कविता

आफन्तबाट पनि बच्नु पर्दोरहेछ

प्रा. डा. रवि शाक्य-

आमाले त सिकाउनुहुन्थ्यो
‘अपरिचितबाट बच्नुपर्छ, पराइबाट बच्नु’
तर वहाँलाई पनि थाहा रहेनछ
आफन्तबाट पनि बच्नु पर्दोरहेछ ।।

कसैलाई भगवानभन्दा बढ्ता विश्वास गरेथेँ,
त्यो बालापनको निशर्त माया गरेथेँ,
बदलामा त्यस्तै विश्वास र माया पाउने आशा गरेथेँ
तर उसैले पो मलाई गाह्रै नदिई सर्वस्व लुटिदियो
पत्याउनै नसकिने गरी यो ज्यानलाई निर्जिव तुल्याइदियो।।

विज्ञापन

अगुल्टाले हानेको स्वान सरी
बिजुलीदेखि पनि तर्सन्छु म
कसैले भलो नै गर्न खोज्दा पनि
अर्कै शंकाले सधैँ झस्कन्छु म ।।

विश्वास गरुँ त अब कसलाई गरुँ म ?
माया गरुँ त अब किन कसरी गरुँ म ?
भित्रभित्रै सधैँसधैँ आफूलाई खोक्रो पाउँछु म
आफन्त साथीमाझ पनि अझै एक्लो ने हुन्छु म ।।

आमाले त सिकाउनुभयो
‘अपरिचितबाट बच्नु, पराईबाट बच्नु’
तर उहाँलाई थाहा रहेनछ
आफन्तबाट पनि बच्नु पर्दोरहेछ ।।

साउन २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्