नशामा डुबेको एउटा बालकको नयाँ जिन्दगी

म तिम्रो हातको रोटी खानेछु एक दिन

मनमा धेरै किसिमका प्रश्नहरु खेलिरहेका थिए। म आफ्नो फिल्डको काम सकेर होस्टेलतर्फ जाँदै थिएँ। मनमा बारम्बार एक बालकको आवाज गुञ्जिरहेको थियो।

समाजसेवी भएर अरुको दुखपीडाको निम्ति काम गर्न बेग्लै गर्व लाग्थ्यो। त्यो दिन भने मन खुशी थिएन।

आफ्नो फिल्डवर्कका लागि म नयाँ दिल्लीस्थित एक नशामुक्त केन्द्रमा आबद्ध थिएँ। त्यसै क्रममा केन्द्रमा रहेका बालकहरुको केस फाइल बनाउने, काउन्सेलिङ गर्ने, अदालतबाट आएको आदेश र कानुनी प्रक्रिया बुझ्ने मेरो काम थियो।

काउन्सेलिङकै क्रममा एउटा नयाँ बालकसँग कुरा गर्न पुगेँ म। कोठाको एउटा कुनामा टोलाइरहेको सानो बालक देख्दा मन भारी भयो। ऊ त्यहाँ रहेका अरु बालकहरुमध्ये पनि सानो थियो- करिब ८ वर्षको। म नजिकै गएर उसको सामु बसेँ। अरु बच्चाले झैँ उसले मलाई ‘नमस्ते मिस’ भन्यो तर सानो स्वरमा।

ती कलिला दुई हात मसामु जोडिएको देख्दा मेरा आँखा भरिए। मैले नमस्ते फर्काएँ र सोधेँ-  ‘यहाँ क्युँ अकेले बैठे हो।’उसले टाउकोमात्र हल्लायो, मुखले जवाफ दिएन। मैले केही बेरमा उसको फाइल लिएर काउन्सेलिङका लागि उसलाई अर्को कोठामा लगे। ‘बेटा आप कहाँ रेहते हो?’ भनेर पहिलो प्रश्न गरेँ। उसले भन्यो, ‘म नेपाल से हुँ।’

यो सुन्नेबित्तिकै मेरो मन चिसो भयो। यति सानो बालक नशा गरी यसरी दिल्लीको केन्द्रमा कसरी भेटियो? कस्तो मजबुरी, कस्तो अप्ठ्यारोले उसलाई यहाँसम्म डोर्‍यायो? कस्तो नरमाइलो, खिन्न भयो मेरो मन।

मैले उसलाई ‘म पनि नेपालबाट हो’ भन्नेबित्तिकै ऊ मुसुक्क हाँस्यो। मीठो र निश्चल मुस्कान। त्यो हाँसो मैले अहिलेसम्मकै देखेको प्रिय हाँसो थियो। अब ऊसँग कुरा गर्न मलाई सजिलो भएको थियो, आफ्नै भाषामा। मैले उसको घर, आमा, बुवा, उसले गरेको नशा, नशा गर्नुको कारण सबै सोधेँ। यति सानो उमेरमै सबै किसिमको नशा गरिसकेको भन्दा मेरो शरीर सिरिङ्ग भयो।

उसले दिएको कारण सुन्दा त झन् आफू असहाय महसुस भयो। बुवाको कामका कारण नेपालबाट दिल्ली आएको र पैसा कमाउन आफू पनि कबाड छान्ने गरेको अनि घरमा खानलाई केही नहुने भएर साथीहरुले भोक मार्न ‘सुलोचन’ सुँघ्न सिकाएको बतायो उसले।

यस्ता किसिमका बाध्यताहरु सुन्दा जीवनमा हामीले गरेको रमाइलो, आनन्द र हाँसपरिहास व्यर्थ भएको महसुस हुने रहेछ। हामीले गर्न धेरै बाँकी छ!

इन्डियन नार्कोटिक्स ड्रग कन्ट्रोल ब्यूरोका अनुसार नेपालबाट आएका दैनिक ५० भन्दा बढी बेसहारा बालबालिकाहरु दिल्लीमा भेटिन्छन्। ठूलो संख्यामा नेपाली बालबालिका दिल्लीमा नशामा आबद्ध छन्।

गरिबीको कारण देश छोडी अर्को ठाउँमा आएर काम गर्न बाध्य बाबुको पिछा लागेर आइपुगेको त्यो बालकले भोक मार्न नशा गरेको थियो। आखिर आफ्ना बुवाआमासँग काखमा बस्ने र स्कुल जाने रहर र अधिकार त उसको पनि त छ। छोरालाई पढ्न पठाउने रहर बाबुलाई पनि त  थियो होला तर गरिबीले उनी आफ्ना रहरहरु मार्न सायद बाध्य थिए।

त्यो बालकको आँखामा मैले सपना देखें जब उसले भन्यो- नशा छोडी मलाई ठूलो मान्छे बन्नु छ, पढ्नु छ अ नितपाईँलाई घरमा बोलाएर रोटी बनाएर खुवाउँछु।

यति सानो मान्छेका कति मिठो सपना!

तीनमहिने उपचार सकेर केन्द्रबाट निस्किएपछि मैले सकेजति प्रयास गरेर यो बाबुलाई पढ्ने व्यवस्था मिलाउने जिम्मेवारी लिएकी छु।

काम सजिलो पक्कै छैन तर यो गर्नसके एक बालकले जीवन पाउँथ्यो र मेरो पेशाले पहिचान। अनि मेरो हृदय पनि सायद आत्मसन्तुष्टिले भरिन्थ्यो।

‍‍…

मेरो प्रयास हो वा उसको भाग्य- त्यो बालककले जीवनको बाटो पाएको छ अहिले आएर।

म नयाँ दिल्लीको पढाइ र काम छाडेर काठमाडौँ फर्केँ।

मैले भेट्दा ऊ लागु पदार्थको नशामा चुर्लुम्मै डुबेको थियो। त्यो कलिलो ८ वर्षको बालक! हामी आफ्नै वरिपरिका ८ वर्षे बालबालिकाको चित्र आफ्नो अगाडि ल्याउँ त!

उसलाई आफू कहाँको, कुन जिल्लाको, कुन गाउँ- केही पनि थाहा थिएन। बाबुआमासँग पनि बेखबर थियो।

यस्तो बालकलाई भेट्टाउँदा उसको भविष्यप्रति दुख लाग्नु स्वाभाविक थियो। अझ ऊ नेपाली नै भएका नाताले उसको भविष्यप्रति चिन्ता लाग्ने नै भयो।

तर, म पनि देशभन्दा टाढा थिएँ। व्यक्तिगत तवरले आर्थिक सहयोग गरी उसको बाँकी जीवनको कायापलट गर्नसक्ने हैसियत थिएन।

यद्यपि मैले त्यस बालकको जीवनलाई नयाँ गोरेटो दिने प्रयासमा लागुपदार्थको दुर्व्यसनबाट मुक्त गराउन र उसको उपचारमा विशेष ध्यान दिएँ। मैले काम गरेको संस्थाको विशेष सहयोगमा। उक्त उपचारपश्चात उसलाई पढाउने वा पढ्ने व्यवस्था मिलाउने शैक्षिक जिम्मेवारी लिएकी थिएँ।

मेरो सानो प्रयासले उक्त बालक यतिखेर आएर नयाँ दिल्लीस्थित एउटा विद्यालयमा भर्ना भएको छ।

उसलाई नशाबाट मुक्त गराउने नै मेरो मुख्य लक्ष्य थियो जुन पूरा भएको छ। मेरो हृदय आत्मसन्तुष्टिले भरिएको छ।

उसलाई पढ्ने व्यवस्था मिलाइदिन मलाई सहयोग गरेको दिल्लीस्थित नेपाली दूतावास तथा महिला तथा बालबालिका मन्त्रालयलाई धेरै धन्यबाद।

म आज निकै खुसी छु किनकि त्यस बालकको मार्मिक कथा, व्यथा र सपना सुन्ने र बुझ्ने सायद पहिलो व्यक्ति म थिएँ।

उसलाई नशा प्रयोग गर्ने समूहबाट शिक्षा आर्जन गर्ने समूहमा लैजान सफल भएको छु।

मलाई उसले भनेको थियो- ‘तपाईँलाई म ठूलो भएपछि रोटी पकाएर खुवाउँछु।’

मलाई पनि आशा र विश्वास छ- उसको हातको रोटी खान पाउनेछु एक दिन।

उसका सारा सपना पूरा होऊन्।

उसलाई मैले देखाएको गोरेटो बाटो उसका जीवनका ठूलाठूला राजमार्ग बनून्।

आफ्नै देश फर्किएर गरिबीका कारण अनेकौं अभाव र दुखकष्ट व्यहोर्दै विदेशिएर लागुपदार्थको दुष्चक्रमा फँसेर जीवनको यात्रा गुमाएका अनेकौँ बालबालिकालाई बाटो दिन सकोस् उसले।

तिमीले यति गर्न सक्यौ भने मेरो सपना पूरा हुनेछ, तिम्रो जीवन धन्य हुनेछ। मलाईमात्र होइन, सायद नेपाल आमालाई नै ‘तिम्रो हातको रोटी’ खाएसरह हुनेछ।

साउन २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्