अख्तियार प्रमुखलाई ‘दुई सय वर्ष बाच्नू’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या

सांकेतिक तस्बिर

काठमाडौँ – उदयपुर घर भएका एक पूर्व सरकारी कर्मचारीले अख्तियार प्रमुखलाई ‘दुई सय वर्ष बाच्नू’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।

मालपोत कार्यालय कलंकीमा कार्यरत रहेका बेला भ्रष्टाचार मुद्दा लागि निलम्बनमा परेका हरि आर्चायले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई ‘दुई सय वर्ष बाच्नू’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेको उदयपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले सुसाइड नोटमा पारिवारिक तनावका कुरा पनि उल्लेख रहेको बताए ।

‘मैले सरकारी कर्मचारी हुँदा दुई रुपैयाँ पनि घुस खाएको थिएनँ तर मलाई फसाईयो, अख्तियार प्रमुख ज्यू तपाईँ दुई सय वर्ष बाच्नुहोला’, आचार्यले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा उल्लेख छ ।

डिएसपी केसीले सुसाइड नोटमा आचार्यले नेपाल सतिले सरापेको देश रहेको पनि उल्लेख गरेको बताए । उनका अनुसार दुई पानाको सुसाइड नोटमा घरपरिवारलाई पनि विभिन्न खाले सन्देश लेखिएको छ ।

‘पारिवारिक वातावरण मिलाउन आग्रह गर्दै सन्देश लेखिएको छ’, डिएसपी केसीले भने, ‘सुसाइड नोट हेर्दा पारिवारिक तनाबको विषय पनि झल्किन्छ ।’

उदयपुरको त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय आचार्य साउन २५ गते बेलुका ६ बजेदेखि बेपत्ता भएका थिए । त्रियुगा नगरपालिका–९ रातमाटेस्थित जंगलमा आइतबार बिहान उनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्