बुटवल बस टर्मिनल परिसरमा बहुउद्देश्यीय सपिङ कम्पलेक्स

बुटवल– बुटवलस्थित लुम्बिनी बस टर्मिनलको परिसरमा पार्किङसहितको अत्याधुनिक सपिङ कम्प्लेक्स ‘बहुउद्देश्यीय भवन’ निर्माण हुने भएको छ।

तीन तले भवनको आइतबार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले शिलान्यास गरे।

बुटवललाई आर्थिक केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने र बुटवलका लागि दिगो आयस्रोतको आधार बन्न सक्नेगरी बहुउद्देश्यीय भवनको उपयोग हुने प्रमुख सुवेदीले बताए।

प्रमुख सुबेदीले बुटवलमा जनसंख्या र घर निर्माण बढेसँगै जग्गाको अभाव हुन थालेकाले ठूला व्यवसायिक भवन र आवास निर्माणका लागि नगरपालिकाले विज्ञहरु मार्फत अध्ययन गरीरहेको बताए।

‘साना–साना घर बनाएर बस्ने र व्यवसाय गरेर अब यहाँको विकास सम्भव छैन, बहुतले भवन बनाउनुपर्छ त्यसका लागि विज्ञसँग छलफल र प्राविधिक अध्ययन भइरहेको छ’, प्रमुख सुवेदीले भने, ‘अध्ययन पश्चात कति तला सम्मका ठूला भवन बनाउने नगरपालिकाले निणर्य गर्नेछ।’

निर्माण कम्पनी प्रेम सुनिल समिर जेभीका सञ्चालक नारायण पोख्रेलले निर्माण कार्य तोकेको समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाए।

बसटर्मिनल परिसरमा बन्ने यो अत्याधुनिक भवन नगर विकास कोषसँगको विशेष सहकार्यमा निर्माण हुन लागेको हो।

यसका लागि बुटवल र कोषका बीचमा गत फागुनमा सम्झौता भएको थियो। निर्माण कम्पनीले भने करिब आठ करोड रुपैयाँमै निर्माण गर्न सक्ने भन्दै ठेक्का सम्झौतामा हस्ताक्षर गरेर काम सुरु गरिसकेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए।

२०७७ साउनमा निर्माण सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको सहरी पूर्वाधार विकास महाशाखा प्रमुख वरिष्ठ अधिकृत इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए।

तीन तलाको भवनमा पार्किङ बाहेक विभिन्न साइजका ६८ वटा व्यवसायिक सटरहरु निर्माण हुने र ती सबै अत्याधुनिक मापदण्डका रहने छन्। जसको भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७/२७ वटा सटर बन्नेछन्।

साउन २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्