तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गर्ने

बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरमा लगानी भित्र्याउन लगानी सम्मेलन आयोजना गर्ने भएको छ।

कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्यका क्षेत्रमा लगानी भित्र्याउनका लागि असोज ९ गते लगानी सम्मेलन आयोजना गर्न लागेको नगरप्रमुख वासुदेव घिमिरेले बताए। सम्मेलनका लागि नगरपालिकाले १९ वटा परियोजना तयार पारेर छलफल चलाईरहेको छ।

प्रमुख घिमिरेका अनुसार कृषि उपज प्रशोधन तथा व्यवस्थापन केन्द्र, एकीकृत फोहोरमैला व्यवस्थापन, सिटी कलेज, बाल तथा महिला अस्पताल, प्रादेशिक बसपार्क, औद्योगिक क्षेत्र, विजनेश हव, स्मार्ट हाटबजार, एकीकृत दुध संकलन तथा प्रशोधन केन्द्र, स्मार्ट पार्किङ स्थल, स्मार्ट बालउद्यान, एकीकृत पर्यटकीय स्थल, मिनी नेपालजस्ता परियोजनाबारे स्वदेशी र विदेशी लगानीकर्तासँग छलफल चलिरहेको छ।

लगानी सम्मेलनमा सम्झौता गरी नगरभित्र लगानी गर्नेलाई परियोजना हेरी ५ देखि १० वर्षसम्म निश्चित प्रतिशत कर छुट गर्ने नगरप्रमुख घिमिरेले बताए।

लगानी सम्मेलनको तयारीबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख घिमिरेले लगानी सम्मेलनमा देश भित्रका २ सय र विदेशी ५० गरी २ सय ५० जना लगानीकर्ताको सहभागिता रहने र २ अर्ब बराबरको लगानी भित्र्याउने गरी योजना बनाएको बताए।

उनले कतिपय परियोजनाहरु सामुदायिक निजी साझेदारी मोडेलमा सञ्चालन हुने खालका रहेको र केही सार्वजनिक जमिन लिजमा लिएर परियोजना सञ्चालन गर्ने खालका परियोजनाहरु तयार भएको बताए।

‘निजी क्षेत्रलाई उत्साहित बनाउँदै लगानी वृद्धि गर्ने र नगरलाई समेत रोजगार सम्पन्न, सुविधा सम्पन्न बनाउँदै समृद्ध बनाउने योजना हाम्रो हो’, नगर प्रमुख घिमिरेले भने।

उनले सम्मेलनले सरकार, स्वदेशी र विदेशी लगानीकर्ताबीच सम्पर्क सञ्जाल बन्ने र त्यसले लगानीको लागि आगामी दिनमा पनि वातावरण तयार गर्ने बताए।

‘प्रदेश सरकारले पनि लगानी सम्मेलन गर्ने भनेको छ’, उनले भने, ‘त्यसका लागि पनि यसले सहयोग पुर्‍याउने छ।’ उनका अनुसार चीन र भारतका लगानीकर्ताले पनि तिलोत्तमामा लगानी गर्न चासो देखाएका छन्।

सम्मेलन आयोजना गर्नका लागि २ दर्जन उपसमितिहरु गठन गरेर तयारी थालिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताइन्। उनका अनुसार निजी क्षेत्रका लगानीकर्तासँग निरन्तर रुपमा छलफल भइरहेको छ र केही परियोजनाको अवलोकन समेत भएको छ।

सम्मेलन आयोजनाका लागि करीब ३० लाख खर्च हुने र नगरपालिकाले २० लाख खर्च गर्ने र बाँकी १० लाख निजी क्षेत्रबाट जुटाउने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए।

साउन २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्