
काठमाडौँ – धादिङको बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटबाट शुक्रबार बिहान त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएकाहरुको खोजीमा गोताखोरसहितको टोली परिचान भए पनि अहिलेसम्म थप व्यक्तिको अवस्था थाहा नभएको प्रहरीले जनाएको छ ।
हालसम्म दुर्घटनामा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । तर बसमा कति जना थिए र बेपत्ता कति भएका छन् भन्ने यकिन हुन सकेको छैन । खोजीका लागि त्रिवेणी–सुस्तासम्मै उद्धारकर्ता खटिएको प्रहरीले जनाएको छ । त्रिशूली तथा नारायणी नदी किनारमा पर्ने धादिङसहित गोरखा, तनहुँ, चितवन, पूर्व नवलपुरसहितका जिल्लाका प्रहरी इकाइ खोजीमा खटिए पनि थप व्यक्तिबारे जानकारी हुन सकेको छैन ।
हालसम्म मृत पुष्टि भएका ९ जना मध्ये तीनजनाको घटनास्थलमै ज्यान गएको हो । यस्तै चितवन र तनहुँमा दुई–दुईजनाको शव भेटिएको र गोरखा तथा पूर्वी नवलपुरमा एक–एकजनाको शव भेटिएको जनाइएको छ ।
शव भेटिएका मध्ये ८ जनाको पहिचान भएको छ । ज्यान गुमाउनेमा भारत सितामढीका ३० वर्षे अजय ठाकुर, सर्लाहीका २५ वर्षे विजय कुर्मी, सर्लाहीको मलंगवा–१ का सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षकी निमा श्रीवास्तव, मलंगवा नगरपालिका–६ का ५५ वर्षे जगरनाथ राय यादव, सर्लाहीको हरिवनका ४६ वर्षका विनोदप्रसाद उप्रेती, महोत्तरीको बर्दिबास नगरपालिका–६ का २५ वर्षकी सरीताकुमारी महतो र उनका ६ वर्षका छोरा आशिषकुमार साह तथा भारतका अजय ठाकुर रहेको प्रहरीले जनाएको छ । एक महिलाको परिचय भने खुल्न नसकेको धादिङ्ग प्रहरीले जनाएको छ ।
कम्तिमा २० जना अझै बेपत्ता रहेको अनुमान छ । बसका चालक बेहोस रहेको र हाल उनको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेकाले यात्रुको संख्या यकिन गर्न नसकिएको हो । सर्लाहीको मलंगवाबाट काठमाडौँका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको थियो । १६ जनाको सकुशल उद्धार भएको थियो ।