स्मृति

उत्तराधिकारी बिहीन ‘जदौ’ को सम्झना

२०७५ साउन २५ गते शुक्रबार एक क्रान्तिकारी साहित्य चेतनाको दियो निभेको दिन, एक अँध्यारो दिन । “जदौ” चेतनाको बत्ती बाल्ने सलाइको काँटी आफू जलेर अरुलाई उज्यालो छर्दै शेष भएको दिन ।

आफूलाई किसान, मजदुर, दलित र गरिबहरुको साहित्यकार हुँ भनेर सधैँ गर्व गर्ने दाहाल यज्ञनिधीले नेपाली समाज निर्माणको दृष्टिकोणसहितको साहित्य लेखिनु पर्छ भन्ने विचार सधैँ प्रवाह गरिरहे । र प्रेरित गरिरहे स्रोतालाई ।

कतिले उनलाई लोकप्रिय साहित्यकार भने कतिले साहित्यकार नभई साहित्यसेवी मात्र भने । यसमा कुनै कडा टिप्पणी गरेनन् उनले । बरु दुवैखाले विचारलाई स्वीकारे ।

किशोर अवस्थामा रेडियोको पहुँच बनेपछि मैले पनि सुनेँ उनलाई । साठीको दशकमा रेडियो नेपालमै सामान्य भेटघाट, सत्तरीको दशकमा उहाँकै निवासमा भाउजु सुधा र आमासहितको पातलो भेट र अन्तरक्रियाबाट उनको केही करिब भएँ । जति भेट र संवाद भए सधैँ खरो र प्रष्ट विचार पोखिएकै हुन्थे–नेपाली साहित्यका बोक्साहरुले साहित्यलाई रोगी बनाएका छन् । राजीनीति र साहित्यका दुई नाउमा खुट्टा राख्नेसँग बच्न र दृष्टिकोण विनाको बेअर्थी ग्ल्यामर साहित्यबाट नेपाली साहित्यलाई बचाउन नसके साहित्यले बाटो बिराउँछ ।

दृढ थिए यो विचारमा उनी ।

डाइलासिस गरेर थाकेको शिथिल शरीर धेरै नबोल्न आग्रह गर्दागर्दै पनि ओछ्यानमा ढल्किएर बोल्न थालेपछि साहित्य, समाज र राजनीतीका संस्कृति र विकृति दुवै पाटाकाबारेमा घण्टौँ बोलेको न उनलाई पत्तो हुन्थ्यो न सुन्नेलाई उठेर हिँड्न मन लाग्थ्यो । सामान्य बातचीतमा पनि उही उर्जा र उही झर्रो ठेट शैलीमा सुन्न पाउँदा रेडियोबाटै सुनिरहेको छु भन्ने भान पर्थ्यो ।

२०७३ साउन ११ गते तत्काल रेडियो सगरमाथामा कार्यरत मित्र हेम भण्डारी र म उनका अघि रेकर्डर तेस्याएर बसेका थियौँ । घरिघरि बिरक्त लाग्दो लामो खोकी सहेर पनि तीन घण्टा लगातार बोल्नुभएको थियो । जो सामान्य स्वस्थ्य मान्छेको लागि समेत कठिन हुन्छ ।

नेपाली लोक बोली बोल्ने केपी र विपी दुई नेता मन परेपनि केपीले कमल थापासँग काँध मिलाएर सरकार चलाएकाले उनी महेन्द्रवादतिर ढल्किएको ठानेर आक्रोसित र निराश देखिनुहुन्थे दाहाल । आफूलाई लागेको कुरा भन्न कहिल्यै डर र धक नमान्ने उनले नेपाली राजनीति र साहित्यका शीर्ष पुरुषहरुकै नाकै मुनि औँलो ठडयाएर उनीहरुका कमजोरी औँल्याउन सक्ने हक्की मान्छे हो भन्ने सुनेको मैँले । त्यही बसाइमा पक्का पनि भएँ ।

राजा वीरेन्द्रकै शासनकालमा रानी ऐश्वर्यको आलोचना रेडियोबाटै गर्न सक्ने आँटिला क्रान्तिकारी थिए यज्ञनिधि । हक्की हुनु र क्रान्तिकारी हुनु फरक कुरा हुन् । जोकोहीमा नहुने दुवै गुण उनमा थिए । राष्ट्रकवि माधव घिमिरेलाई विचारविहीन ‘मोहनी’ सर्जकको विशेषण लगाएको सुन्दा सबैलाई चित्त नबुझ्न सक्छ ।

‘धार्मिकीरहित समाजवाद मेरो आह्वान हो ।’ जदौ निबन्ध संग्रहको लेखकीयमा उनले भनेका छन् । साहित्य, समाज र राजनीतिप्रतिको अग्रगामी बिचारको शायदै कुनै उत्तराधिकारी निर्माण गर्न सकेनन्, एक्लो बृहस्पति बनेर गए ।

मोफसलका क्रान्तिकारीहरु काठमाडौँ भित्रिएर मात्रै विभिन्न राजनीनिक परिवर्तन सम्भव भएका हुन् नत्र अझै परिवर्तन सम्भव थिएन भन्ने उनको बुझाई थियो । कोही रिसाउला कि भन्ने कहिल्यै हेक्का राखेनन् । उनको विचार र अभिव्यक्ति सदा निरपेक्ष नै रह्यो । आफ्नै जीवनप्रति समेत निरपेक्ष रहे । जहिले पनि मर्नु नै छ कति दुःख खेप्छ्यौ मर्न देऊ मलाई ।

भाउजुसँग सधैँ यसो भनिरहे ।

जदौका निबन्ध संकलन गरी संग्रह सम्पादन गरेका लुइटेल दिनेश र देवकुमारी लुँइटेलले लेखेका छन् “दाहाल यज्ञनीधी कलमले बन्दुकको गोली प्रहार गर्न सक्छन् । उनका सिर्जनाले सामन्ती सोचलाई छानीछानी निशाना लगाएका छन् । अनैतिक, अनाचार, भ्रष्टाचार, घुसखोरी, चाकरी चाप्लुसी पक्षको पर्दाफास गरेका छन् ।”

संसारका धेरै बालकले झैँ दुःख झेलेर हुर्किएका हुन् खोटाङको खाल्लेमा २०१० साउन ८ मा जन्मिएर । काठमाडौँमा पढ्दा मुलाको साग, नुन र चामल एकैठाउँ फत्काई खाएर पढेका थिए । बाल्मिकी क्याम्पस भर्ना भएपछि क्याम्पस प्रमुखबाट पाएको एक रुपैयाँ उनको जीवनको उर्जाको स्रोत बनिरह्यो ।

बसाइका क्रममा सुनाएका थिए “बाबुको अस्थी सेलाउन हजुरबासँग भारत गएका बेला त्यहाँको पण्डाको गरिबी र अपराधी गतिविधि नियालेपछि अस्तुलाई आफैले गंगा नदीमा हुर्‍याई दिएको थिएँ ।” राती सुतेकै ठाउँमा लँगौटी र कन्दनी समेत चोरिएपछि वनारसतिरै पढ्ने बिचार त्यागेर काठमाडौँ आए । दुई छाक चामलको भात खान नपाउने अवस्थाहरु देखे, भोगेकाले पनि होला निधारमा टीका लगाउने संस्कृृतिको विरोधी भएका उनी ।

दसैँमा टीका लगाउने चामल बचाए गरिबलाई एकछाक खानपुग्छ भन्ने कठोर मान्यता राख्ने उनको घरमा आएका एकजना आफन्तले ओप्सानी हालेको भात टिप्न लगाएको विषय आफन्तमा सधैँ आलोचनाको विषय बन्यो ।

“सशक्त जँड्यालाई असक्त बृद्धबृद्धाले दक्षिणा दिने परम्परा हो दसैँ । यसलाई बहिस्कार गरौँ ।” २०७२ को दसैँमा टाइप गरेरै शुभ चिन्तकलाई बाँडेका थिए यो विचार । यति धेरै नास्तिक हुनुका पछाडि उनको परिवारमा दोहोरिरहने मिर्गौला रोगले पनि काम गरेको हुनुपर्छ । बाबुलाई यसैले लग्यो । एक भाइ र बहिनीलाई आफैले बिदा गरे । शायद यही कारण उनी भन्ने गर्थे यदि ईश्वर छ भने उ नै सबैभन्दा ठूलो हत्यारा हो ।
हुन पनि उनको निधन भएको केही महिना पछि नै उनका माइला भाइ पुष्पनिधि समेत मिर्गौला रोग कै कारण सकिए ।

२२ वर्ष रेडियो नेपाल र साढे पाँच वर्ष एचबिसी एफएममा समेत साहित्यको संसार धानेका उनले पछिल्लो अस्वस्थ्य अवस्थामा समेत अन्नपूर्ण एफएमबाट जदौ चलाइरहेका थिए । उनको निधन भएको भोलिपल्ट समेत उनले अघिल्लो दिन रेकर्ड गरिएको कार्यक्रम प्रसारण भएको थियो, उनले भनेका रहेछन् ‘यो मेरो अन्तिम कार्यक्रम हो । भयो पनि त्यस्तै ।’

दार्जिलिङ्गको नेपाली साहित्य कृषकको नजिक रहेको तर नेपालमा भरिया, ढाक्रे र हलिका नेता र साहित्यकार दुवै जन्मिएनन् भनेर चिन्ता गर्ने उनको खुशीको विषय नेपालीभन्दा मैथिली भाषा समृद्ध रहेकोमा थियो । यसले पनि प्रष्ट पार्छ उनी एकमात्र भाषा वर्ग र क्षेत्रका साहित्यकार थिएनन् ।

र भन्थे नेपाली साहित्यमा हलो जुवा र सैलोसहितको चेतनालाई हतेरिरहन सक्नुपर्छ । उनको एउटा सर्त पनि छ, गरुडपुराण जस्तो विकृत साहित्य कहिल्यै लेखिनुहुन्न ।

२०३१ सालमा पहिलोपटक मधुपर्कमा गुन्द्रुक शीर्षकमा प्रकासित, भएपछि औपचारिक साहित्यिक यात्रा थालेका दाहाल साहित्यमा अराजक र क्रान्तिकारी परिचय बनाएका उनले केही नेपाली संस्कृति र परम्परालाई समेत विकृतिकारुपमा लिए । तर उनको राजनीति र साहित्यिक क्रान्तिकारी दृष्टिकोणमा सम्बन्धित क्षेत्र र आफन्त समेत विभाजित छन् ।

दलितका घरमा खाने, धर्म र परम्परालाई लात मार्ने गरेकाले पनि पापको रोग लागेको कुतर्कले निन्दा गर्ने निकटस्थहरु समेत जीवितै छन् । ‘अरुका आङका जुम्रामाथि औँलो ठड्याएर आफ्नै आङ्मा भैँसी बोकेर हिँडेका छौँ हामी ।’ साहित्य सर्जकहरुबाट साहित्य लेखन र बोलीमा जुन दृष्टिकोण पोखिन्छ त्यसको पालनामा भने आफै चुकेकै देखिन्छौँ । यज्ञनिधिले राजनीति र साहित्यमा जुन दृष्टिकोण राखे जीवनशैली पनि उही अपनाएरै बाँचिरहे । र, सधैँ बाँचिरहनेछन् उनका पक्षपातिहरुका मनमा पनि ।

उहाँकी सहयात्री सुधाले एक अद्भूत प्रेमको बाटो हिँडेर यज्ञनिधिको बृहस्पति विचार, रोग र पूरै जीवनलाई सर्लक्कै आत्मसाथ गरी दुई दशकसम्म बिना झण्झट स्याहार गरिरहिन् । दाहालकै चाहना अनुसार उनको शवमा अबिर र फूल छरिएन । शरीर समेत दाहसंस्कारको सट्टा दानसंस्कार गरियो चिकित्सा अध्ययनका विद्यार्थीका लागि ।

इच्छा अनुसार नै उनको पार्थिव शरीर एकेडेमीमा नलगी श्रद्धान्जलीका लागि उनकै प्रिय ‘सुधाको डिही’ मै राखियो मण्डिखाटारमा । कर्मकाण्डी काजक्रिया नगरी नुन बिनाको एक छाक खाएर क्रिया बस्ने र गरिबलाई दान गर्ने इच्छा समेत पूरा भयो ।

२०७६ साउन १५ गते उनको वार्षिकी सामान्य वेद पढाएर र एकसयजति अनाथ बालबालिकालाई दान दिएर सम्पन्न गरियो । यस्तै १६ गते प्रज्ञा भवनमा आयोजित उनको श्रद्धाञ्जली कार्यक्रममा दाहालद्वारा रचित पाचवटा गीत सार्वजनिक गरियो ।

लोचन भट्टराइले संगीत गरेका गीतहरु बाल गायक आयुष केसी, गायकहरु संगीता प्रधान र दाहाल यज्ञनिधिका प्रिय इलामेली गायक कुबेर राइले स्वरबद्ध गरेका छन् ।

मेरो देशको भर्सेलीमा अन्न आगो छैन
रित्तो भाँडो चुहिरैछ, केले लिनु चैन ।

पानी बिना बाँचेन, घामबिना फुलेन
फूलजस्तै तिम्रो जीवन खुल्दै खुलेन ।

यस्ता जनप्रिय गीतसहित

खुल्ला निलो आकाश हे ! तेरो छाया छैन
बादलुको कत्ला हेरी हियो अघाउँदैन ।

जस्ता क्रान्तिचेतका गीतहरु समेत स्वारांकन भएका छन् ।

साहित्य, संस्कृति र संचारकर्ममा आफ्नो फरक विचार र त्यसलाई प्रवाह गर्ने आँटसहित जनमनमा बस्न सफल थोरै सर्जकहरुका अगुवा हुन् सके दाहाल यज्ञनिधि ।

‘जदौ’ उनको ब्राण्ड मात्र बनेन पछि पारिएका जाति र समुदायको अपहेलना रुपान्तरण गरी सम्मानीत अवस्थामा पु¥याएका उनले सायदै उत्तराधिकारी चेतना निर्माण गर्न सकेनन् । वा निर्मित हुने आँट गरेनौँ कसैले ।

पदीय लाभको लोभ र शासकीय साहित्यबाट टाढा रहेर माटो र मुटुको बिद्रोही साहित्य सिर्जना गर्ने गर्ने आँट सँगाल्नु नै दाहाल यज्ञनिधिप्रति हार्दिक श्रद्धाञ्जली हुनेछ । उनी बिनाको एक वर्षे सून्यताको दुःखद स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली ।

साउन २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्