एक वर्षमै डेंगुका ३४ सय बिरामी, प्रदेश एकमा मात्रै ३ हजार

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले आर्थिक वर्ष २०७५/७६ मा प्रदेश नं. १ मा तीन हजार एक सय ५२ जना डेंगु रोगको संक्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको छ।

आइतबार संचारकर्मीसँग गरिएको अन्तरक्रिया कार्यक्रमा महाशाखाले आर्थिक वर्ष २०७५/७६ मा प्रदेश नं. १ मा सबैभन्दा धेरै तीन हजार एक सय ५२ जना डेंगु रोगका संक्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको हो।

पछिल्लो समय जनस्वास्थ्य रोगको समस्या भइरहेको डेंगु रोग नेपालमा मात्र नभएर विश्वव्यापी रुपमा फैलिँदै गएको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेकलाल कर्णले बताए।

उनले भने, ‘विगत केही दशकदेखि विश्वभरी नै डेंगु रोगको संक्रमण अत्यधिक रुपमा बढ्दै गैरहेको छ र विगत ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइन्छ।’

त्यसैगरी कार्यक्रमा उनले तथ्याङ्क सार्वजनिक गर्दै प्रदेश नं. २ मा १२ जना, प्रदेश नं. ३ मा १ सय २६ जना, गण्डकी प्रदेशमा २६ जना, प्रदेश नं. ५ मा ९६ जना, कर्णली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १२ जना संक्रिमित भएको बताए।

डा. कर्णका अनुसार विश्वको आधाभन्दा बढी जनसंख्या डेंगु रोगको जोखिममा रहेको छ। १ सय २८ भन्दा बढी मुलुकका ३.९ अर्ब मानिसहरु डेंगु रोगको जोखिमको क्षेत्रमा बसोबास गर्ने गरेको पाइएको छ।

सरकारले भने लामखुट्टेको बासस्थान खोजिगरी लार्भा नष्ट गर्नका लागि ‘खोज तथा नष्ट गर’ कार्यक्रम संचालनमा ल्याएको छ।

यसका साथसाथै डेंगु रोग नियन्त्रण, रोकथाम तथा उपचारका लागि आवश्यक सामाग्रीहरुको व्यवस्थापन र रोकथाम सम्बन्धी स्वास्थ्य सूचना प्रशारण तथा जनचेतनामूलक गतिविधिहरु संचालन गर्दै आइरहेको छ।

यस रोगको प्रकोप नियन्त्रण र रोकथामका लागि विभिन्न स्तरमा स्वास्थ्यकर्मी सहितको टोली परिचालन गर्दै आइरहेको समेत डा. कर्णले बताए।

के हो डेंगु ?


डेंगु रोग एक प्रकारको भाइरस (डेंगु भाइरस डिइएन भी) ले हुने रोग हो। यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ। डेंगु भाईरसको चार प्रजाति छन्। जुन डिइएन भी–१, डिइएन भी–२, डिइएन भी–३, डिइएन भी–४ रहेका छन्।

एक पटक एउटा प्रजातिको डेंगु भाईरसको संक्रमण भएपछि जीवनभर त्यसै प्रजातिको डेंगु रोग लाग्दैन, तर अन्य प्रजातिको डेंगू रोग लाग्न सक्छ, र प्रायः दोस्रो पटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक प्रकारको हुन्छ।

कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो ४देखि ७ दिन भित्रमा रोगको लक्षण देखिन्छ। एउटा डेंगु रोगबाट सङ्क्रमित व्यक्तिको रगत चुसेको ८ देखि १२ दिन पछी लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवन भर संक्रमित रहन्छ।

लक्षणहरु


–एक्कासी उच्च ज्वरो आउने गर्छ जुन ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ।

–अत्यधिक टाउको दुख्ने

–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

–ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने

–शरीरमा बिमिरा आउने

–धेरै ज्वरो आएर माथि उल्लेखित लक्षणहरु मध्ये दुई वा दुईभन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ

–वाकवाकी लाग्ने

–वान्ता हुने

–पेट दुख्ने

–नाक वा गिजाबाट रगत बग्ने

–रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने

–बेहोश हुने आदि लक्षणहरु पनि देखा पर्न सक्छ।

मृत्युदर


–सामान्य डेंगुमा मृत्यु हुने सम्भावना ज्यादै न्यून हुन्छ

–उपचार नगरेको खण्डमा ५० प्रतिशतसम्म बिरामीको मृत्यु हुन सक्छ।

–समयमा राम्रो उपचार पाएको खण्डमा मृत्युदरलाई १–२५ सम्म झार्न सकिन्छ।

रक्तश्रावको खतरा हुन सक्ने अवस्थाहरू


–लामो समयसम्म बेहोश भएमा

–जलवियोजन र बेहोशी भएमा

–कलेजोमा खराबी उत्पन्न भएका

–दुखाई कम गराउने ब्रुफेन, निमेसुलाइड तथा एस्पिरिन जातका औषधीको प्रयोग गरेमा

–ग्यास्ट्राइटिसको समस्या भएका बिरामीमा

–रगत पातलो बनाउने औषधीको सेवन गरिरहेका बिरामीमा

–शरीरमा कुनै प्रकारको चोटपटक लागेमा

रोकथामका उपाय


–पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने

–पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्ने

–कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने

–फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्ने

–एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउने

–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुका साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउने

–लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्ने

–घरका झ्याल ढोकामा जाली लगाउने

–घर वरिपरी सफा सुग्घर राख्ने पानी जम्ने खाल्डाखुल्डी पुर्ने।

साउन २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्