सद्भाव र आपसी स्नेहको पर्व बकर इद मनाइँदै

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको महान पर्व बकर इद देशभरका मस्जिदमा सोमबार मनाइँदैछ । इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेन नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान (बलि) दिने विधान रहेको बताउँछन् ।

विज्ञापन

“बलि दिएको खसीको मासुलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरिब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ”, उनले भने । घण्टाघरस्थित नेपाली जामे मस्जिदमा सोमबार बिहान ८ बजे नमाज पढ्ने कार्यक्रम छ । यस पर्वका अवसरमा प्रदेश नं २ र ५ सरकारले सार्वजनिक बिदा दिएका छन् ।

हिजरी संवत अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए । “अल्लाहको आदेश इब्राहिमलाई तेरो नजीकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर् भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन शुरु भएको हो”, पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै उनले भने ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वका आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए ।

“जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, उनले भने । इद सोमबारदेखि बुधबारसम्म तीन दिन मनाइन्छ । बुधबार सूर्यास्तअघि नै मुस्लिम धर्मावलम्बीले बलि (कुर्वान) दिनुपर्ने धार्मिक विधान छ ।
यसैबिच इदको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विभिन्न नेताहरुले शुभकामना सन्देश दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको साझा साँस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराको संरक्षण तथा सम्बर्द्धनले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प हाँसिल गर्न मद्दत पुग्ने बताएकी छन् । शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले असल पर्व र परम्पराको संरक्षण तथा सम्बद्र्धनले पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने पनि विश्वास व्यक्त गरेकी छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न चाडपर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ पार्ने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त रहेको र विभिन्न समुदायका चाडबाड, रीतिरिवाज र धर्मसंस्कृतिले आपसी सहिष्णुता तथा राष्ट्रिय एकतालाई बलियो बनाएको उल्लेख गरेका छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गरी आजको दिन सकभर खुला स्थान इद गाहामा सो नभए मस्जिदमा इद–उल–अज्हा (बकर इद) को नमाज पढेर एकापसमा खुशी साटासाट तथा शुभकामना आदानप्रदान गर्ने दिन भएको उल्लेख गर्दै मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

सभामुख कृष्णबहादुर महराले विविधतायुक्त नेपाली समाजमा रहेका पर्वहरूले आपसी सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । (राससको सहयोगमा)

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू