रहेको छ। त्योसँगै डुंगा चलाउनेलाई मासिक दश हजार दिने गरिएको छ। स्थानीयले डुंगा चढ्नै पर्ने बाध्यताले गर्दा मासिक यत्तिका खर्च भएपनि ठेकेदारले डुंगा चलाएर कमाई गरिरहेकै छन्।

हुन त राप्तीपारीको ५० हजार बढी जनसंख्याले पुलमा टेकेर सदरमुकाम आउन थालेको डेढ दशक पुगेको छैन। त्यसअघि उनीहरुको यात्रा डुंगामै हुन्थ्यो, नेपालगञ्ज आउन होस् या शुक बजार जानका लागि।

सिधनियाघाटमा २०५९/०६० मा पुल बने पनि तटीय क्षेत्रका धेरै गाउँका मानिसहरु अहिले पनि डुंगाकै भरमा रहेका छन्। राप्ती नदीसँग सधैं उनीहरु लुकामारी गरिरहन्छन्। जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

मान्छेमात्रै होइन, पशुको यात्रा पनि जोखिम नै रहेको छ। चर्नका लागि राप्ती वारी–पारी गर्ने भैसी नदीमा टाउको मात्रै देखाएर टाढा टाढा बगेको देखिन्छ।

बाटोले सदरमुकामसँग जोड्दै गरेको राप्तीपारीका आधा दर्जन गाउँहरुमा (साविकका गाविस) विजुली पुग्न सकेको छैन। शिक्षा र स्वास्थ्यको अवस्था नाजुक नै रहेको छ।

साउन २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्