इंग्लिस प्रिमियर लिग फुटबल

अन्तिमको १७ मिनेटमा जित निश्चित, ह्यारी केनले गरे चार मिनेटमा दुई गोल

युरोपियन उपविजेता तथा प्रिमियर लिगमा तेस्रो स्थान भएको टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा प्रभावशाली जितसहित यात्रा थालेको छ ।

लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको आफ्नो पहिलो खेलमा टोटनह्यामले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो । पहिलो हाफमा १–० ले पछि परेको टोटनह्यामले तीनै गोल दोस्रो हाफमा गरेको हो । उसका लागि ह्यारी केनले दुई गोल गरे भने टानगुयी डोम्बेलेले एक गोल गरे।

नवौँ मिनेटमा जोन म्याकजिनले गोल गर्दै यो सिजन बढुवा भएर प्रिमियर लिगमा फर्किएको एस्टन भिल्लालाई सुरुवाति अग्रता दिलाए । दोस्रो हाफको आधा भन्दा बढी समय पनि माउरिसिओ पोकेटिनोको टिम गोल बिहीन थियो ।

यहि सिजन क्लब भित्रिएका डोम्बेलेले ७३ औँ मिनेटमा टिमका लागि बराबरी गोल फर्काए । अन्तिमको चार मिनेटमा केनले दुई गोल गरे । उनले ८६ र ९० औँ मिनेटमा गोल गरेका हुन् ।

प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुलले नर्विच सिटीलाई ४–१ ले हराएको थियो भने शनिबार राति नै भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ह्याम युनाइटेडलाई ५–० ले पराजित गरेको थियो । टोटनह्यामले पनि प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

लिग अन्तर्गत शनिबा राति नै भएका अरु खेलमा बर्नलीले साउथह्याम्पटन तथा ब्राइटनले वाट्फोर्डलाई समान ३–० ले पराजित गरेका छन् । यस्तै बोर्नमाउथ र सेफिल्ड युनाइटेडले १–१ तथा क्रिष्टल प्यालेस र एभर्टनले गोल रहित बराबरी खेलेका छन् ।

साउन २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्