
काठमाडौँ – धादिङको बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएकाहरुको खोजी तीव्र रुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
खोजीका लागि त्रिवेणी–सुस्तासम्मका प्रहरी चौकीमा परिपत्र गरिएको र त्रिशूली तथा नारायणी नदी किनारमा पर्ने धादिङसहित गोरखा, तनहुँ, चितवन, पूर्व नवलपुरसहितका जिल्लाका प्रहरी इकाइ खोजीमा खटिएको जनाइएको छ ।
हालसम्म ९ जनाको ज्यान गएको खुलेको भए पनि धादिङ प्रहरीले भने पाँचजनाको मात्रै पुष्टि गरेको छ । तीनजनाको घटनास्थलमै ज्यान गएको हो । यस्तै चितवन र तनहुँमा दुई–दुईजनाको शव भेटिएको र गोरखा तथा पूर्वी नवलपुरमा एक–एकजनाको शव भेटिएको जनाइएको छ ।
बसमा कति जना सवार थिए भन्ने यकिन नभएकाले बेपत्ताको संख्या यकिन गरेर भन्न सकिने अवस्था नरहेको प्रहरीले उल्लेख गरेको छ । कम्तिमा २० जना अझै बेपत्ता रहेको अनुमान छ ।
बसका चालक बेहोस रहेको र हाल उनको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेकाले यात्रुको संख्या यकिन गर्न नसकिएको हो ।
सर्लाहीको मलंगवाबाट काठमाडौँका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको थियो । १६ जनाको सकुशल उद्धार भएको छ ।