कविता

दुखाई

हरेकपल्ट,
दुख्दा लाग्थ्यो
यो भन्दा गहिरो चोट कहिल्यै लागेको थिएन,
तर हरेकपल्ट
उसैगरी दुख्थ्यो मन
उसैगरी झर्थ्यो आँसु
ढोका थुनेर उसैगरी रुझाउँथे सिरानी
र आँसु पुछ्दै सम्झन्थेँ,
योभन्दा अघिको चोट केही थिएन ।।

हरेकपल्ट,
फरक–फरक मान्छेको सम्झनामा
फरक–फरक चोटको दुखाईमा
एकैनासले दुख्थेँ फरक–फरक समयमा
तर दुखाई उहीँ थियो, उस्तै थियो ।
आँसु उही थियो, उस्तै थियो ।
भाव उही थियो, उस्तै थियो ।
तर हरेकपल्ट,
चोटहरु नयाँ लागिरह्यो ।
आँसु नयाँ चोट बोकेर नयाँझै खसिरह्यो ।
धोका पहिलोपल्ट पाईरहेझैँ लाग्यो ।

विज्ञापन

त्यसैले हरेकपल्ट,
चोटहरु थपिईरहे ।
आँसुहरु झरिरहे ।
जिन्दगीले धोका पाईरह्यो ।
अचेल हरेकपल्ट,
चोटलाई स्वागत गर्न मुस्कुराउँछन् ओठहरु
हृदय दुखाईसँग नजिक हुन हमेशा चाहन्छ ।

हरेकपल्ट,
चोट पाए पो जिन्दगी, हाँस्दाहाँस्दै रुन पाए पो जिन्दगी ।
हरेकपल्ट,
मन खोजिरहन्छ दुखिरहन ।
दुखाई आदत बनिसकेछ ।
नदुखाईकन
भो ! प्रेम नगर ।
हरेकपल्ट,
दुखिरहनुमा छ मज्जा,
आऊ दुखाऊ मुटु
बनाऊ नयाँ–नयाँ चोटहरु
हरेकपल्ट दुखिरहोस् पहिलोपल्टझैँ ।

साउन २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्