नाचघरका नवनियुक्त निमित्त महाप्रबन्धकलाई पाँच प्रश्न

नाचघरका नवनियुक्त निमित्त महाप्रबन्धकलाई पाँच प्रश्न

काठमाडौँ – सरकारले कलाकार तथा निर्देशक प्रभाकर शर्मालाई राष्ट्रिय नाचघरको निमित्त महाप्रबन्धकको जिम्मेवारी सुम्पेको छ ।

३८ वर्षदेखि कलाकारिता क्षेत्रमा लागेका शर्मालाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नाचघरको निमित्त महाप्रबन्धकको जिम्मेवारी तोकेको हो । नाचघरलाई व्यवस्थित पार्न शर्माका योजना के छन् त? देश सञ्चारकी पूर्णिमा बिकले उनलाई पाँच प्रश्न गरेकी छन् ।

नाचघरको निमित्त महाप्रबन्धकमा नियुक्त हुनुभएको छ । कस्तो लागिरहेको छ?
खुशी छु । सरकारले मलाई विश्वास गरेर यो जिम्मेबारी दिएको छ । इमान्दारीका साथ काम गर्नेछु ।

नाचघरको महाप्रबन्धक मन्त्रालयले चयन गर्ने हो कि नाचघर आफैले ?

महाप्रबन्धकको रिक्ततामा जेष्ठ कलाकार वा जेष्ठ कर्मचारीलाई चयन गर्ने प्राबधान हुन्छ । तर हाम्रो नाचघरको विनियममा त्यो छैन। त्यस्तो नियम नभएका कारणले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिवस्तरीय निणर्यले चयन गर्छ । तर मलाई भने महाप्रबन्धकको सबै अधिकार दिएर मन्त्रालयले निमित्त महाप्रबन्धक तोकेको हो ।

वैकल्पिक रुपमा नियुक्त हुँदा तपाईको काममा कतिको असर पर्छ?

हो, अहिले विकल्पका रुपमा कार्यभार समाल्दै छु। र म विकल्प मात्रै हैन परि आएको खण्डमा दीर्घकालीन रुपमा पनि अगाडि बढ्न सक्छु । यसले काममा असर पदैन । किनभने म महाप्रबन्धक नभए पनि नाचघरको दोस्रो पदमा रहेको व्यक्ति हुँ। म त्यहाँबाट पनि काम गर्न सक्छु । दीर्घकालीन योजनाका साथ म अगाडि बढ्छु ।

दीर्घकालीन योजना तयार पारेको बताइरहँदा तपाईँको पदावधि कति हो थाहा छ ?

अहिलेसम्म सांस्कृतिक संस्थान नाचघरले अगाडि बढ्न नसकेको कारण पनि त्यहि हो कि यहाँ राजनीतिक नियुक्तिका आधारमा महाप्रबन्धक आउनुहुन्छ । उहाँको समय कतिको थाहा हुँदैन ।

सरकार परिवर्तन भएजस्तै गरी उहाँहरु आउनु हुन्छ। त्यसपछि नाचघरको वातावरण काम बुझ्दा बुझ्दै कार्यकाल सकिन्छ । तर म जति समय यो पदमा बस्नेछु इमान्दारीका साथ नाचघरको उत्थानमा लागिरहनेछु । मलाई पद खुस्केला भन्ने चिन्ता रहने छैन ।

तपाईँले नाचघरमा के के कार्य गर्नु हुनेछ?

मैले आफ्नो कार्यकालमा नाचघरको आय श्रोत बढाउने योजना तयार पारेको छु त्यसलाई कार्यान्नयन गर्नेछु । कर्मचारी तथा कलाकारका लागि पछिसम्मका लागि आर्थिक श्रोत जुटाउने तथा नाचघरलाई अझै व्यापक बनाउने र सांस्कृतिक महोत्सव गर्ने लगायतका कामको सुरुवात गरिसकेको छु । यसका लागि सम्बन्धित निकायसँग छलफलको क्रममा रहेको छु ।

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्