साझा पार्टी प्रवेश गरेकी पूर्व ‘मिस नेपाल अर्थ’ प्रिया सिग्देललाई ६ प्रश्न

काठमाडौँ– मिस नेपाल २०१८ काे प्रतिस्पर्धामा ‘मिस नेपाल अर्थ’ काे उपाधि विजेता प्रिया सिग्देल साझा पार्टी प्रवेश गरेकी छन्।

देश भित्र र बाहिरबाट पार्टीको नेतृत्वमा युवाहरुलाई जोड्न लागि परेको साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रुपमा पार्टी प्रवेश गराएको हो।

प्रस्तुत छ, पूर्व ‘मिस नेपाल अर्थ’ प्रिया सिग्देललाई देशसञ्चारका लागि पूर्णिमा बिकले सोधेका ६ प्रश्न:

तपाईँ किन राजनीतिमा?

सर्वप्रथम त मलाई राजनीतिमा रुचि छ। दोस्रो कुरा, मैले ‘डिभेलप्मेण्ट स्टडिज’ मा स्नातक गरेकी छु। त्यसमा हामीले राजनीति पनि पढ्नु पर्छ। पछि मास्टर पनि राजनीतिमा नै गर्ने भएकाले राजनीतितर्फ लागेकी हुँ।

किन साझा पार्टी नै?

साझा पार्टीको सिद्धान्त र मेरो सोच मेल खाने र त्यहाँ काम गर्ने राम्रो वातावरण भएकाले साझा पार्टी रोजेकी हुँ।

‘मिस नेपाल अर्थ’ भइसक्नु भएको छ, काम गर्नलाई राजनीतिक पार्टी नै किन?

हामी युवाहरुमा के धारणा बनिसकेको छ भने राजनीति भनेको एकदमै नराम्रो हो, यसले राम्रो काम गर्दैन। तर वास्तवमा त्यस्तो रहेनछ। मैले पढ्दै गर्दा राजनीति के हो राम्रोसँग बुझेँ। राजनीतिले हाम्रो देश बनाउँछ। त्यसलाई हामी युवाले नराम्रो भनेर राजनीतिमा नलाग्ने हो भने देशको अवस्था यथावत नै रहन्छ। त्यसैले राजनीति रोजेकी हुँ।

पार्टीमा प्रवेश नगरेर पनि सामाजिक कार्य गर्न सक्नुहुन्थ्यो नि?

हो, सक्छु। म पिछडिएका महिलाहरुको सशक्तीकरणका लागि काम गरिरहेकी पनि छु। तर संस्थामा आवद्ध भएर र राजनीतिक पार्टीबाट काम गर्नु फरक कुरा हो। म संस्थाबाट केही क्षेत्रका महिलाहरुका लागि काम गर्न सक्छु भने राजनीतिक माध्यमबाट देशभरिका महिलाका लागि काम गर्न सक्छु। राजनीति देश विकास र परिवर्तनको माध्यम हो। त्यसैले काम गर्ने उपयुक्त थलो राजनीति लाग्यो।

अधिकांश टाइटल जितेकाहरु चलचित्र क्षेत्रमा जान्छन्,तपाईलाई यस्तो सोच आएन?

मिस नेपालको तीन टाइटल विजेता भएपछि सबैले म नायिका, मोडल, फेसन डिजाइनर वा कुनै टेलिभिजनमा कार्यक्रम प्रस्तोता हुन्छु सोचेका थिए। तर मलाई त्यो सोच आएन। मलाई मनदेखि नै राजनीतिक रुपमा अघि बढेर समाज परिवर्तन गर्ने रहर छ। अबको राजनीतिमा युवाहरुको अनिवार्य सहभागिता हुन जरुरी छ।

पार्टी प्रवेश गरेपछि कस्तो अनुभव भइरहेको छ?

एकदमै उत्साहित भएकी छु। अग्रज पुस्तासँग काम गर्ने अवसरका साथै देशप्रति जिम्मेवारी पनि बढेको छ। म आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नेछु।

साउन २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्