भारतीय सार्पसुटरसहित पाँच जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा

मोरङ-व्यापारीको हत्याका लागि योजनासहित विराटनगर आएका भारतीय सार्पसुटर कुनाल कुमार सिंहसहित पाँच जनाविरुद्ध जिल्ला अदालत मोरंगमा मुद्दा दर्ता भएको छ।

जिल्ला प्रहरी कार्यालयले सरकारी वकिल कार्यालयमार्फत शुक्रबार मुद्दा दर्ता गरेको मोरंग जिल्लाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार भारत सीतामढीथान बैरगानिया ग्राम पञ्चायतका कुनालकुमार सिंहसहित विराटनगर महानगरपालिकाका मन्नुकुमार गुप्ता, सर्लाहीका हरिनारायण झा, कटहरी गाँउपालिकाका मन्नुकुमार सिंह रौनियार, महोत्तरी जलेश्वर नगरपालिका टिंकुकुमार झाविरुद्ध मुद्दा दर्ता गरिएको हो।

सार्पसुटर सिंह, गुप्ता र झालाई संगठित रुपमा हतियार खरखजानासहित अपराधिक षडयन्त्र उद्योगमा मुद्दा दर्ता गरिएको हो। त्यसैगरि कटहरीका रौनियार र जलेश्वरका झाविरुद्ध फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको प्रहरी प्रमुख अधिकारीको भनाइ छ।

गत जेष्ठ २७ गते विराटनगरको बसपार्कस्थित एक होटलबाट कुनालकुमार सिंहलाई प्रहरीले २ थान पेस्तोलसहित ७ राउण्ड गोलीसंगै पक्राउ गरेको थियो।
विराटनगर हाटखोलाका खाद्यान्न ब्यापारी जितेन्द्र रायको हत्याका लागि मन्‍नु कुमार गुप्ताले सिंहलाई भारतीय ५ लाख रुपैयाको सुपारी दिएका थिए। प्रहरीका अनुसार राय र गुप्ताबीच आर्थिक लेनदेन र पुरानो रिसिईबी देखिएको छ।

हत्याका लागि सुपारी दिएका गुप्ता यसअघि जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरि छुटेका थिए।त्यसैगरी हरिनारायण झाले भने कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरेका थिए।

गुप्ताले व्यापारी रायको हत्या गर्ने योजना झा समक्ष राखेका थिए। सोही अनुसार झाले भारतबाट सार्पसुटर सिंहलाई झिकाएको अदालतमा दर्ता गरिएको अभियोगपत्रमा उल्लेख छ।

अर्कोतर्फ जिल्ला अदालतका श्रेष्तेदार ईश्वरमणि ओझाले शुक्रबार सार्पसुटर भनिएका सिंहको बयान सुरु भएको छ।श्रेष्तेदार ओझाका अनुसार आइतबार अन्यको बयान लिइने र बयान सकिएसँगै आइतबार नै थुनछेक बहस हुन सक्नेछ।

साउन २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्