स्वदेश फर्किए प्रधानमन्त्री ओली, भने–म ठीक छु

फाइल तस्बिर

काठमाडौँ – स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली सोमबार मध्याहन्न काठमाडौँ आइपुगेका हुन् ।

विमानस्थलमा ओर्लिएपछि प्रधानमन्त्री ओली ‘म ठीक छु’ मात्रै भनेर पत्रकार सम्मेलन नगरी सिधै निवास तर्फ प्रस्थान गरे । उनको स्वास्थ्य अवस्था, हालै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका विवादास्पद अभिव्यक्ति, जम्मू–कश्मीर मुद्दा तथा पार्टी एकता प्रक्रियाका बारेमा पत्रकारले प्रश्न गर्न सक्ने सम्भावनाका कारण ओली अरु केही नबोली निवास तर्फ प्रस्थान गरेको अनुमान छ ।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि साउन १८ गते त्यसतर्फ गएका थिए । उनी गएको शुक्रबार नै स्वदेश फर्किने तयारी थियो । तर स्वास्थ्य परीक्षणको रिपोर्ट आउन ढिलाई हुँदा आइतबारका लागि सारिएको थियो ।

आइतबारसम्म पनि रिपोर्ट नआएपछि पुनः आगमन मिति सारेर सोमबारका लागि तय भएको हो । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको हो ।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए ।

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्