भाजपा नेता एवं भारतका पूर्व वित्त मन्त्री अरुण जेट्ली अस्पताल भर्ना

एजेन्सी– भारतीय जनता पार्टी (भाजपा) का नेता एवं भारतका पूर्व वित्त मन्त्री अरुण जेट्लीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।

नरेन्द्र मोदीको पहिलो कार्यकालमा वित्त मन्त्री रहेका जेट्लीलाई दिल्लीस्थित एम्समा भर्ना गरिएको छ।

अरुण जेट्लीको स्वास्थ्य स्थिति बुझ्न गृह मन्त्री अमित शाह र लोक सभाका अध्यक्ष ओम विडला एम्स पुगेका छन्। यस्तै अमित शाहपछि प्रधानमन्त्री मोदी पनि जेट्लीलाई भेट्न एम्स पुगेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन्।

पछिल्लो समय स्वास्थ्यमा देखिएको समस्याका कारण उनले मोदीको दोस्रो कार्यकालमा मन्त्री बन्न अस्वीकार गरेका थिए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेर स्वास्थ्यमा आएको समस्याका कारण मन्त्री मण्डलमा सामेल हुन नसक्ने जनाकारी गराएका थिए।

अघिल्लो वर्ष जेट्लीको किड्नी प्रत्यारोपण भएको थियो। त्यसपछि उनको बाँया खुट्टामा सफ्ट टिस्यू क्यान्सर भएपछि यसै वर्षको जनवरीमा थप उपचारको लागि अमेरिका गएका उनी फेव्रुअरीमा भारत फर्किएका थिए।

साउन २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्