व्यस्त टेकु सडकको यो बनिबनाउ पुलमा किन लगाइयो पर्खाल?

व्यस्त टेकु सडकको यो बनिबनाउ पुलमा किन लगाइयो पर्खाल?

काठमाडौ‌ँ – तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यका दिगो शहरी यातायात विकास परियोजना ल्याएको थियो ७ वर्षअघि।

एसियाली विकाश बैंकको ऋण सहयोगमा सन्चालन  हुने भनिएको यो परियोजनाको उदेश्य थियो- काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनलाई व्यवस्थित र सुदृ‍ढ बनाउने। काठमाडौँ महानगरपालिका, यातायात व्यवस्था विभाग, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखा यस परियोजनाका एजेन्सी थिए।

यहि परियोजनाअन्तर्गत त्रिपुरेश्वर-कलंकी सडक खन्डलाई चार लेनमा लैजाने योजनाअनुरुप कालिमाटी-टेकु खन्डमा रहेको विष्णुमती खोलामा कि त भइरहेको २ लेनको पुललाई भत्काएर चार लेनको पुल बनाउनुपर्ने भयो या त अर्को दुई लेनको पुल थप्नुपर्ने। भइरहेको पुललाई भत्काउँदा सवारी आवागमन नै प्रभावित हुने थियो, त्यसैले दुई लेनको अर्को पुल थप्ने निर्णय भयो। चिनियाँ निर्माण कम्पनी जीआईईसी र नेपालको पप्पु कन्स्ट्रक्सनले संयुक्तरुपमा यो पुल निर्माणको ठेक्का पारे।

निर्माण कार्य सुरु भएको करिब ५ वर्षपछि, गत वर्ष पुल तयार भयो। केही महिना यो पुलमा सवारी साधन गुडे पनि। तर तीन चार महिनायता यही पुलको बीच भागमा वारपार ढुंगालाई तारजाली गरेर अग्लो पर्खाल लगाइएको छ।

अचेल यो पुल साना सवारी साधनको पार्किङ स्थलजस्तै बनेको छ। नजिकै रहेको पुरानो पुलमा अधिकांश समय सवारी साधन खचाखच हुन्छन्। ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको देखिन्छ। ठेक्केदार कम्पनी आधा रकम नदिएको भन्दै कानुनी लडाइँमा छ। यता काठमाडौँ सडक डिभिजन पुल भत्काएर अर्को पुल निर्माण गर्नुको विकल्प नरहेको दावी गरिरहेको छ।

सडक डिभिजन कार्यालयले नै पुलमा बार लगाएको हो।  काम रोक्नु भन्दाभन्दै पनि ठेकेदारले जबर्जस्ती पुल तयार गरेको दाबी सडक डिभिजन कार्यालयको छ। यही पुललाई सञ्चालनमा ल्याउँदा कुनैपनि समय दुर्घटना हुन सक्ने दावी सडक डिभिजनको छ।

‘परियोजनाको सुपरभिजन कन्सल्टेन्टले पुल निर्माण भइरहँदा मापदण्ड पूरा नगरी काम भइरहेको रिपोर्ट दिएको थियो। सोही आधारमा निर्माण रोकेर त्यसलाई सच्याउन ठेकेदार कम्पनीलाई पत्राचार गरिएको थियो। तर उनीहरुले जबर्जस्ती काम अगाडि बढाए’, काठमाडौँ सडक डिभिजन प्रमुख अशोक कुमार श्रेष्ठ भन्छन्।

काठमाडौँ सडक डिभिजन प्रमुख अशोक कुमार श्रेष्ठ।

ठेक्कामा तीन पक्ष हुन्छन् – क्लाइन्ट (ठेक्का दिने पक्ष), सुपर भिजन कन्सल्टेन्ट (निर्माणको नियमित प्राविधिक अनुगमन गर्ने पक्ष) र कन्ट्रयाक्टर अर्थात ठेकेदार। क्लाइन्टले सुपर भिजन कन्सल्टेन्ट नियुक्त गर्ने गर्दछ।

‘जुन पुल प्राविधिकरुपमा तयार छैन त्यो हामीले कसरी लिने ? काम सक्नु मात्र जिम्मेवारी पुरा हैन नी?’ श्रेष्ठ भन्छन्। सडक डिभिजनका अनुसार ६० मिटर लामो यस पुलको विवाद ३० मिटर भागमा मात्र छ जहाँ मापदन्ड पुरा गरिएको छैन।

ठेक्का सम्बन्धी विवाद हेर्ने  नेपाल मध्यस्थता काउन्सिलले यसबारे सुनुवाइ गर्दै पुलमा प्रयोग भएका तारको गुणस्तर परीक्षण गर्नुपर्ने निर्णय गरेको छ। भुक्तानी नपाएको भन्दै ठेकेदार कम्पनी काउन्सिल पुगेको हो।

स्थानीय बासिन्दा

यता सडक डिभिजन कार्यालय तार झिकेर परीक्षण गर्न असम्भव रहेको भन्दै विवाद हेर्ने त्यसभन्दा माथिको निकाय ‘आर्बिट्रेसन’ जाने तयारीमा छ। ठेक्केदार कम्पनीले १० करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी पाउन बाँकी छ। यो विवादको अन्तिम सुनुवाइ नभएसम्म पुल यथास्थितिमै रहने छ।

आश्चर्य त के छ भने चार लेन पुललाई मात्र बनाउन खोजिएको छ, पुलका दुवै तर्फका सडक फराकिलो पार्ने काम सुरु भएको छैन। नयाँ पुलको दुवै तर्फका सडक खन्ड बन्द जस्तै छन्। एकातर्फ पेट्रोल पम्प छ भने अर्कोतर्फ पुल भएर कलंकी जाने खन्डमा  घर। सडक विस्तारको तयारीसँगै यस क्षेत्रमा मुआब्जाको विवाद सुरु भएको छ जुन अहिले अदालतमा विचाराधीन अवस्थामा छ। स्थानीयबासी ठेक्केदार कम्पनीले सरोकारवाला सबैलाई हातमा लिएर पुल तयार गरेको दावी गर्छन् ।

‘यहाँ सुपरभिजन कन्सल्टेन्ट आएको कहिल्यै देखिएन। पुलमा प्रयोग भएको बालुवामा बालुवा कम माटो बढी भएको कुरा बाहिर आएपछि ठेक्केदारले ट्यांकरमा पानी ल्याएर बालुवाबाट माटो बगाएजस्तो गरेका थिए। यदी सरकारले त्यतिबेलै समस्या देखेको थियो भने किन काम रोक्न सकेन?’ स्थानीयवासी प्रश्न गर्छन्।

भिडियो हेर्नुहोस्:

 

साउन २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्