मुख स्वास्थ्य

दाँत कसरी माझ्ने? धेरैपटक ब्रस गरे के हुन्छ?

फेरिँदो जीवनशैलीले मानिसको स्वास्थ्यमा विभिन्न प्रभाव पारिरहेको छ। यसमा मुख स्वास्थ्य पनि पर्छ। चिकित्सकहरुले दिनमा दुईपल्ट दाँत माझ्न सुझाव दिन्छन्।

तर सधैँ यो संभव हुँदैन। पढाईका लागि बिहान कलेज निस्कने र दिउँसो काममा जाने मानिसहरुको सन्दर्भमा खाना पछि ब्रस गर्न संभव हुँदैन। यस्तो दाँतलाई के के असर पर्छ भन्ने बोरमा २५ वर्षदेखि दन्त चिकित्सा क्षेत्रमा कार्यरत डा. सुशील कोइरालाले देशसञ्चारलाई बताएका छन्।

खाना खाएपछि दाँत माझ्न बिर्सियो भने के हुन्छ ?

खाना खाएपछि जुठो भाँडा छोडेको जस्तो हो। छोडेको जुठो भाँडामा जे हुन्छ हाम्रो मुखमा पनि त्यही हुन्छ। जसरी खाना भाँडामा रहँदा लेउ लाग्छ, कुहिन्छ, खाना खाएपछि दाँत नमाझ्दा खानेकुरा मुखमा कुहिन्छ।

कुहिएपछि प्रशस्त ब्याक्टेरिया बन्छन्। त्यो किटाणुले अम्लिए पदार्थ निकाल्छ । त्यो पदार्थले दाँतमा आक्रमण गर्छ र दाँतमा किरा लाग्ने, गिजाको रोग ल्याउने गर्छ। भात खाए भाँडा माझ्न बिर्से भनेको जस्तो खाना खानु र दाँत माझ्नुलाई सँगै लैजान आवश्यक छ।

बिहान बाहिर खाना खाने र ब्रस गर्न सम्भव नभएको अवस्थामा के गर्ने ?

यो आचारणमा भर पर्ने कुरा हो। राम्रोसँग स्याहार सुसार गरेनौ भने, स्याहार सम्भार गरेनौ भने पाँचन प्रणालीको पहिलो समस्या मुखबाट सुरु हुन्छ। दाँतमा किराले आक्रमण गर्छ।

दाँतमा दुख्ने समस्या भएपछि मात्र डेन्टिसको सम्पर्कमा बिरामी आउने गर्छन् तर धेरैजसोलाई दाँत किराले प्वाल पारेको पनि थाहा हुँदैन। गाउँमा लाटो किरा लागेको भन्छन्, किराले दाँत मकिदै गयो तर उसलाई थाहा नै हुँदैन। नसुन्निदासम्म पनि बिरामी चिकित्सकको सम्पर्कमा आउँदैनन्।

२५ वर्षदेखि दन्त चिकित्सा क्षेत्रमा कार्यरत डा. सुशील कोइराला

अर्को भनेको बिरामीको सास गन्हाउने समस्या हो। त्यसपछि गिजा सुन्निने, गिँजा थिच्दा तरल पदार्थ निस्कने हुन्छ। यसलाई दन्तहर्ष अथवा पाइरिया हुन्छ। यहाँ दाँतलाई समाएर बसेको गिँजा कमजोर भएपछि दाँतका जरा कमजोर हुन थाल्छन्, झर्न थाल्छन्। यतिबेला अस्पताल गएपछि चिकित्सकले ‘तपाईको दाँत अब जोगाउन सकिन्न’ भन्छन् ।

मुख स्वास्थ्यको कुरा गर्दा ब्रग गर्ने बानीको बारेमा मात्र कुरा हुन्छ नि ?

सबैभन्दा ठूलो त ब्रस नै हो। सफा रहनेबारेको सँस्कृति वैद्धिक सँस्कृति र आयुर्वेदबाट सुरु भएको हो। कुल्ला गर्नु, दतिहुनले दाँत माझ्ने, तेल र नुनले दाँत माझ्ने विधि पश्चिमी समाजले हाम्रो सिको गरेको हो। खानामा धेरै किसिमको परिवर्तन आएकोले यो समस्या पहिला धेरै पश्चिमी देशमा थियो। उनीहरुले ब्रस बनाए। तर सफा गर्नु सबैभन्दा ठूलो हो।

दाँत शरीरको एउटा यन्त्र हो। शरीरलाई आवश्यक खानेकुरालाई एक प्रक्रियामा ढालेर पाचनप्रणालीमा पठाउँछ। यही यन्त्रमा खानेकुरा अड्कियो भने यन्त्रमा समस्या आउँछ।

जतिपल्ट खाना खायो उतिपल्ट दाँत माझ्नुपर्‍यो ?

दाँत माझ्ने भन्ने बित्तिकै ब्रस र पेस्टलाई सम्झना गरिन्छ। पहिला यो कुरा दिमागबाट निकाल्नुपर्‍यो। हामीले धेरै अगाडिबाट सुरु गरेको हो यो अभियान। खाना खाएपछि मज्जाले कुल्ला गर्नुपर्छ। बरु थुक्न समस्या छ भने पानी निल्दा हुन्छ। काइयोमा अड्केको फोहोर निकालेको जस्तै हो।

धेरै ब्रस गर्‍यो भने दाँतको इनामेल जान्छ भन्छन् नि ?

दाँतको इनामेल जानु भनेको कस्तो पेस्टको प्रयोग गरिएको छ भन्ने कुरा हो। यदी हामीले प्रयोग गर्ने पेस्ट खस्रो छ भने त्यो इनामेलको लागि घाति हुन सक्छ। सिलिका बढी भएको दन्तमञ्जनले दाँत माझ्दा, गोल पिनेर माझ्न थाले जान्छ। यस्तै कडा ब्रसले दाँत माझ्दा खिइने हुन्छ।

फ्लोराइड भएको मञ्जन चाहिन्छ भन्छन् किन ?

नेपालको पानीमा फ्लोराइड कम छ, त्यसैले फ्लोराइड भएको पानी भनिएको हो। फ्लोराइडले दाँतको इनामेलको संरचनालाई बलियो बनाउन मद्दत गर्छ । साथै किरा लाग्ने समस्या कम हुन्छ।

अहिले नेपालमा पाइने पेस्टमा फ्लोराइड हुन्छन्। यो बाहेक मञ्जनमा डिटरजेन्ट, ग्लिसरिन लगायतका तत्व हुन्छन्। बास्नाको लागि मेन्थोल, अनि क्याल्सियम पनि हुन्छ।

ब्रस कस्तो चाहिन्छ ?

दाँत सफा गर्ने ब्रस नरम खालको हुनुपर्छ। विज्ञापनमा देखाएका राम्रा ब्रसले माझ्दैमा दाँतमा किरा नलाग्ने भन्ने हुँदैन। दाँत कसरी माझ्ने गरेको छ, त्यसमा भर पर्ने कुरा हो। विज्ञापनमा देखाएको कुरा सबै पत्याउन हुँदैन। ब्रसको ब्रिस्टल सानो हुनुपर्छ।

कसरी माझ्ने ?

पहिला ब्रसले खाना निकाल्ने अनि पेस्टको प्रयोग गर्ने। पेस्ट लगाएपछि ३५–४० सेकेण्ड देखि दुई मिनेटसम्म तलमाथि गर्नुपर्छ। अरुबेला खाएपछि बेस्सरी कुल्ला गर्नुपर्छ। उमेर अनुसार दाँत माझ्ने तरिका पनि फरक फरक हुन्छ।

ट्वाइलेट बस्दा दाँत माझ्ने बानी हुन्छ नि ?

शायद यो उहाँहरुले समयका बचत गर्नलाई प्रयोग गर्नुभएको हो । तर हिजो आज ट्वाइलेट प्यान भएको ठाउँमा ब्रस राख्न हुन्न भन्ने अवधारणा आएको बेलामा ट्वाइलेट बस्दा दाँत नमाझेकै राम्रो, ट्वाइलेटको नजिक ब्रस नराखेको राम्रो। यसो गर्नाले ट्वाइलेटको फोहोर ब्रसमा बस्न पाउँदैन।

साउन २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्