कर्णालीमा आत्महत्याको अवस्था डरलाग्दो, नीतिगत सुधार आवश्यक

साङ्केतिक तस्बिर

सुर्खेत – आत्महत्या समाज विकासको निकै ठूलो बाधक घटना बन्दै गएको छ । समाजमा घट्ने यस्ता प्रकारका घटनाले पारिवारिक मात्र होइन, सांस्कृतिक, सामाजिक र आर्थिक वातावरणमा समेत प्रभाव पार्न थालेको छ ।

आत्महत्याका घटनाको प्रभाव गाउँभन्दा शहरमा बढी भएको पाइएको छ । पछिल्लो समयमा यो समस्या र चुनौतीका रुपमा देखापरेको छ । यद्यपि हाम्रो समाजमा आत्महत्या किन बढ्दै गएको छ र यसको रोकथाम के हो ? भन्ने विषयमा त्यति गहिरो अध्ययन अनुसन्धान गरेको पनि पाइँदैन ।

सरकारले भने आत्महत्याको नकरात्मक प्रभाव रोक्न एवं व्यक्तिको बाँच्न पाउने अधिकार सुरक्षित गर्न थुप्रै जनचेतनामूलक कार्यक्रम गर्नुको साथै आपराधिक गतिविधि गराउनेविरुद्ध कडा कानूनी कारवाहीको व्यवस्था गरेको छ । गैरसरकारी सङ्घ–संस्थाले पनि यस क्षेत्रमा ठूलै लगानी गरेको पाइन्छ । तथापि यस्ता गतिविधिले समाजमा आत्महत्याका घटना घट्नुको सट्टा बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाउँछन् ।

आत्महत्या आफैमा अपराध हो । मृतक आफैले आफूमाथि गरेको अपराध हो । यद्यपि देहत्याग गर्नेलाई थाहा नहुँदा यो समस्या समाजमा घट्दो क्रममा छैन । व्यक्तिको आत्महत्यापश्चात उसको आश्रित परिवार तथा समाजमा पर्ने नकरात्मक प्रभावले पछिल्ला पुस्तामा यसको असर झनै बढेको देखिन्छ ।

मुख्यगरी घरको अभिभावकले त्यसो गर्दा आश्रित परिवारका सदस्यमा पर्ने मनोवैज्ञानिक, सामाजिक, व्यक्तिगत प्रभाव र त्यसले कुनै पनि समाजको शान्ति तथा विकासमा पर्न जाने असर निकै डरलाग्दो हुने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए ।

शहरी रहनसहन, बदलिँदो जीवनशैली, बेरोजगारी, गरीबी, अपरिपक्व सोच, प्रेममा धोका, सम्बन्धविच्छेद, मदिरा, पारिवारिक बिग्रह–कलह, परीक्षामा असफलता, मानसिक रोग, आन्तरिक द्वन्द्व, घरेलु तथा लैङ्गिक हिंसा, मादक पदार्थको सेवन, तनावपूर्ण तथा थकित जीवन आत्महत्याका मुख्य कारण भएको प्रहरी नायब महानिरीक्षक जोशीले बताए ।

“शहरमा आउने बित्तिकै हरेक व्यक्ति सुविधाभोगी हुन चाहन्छ, यद्यपि सबैका इच्छाहरु पूरा हुन सक्दैनन्”, प्रहरी नायब महानिरीक्षक जोशीले भने, “मुलतः यो अर्थ र सामाजिक प्रतिष्ठासँग जोडिन्छ तथापि सबै आर्थिकरुपले आत्मनिर्भर हुने अवस्था छैन ।” आर्थिक, राजनीतिक, सामाजिक, पाविारिक, सांस्कृतिक, असमानता, विभेद र कलहबाट सिर्जित असंवेदनशील अवस्थाले आत्महत्याका घटना घट्ने गरेको उनको भनाई छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले यस प्रदेशको आव २०७२–७३ देखि २०७५–७६ मा आत्महत्याका घटनाको तथ्याङ्क अध्ययन गर्दा ९२७ ले आत्महत्या गरेको बताए । “गत आवमा मात्रै २५० ले आत्महत्या गरेका छन्”, प्रवक्ता तिम्सिनाले बताए, “यो दर घट्नुको सट्टा डरलाग्दो तरिकाले बढेको छ ।”

उनले भने, “तथ्याङ्कको अध्ययनअनुसार आत्महत्या गर्नेहरुमा बढी १६ देखि ३० वर्ष उमेर समूहका (३७ प्रतिशत) र त्यसपछि ३१ देखि ४१ वर्ष उमेर समूहका (२६ प्रतिशत) छन् । ७३ प्रतिशतले डोरी लगाएर र २७ प्रतिशतले विषपानलगायत अन्य चिज प्रयोग गरी आत्महत्या गर्ने गरेको पाइन्छ ।”

आव २०७५–७६ लिङ्गका आधारमा पुरुष, उमेर समूहअन्तर्गत १६–३० वर्ष, वैवाहिक अवस्था हेर्दा विवाहित, वर्गमा दलित, पेशामा कृषि, क्षेत्रगत रुपमा ग्रामीण इलाका, शैक्षिक योग्यताका हिसाबले निरक्षर र कारणमा गरीबीले आत्महत्या गर्ने गरेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा छ । त्यसैगरी, आत्महत्या बढी भएको उल्लेख गर्दा, जिल्लामा सुर्खेत, महीनामा भदौ, दिनमा शनिबार, समयमा १८–२४/१२–१८ घण्टाको अवधि, प्रकृतिमा झुण्डिएर आत्महत्या गरेको पाइएको छ ।

गत आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा सबैभन्दा बढी सुर्खेतमा ९२ जनाले आत्महत्या गरेका छन् । त्यसपछि सल्यानमा ५०, दैलेखमा ४३, रुकुम पश्चिममा ३२, जुम्लामा १०, जाजरकोट र मुगुमा ६–६, हुम्लामा एक जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले अभिलेखीकरण गरेको तथ्याङ्कअनुसार डोल्पा जिल्लामा गत आवमा आत्महत्या गर्नेको सङ्ख्या शून्य छ ।

यसको विषयमा अधिकारकर्मी गीता कोइरालाले लैङ्गिक हिंसाका कारण पछिल्ला वर्षहरुमा आत्महत्याका घटना बढेको बताए । “महिला होस् या पुरुष हिंसामा पर्दा तत्कालीन परिस्थितिको सामना गर्न नसक्नुको परिणाम यस्ता घटनाहरु घट्ने गरेका छन्” अधिकारकर्मी कोइरालाले भने, “हिंसाको चपेटामा तुलनात्मकरुपले पुरुषभन्दा महिला नै बढी छन् ।”

अधिवक्ता दुर्गा सापकोटाका अनुसार बेराजगारी, घरायसी अशान्त वातावरणबाट उब्जने निराशाको परिणामस्वरुप आत्महत्याका घटना घट्ने गरेको छन् । “जीवनमा आफूले सोचेको जस्तो भएन भने र असफलताहरु हुँदै जाँदा व्यक्ति निरास हुन्छ । जसको कारण उसमा दिक्दारीपन आउँछ” उनले भने, “उसले अन्तिम विकल्प आत्महत्यालाई नै देख्छ ।”

यता बहुसांस्कृतिक मनोसामाजिक संस्थाका परामर्शकर्ता नन्दराज आचार्यले आत्महत्याका कारणहरुमध्ये मदिरा प्रमुख रहेको बताए । आत्महत्या गर्नेहरुमा पुरुषको सङ्ख्या धेरै भए पनि आत्महत्याको प्रयास गर्ने सङ्ख्या भने महिलाको बढी भएको उनको दाबी छ । परिवारप्रतिको आगाध प्रेम पुरुषभन्दा महिलामा नै बढी हुने भएकाले आत्महत्यामा महिलाको सङ्ख्या कम देखिएको उनको टिप्पणी थियो ।

सरकारी तहबाट आत्महत्या न्यूनीकरणमा केही प्रयासहरु भए पनि यसले आदर्श तथा सभ्य समाज निर्माणमा कस्तो प्रभाव पार्छ ? भन्ने कुराको गहिरो अध्ययन कहीकतैँबाट भएको पाइँदैन ।

मुलतः पेशागत, वर्गीय असमानता तथा विभेदीकरण र परनिर्भरताले आत्महत्याका घटनामा वृद्धि ल्याएको बताउँदै यसको रोकथाम र समाजको समानान्तर विकासमा सबै सरकारहरु संवेदनशील भएर लाग्न जानकारहरुले सुझाउँदै आएका छन् ।

साउन २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू