मुक्तिनाथ मन्दिरनजिकै परम्परागत महोत्सव

प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वार रानीपौवामा सोमबारदेखि यार्तुङ महोत्सव शुरु हुँदैछ।

चार दिनसम्म चल्ने उक्त महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबको संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा उक्त महोत्सव हुन लागेको हो।

महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए।

हिमाली संस्कृतिको जीवन्तता तथा यस क्षेत्रको पर्यटन प्रवद्र्र्धन गर्न महोत्सव आयोजना गरिएको सो गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरूङले बताए।

महोत्सवमा याक सवारी, घोडा दौड, परम्परागत ताराखेल, सेवेन ए साइड फुटबल प्रतियोगितालगायत कार्यक्रम हुने छन्।

गाउँपालिकाका १९ गाउँको परम्परागत वेषभूषा प्रदर्शनका साथै यहाँको विविध संस्कृति प्रदर्शन गरिनेछ।

महोत्सवको झण्डै १० हजार व्यक्तिले अवलोकन गर्ने अध्यक्ष गुरुङको भनाइ छ।

हिमाली क्षेत्र र यहाँको प्राचिन संस्कृति पर्यटकीय विकासको महत्वपूर्ण आधार भएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए।

हिमाली क्षेत्रमा वर्खायामको अन्त्य भई हिउँद याम शुरु हुने समयलाई यार्तुङ पर्वका रुपमा मनाइने गरिन्छ। यार्तुङका अवसरमा विभिन्न किसिमका परम्परागत झाँकी, घोडा दौड र मीठो–मीठो परिकार बनाएर खाने चलन छ । यार्तुङमा नयाँ लुगा लगाउने परम्परा छ।

साउन २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्