नेइमारले पिएसजी छोड्ने सम्भावना पहिले भन्दा निकै बलियो

बाहिरिन चाहेका नेइमारलाई जान दिन फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) तयार देखिएको छ।
लिग वान फुटबलको नयाँ सिजनको पहिलो खेलमा पिएसजी नेइमार बिना खेल्ने भएको छ, र यसको कारण उनको सम्भावित बर्हिगमन रहेको जनाइएको छ ।
पिएसजीले आइतबार राति लिग वानमा यो सिजनको आफ्नो पहिलो खेलमा निमेससँग खेल्दैछ । ब्राजिलियन खेलाडी नेइमारले क्लब छोड्ने सम्भावना रहेकाले पहिलो खेलमा उनलाई समावेश नगरिएको पिएसजीले जनाएको छ ।
पिएसजीका स्पोर्टिङ्ग डाइरेक्टर लियोनार्डोले २७ वर्षका स्टार खेलाडी नेइमारको ट्रान्सफर सम्भावना पहिलो भन्दा निकै बलियो भएको बताएका छन् । तर क्लब तत्काल उनको ट्रान्सफरका लागि स्वीकृति दिने पक्षमा नरहेको पनि उनले बताए ।
विश्वका सबैभन्दा महंगा फुटबल खेलाडी नेइमार आफ्नो पुरानो क्लब बार्सिलोना फर्किन चाहन्छन् । तर बार्सिलोनाले एन्टोनी ग्रिजम्यानसहितको स्टार खेलाडी अनुबन्धित गरेकाले उनको सम्भावना कम भएको बताइन्छ । यस्तै नेइमारको नाम बार्सिलोनाको चीरप्रतिद्वन्द्वी रियल मड्रिडसँग पनि जोडिएको छ ।
नेइमार यो सिजनको ट्रान्सफर विण्डको अन्तिम समयसम्ममा पिएसजीबाट बाहिर हुने सम्भावना बलियो देखिएको फुटबल पण्डितले बताएका छन् । उनको यात्रा स्पेनतिर हुने सम्भावना देखिए पनि कुन क्लबमा ढोका खुल्छ यकिन भएको छैन ।
नेइमार विश्व कीर्तिमानी मूल्यमा सन् २०१७ मा बार्सिलोनाबाट पिएसजी आएका हुन् । पिएसजीले अहिले पनि नेइमारका लागि कीर्तिमानी मूल्य चाहेको छ, तर उनमा चासो देखाएका क्लबले पिएसजीले मागे जति रकम तिर्न खोजिरहेका छैनन् ।
नेइमारले पिएसजीका लागि लिग वानमा दुई सिजनमा ३४ गोल गरे । दुवै सिजनमा उनले चोटका कारण धेरै खेल खेल्न पाएका थिएनन् ।
उनले शनिबर प्रशिक्षण गरेका थिए र प्रशिक्षक थोमस टुसिलले उनी पूर्ण रुपमा फिट नरहेको दाबी गरेका छन् ।