किन क्रान्तिको भाषा ओकल्दै छन् प्रचण्ड?

काठमाडौँ– झण्डै डेढ दशकअघि हतियार छोड्ने र बहुदलीय प्रतिस्पर्धात्मक प्रजातान्त्रिक व्यवस्थामा सामेल हुने घोषणाका साथ १० वर्षे ‘सशस्त्र बिद्रोह’ त्यागेर राजनीतिक मूलधारमा आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय एकपछि अर्को विवादास्पद अभिव्यक्ति दिइरहेका छन्। यसका कारण उनको राजनीतिक छवि अविश्वसनीय बन्दै गएको छ।

किन गर्दै छन् उनी यस्तो? उनकै पार्टीका प्रभावशाली नेताहरुका अनुसार आफ्नो हातमा पूर्णतयाः सत्ता नआउन्जेलसम्म दाहाल आफ्नो ‘क्रान्तिकारी’ छवि संकुचन आउन दिन चाहँदैनन्। त्यसैले उनी बेलाबखत जनयुद्धको भाषा र हिंसाबोध हुने अभिव्यक्ति दिइरहन्छन्।

विज्ञापन

अर्कोतर्फ अन्तर्राष्ट्रिय जगतका उग्रक्रान्तिकारी शक्तिहरुसँग निकटता देखाउन पनि उद्यत देखिन्छन्। वास्तवमा शान्ति प्रक्रियामा आएको वर्षदिनमै शक्तिखोरको माओवादी शिविरको एउटा प्रशिक्षणमा यो तत्कालीक रणनीति भएको र अन्तिम लक्ष्यद्धारा सत्ता हासिल गर्ने अभिव्यक्ति दिएर लडाकुहरुको मनोवल उच्च राख्ने प्रयास गरेका थिए उनले। त्यसपछि पनि प्रधानमन्त्रीका रुपमा होस् या सत्ता गठबन्धनका प्रभावशाली नेताका रुपमा उनले सत्ता, सदन र सडकबाट आन्दोलन जारी राखेर क्रान्तिकारी क्षेत्रमा संकुचन आउन नदिने रणनीतिक सन्देश दिइ नै रहे।

जनयुद्धताका वर्ग शत्रुको सफाया, ढाडमा टेकेर टाउकोमा हान्ने र क्रान्तिकारी अदालतबाट प्रतिगामीहरुलाई तह लगाउने नीति अपनाएको संगठनका नेता दाहालले शान्ति प्रक्रियामा आएर बहुदीय प्रतिस्पर्धात्मक राजनीतिमा सहभागी भइसक्दा पनि त्यो भाषा चटक्क छोडेका छैनन्।

पूर्व राजा ज्ञानेन्द्रलाई नागर्जुनबाट निकाल्ने, राजसंस्थाका समर्थकलाई खरानी पार्ने र इतिहास उल्ट्याउन खोज्नेलाई रछ्यान फाल्नेजस्ता उनका अभिव्यक्तिले त्यही पुरानै मान्यता र चरित्रलाई निरन्तरता दिएको सन्देश गएको पार्टी पंक्तिमै चर्चा हुन थालेको छ।

जनयुद्धताका वर्ग शत्रुको सफाया, ढाडमा टेकेर टाउकोमा हान्ने र क्रान्तिकारी अदालतबाट प्रतिगामीहरुलाई तह लगाउने नीति अपनाएको संगठनका नेता दाहालले शान्ति प्रक्रियामा आएर बहुदीय प्रतिस्पर्धात्मक राजनीतिमा सहभागी भइसक्दा पनि त्यो भाषा चटक्क छोडेका छैनन्।

सामाजिक सञ्जाल र राजनीतिक वृतमा उनका त्यस किसिमका अभिव्यक्तिप्रति कडा प्रतिवाद हुन थालेको छ र उनकै पार्टीले उनको बचाउ नगरेर उनी आफैले एक्लिने वातावरण बनाइरहेको विश्लेषण समेत हुन थालेको छ।

पूर्वमाओवादी बालसैनिक लेनिन विष्टले प्रचण्डलाई नेदरल्याण्डको हेगस्थित संयुक्त राष्ट्रसंघको फौजदारी हदालतमा उभ्याउनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा जर्वजस्त ‘लविङ’ गरेपछि दाहाल आत्तिएर आक्रामक अभिव्यक्तिहरु दिन थालेका त हैनन् भन्ने अनुमान पनि हुन थालेको छ।

राप्रपा नेता कमल थापाले त प्रचण्डले ज्ञानेन्द्रलाई लक्षित गर्दै दिएको अभिव्यक्तिलाई हास्यास्पद र पदीय मर्यादा विपरीत रहेको भन्दै आलोचना गरेका छन्। ‘पदीय मर्यादा विपरीत हास्यास्पद अभिव्यक्ति, असुरक्षित मनस्थितिको आक्रोश। राम्रो काम गरेर जनताको मन जित्नोस्, कसैप्रति आक्रोश देखाउनै पर्दैन’, थापाले ट्वीटमा भनेका छन् । साथै उनले प्रचण्डलाई सिसाको घरमा बसेर ढुंगा हान्ने काम गर्नु प्रत्युपादक हुनसक्ने भन्दै जनयुद्धकालीन शब्द र भाषा नसुहाउने भन्दै चेतावनी समेत दिएका छन्।

‘प्रत्युपादक हुन सक्छ । समयमै विचार गरौँ । जनयुद्धकालीन शब्द र भाषा पनि अब सुहाउँदैन’, उनले ट्वीट गरेका छन्। त्यो सँगै विष्टलाई दाहालकै पार्टी र पहिले एमालेसँग नजिक रहेको नागरिक समाजको एउटा पक्षबाट बलियो समर्थन हासिल भएको अनुमानले पनि प्रचण्डलाई आफ्नै दलभित्र अर्थात पुरानो एमालेको पक्षसँग असहज हुुनु अस्वाभाविक हैन। यता आएर फेरि उनले त्यस्ता अभिव्यक्ति बढी मात्रामा दिन थालेकाले ‘लेनिन विष्ट फ्याक्टर’ले बढी काम गरेको प्रमाणका रुपमा समेत हेरिएको छ। गत महिना हेगबाट फर्किए लगत्तै विष्टले अब अन्तर्राष्ट्रिय अदालतमा प्रचण्ड र उनका युद्ध सहयात्री डा. बाबुराम भटट्राइलाई उभ्याउने दिन टाढा नभएको दाबी गरेका थिए।

त्यसलगत्तै दाहालले, हेग गएमा आफै शान्ति र न्यायको पक्षधर हिरोको रुपमा स्थापित हुने र अन्तर्राष्ट्रिय जगतका लागि आफू झन् हिरो हुने दाबी गरे । उनले भनेका छन्, ‘एक जनाले त मलाई १३ हजार मानिस मारेको भनेर झुन्ड्याउने, हेग लिएर जेल हाल्ने कुरा गर्नुभयो। मलाई हेग लगे पनि केही फरक पर्दैन। त्यो त मेरा लागि गर्वको कुरा हुन्थ्यो। किनकी विश्वभरका मानिसले एकै साथ चिन्थे। यो त शान्तिको पक्षमा रैछ, न्यायको पक्षमा रैछ भन्थे। म विश्वभर हिरो हुन्थेँ।’

तर त्यस अभिव्यक्तिका कारण व्यापक आलोचना भएपछि उनले आफ्नो तिर पूर्व राजातर्फ सोझ्याए किनकी त्यसले उनलाई सामन्तवाद विरोधी तथा क्रान्तीकारी विल्ला बोक्न मद्दत पुर्याउँथ्यो । त्यही भएर नै उनले पूर्व राजा ज्ञानेन्द्रलाई नागर्जुनबाट निकाल्ने, उनका समर्थनलाई खरानी बनाउने र इतिहास उल्टाउन खोज्नेलाई इतिहासकै रक्षानमा मिल्काउने धम्की दिएको विश्लेषण गरिएको छ ।

उनले भनेका छन्, ‘केही इतिहासको रंगमञ्चबाट मिल्काइएका तत्वहरु, शक्तिहरु र विचारहरुका वाहकरुले पुनर्स्थापनाको सपना देख्ने गर्दछन्, कल्पना गर्दछन् । तर इतिहास साक्षी छ विश्वभरीको परिवर्तनको बहावलाई आम जनता समेत सामेल भएर जतामा एउटा राजनीतिक, सामाजिक जागरणसहित अघि बढेको विद्रोह र त्यसका उलब्धीहरुलाई कसैले उल्ट्याउन सकेको छैन। इतिहासको चक्का निरन्तर अगाडि बढ्छ, पछाडि धकल्न चाहनेहरु इतिहासको रछा्यानमा मिल्काइने गरेका छन् र नेपाल त्यसको अपवाद हुनै सक्दैन ।’

त्यसैगरी आइतबार सुनकोसी पुलको उद्घाटन गर्न सिन्धुली पुगेका प्रचण्डले भनेका छन्, ‘अहिले हाम्रो पार्टी र कार्यकर्तालाई तिमीहरूले बधाई र धन्यवाद दिनुपर्छ हामीले उदारतापूर्वक तिमीहरूलाई छोडिदिएका छौँ । हामीले उदारतापूर्वक ज्ञानेन्द्रलाई बस्न दिएका छौं। नारायणहिटी छोडेर नागार्जुनमा सुरक्षासहित बस्ने अवसर दिएका छौँ। हाम्रो सुझाव हो बकवास गर्न बन्द गरे हुन्छ ’

तर जतिसुकै चर्का अभिव्यक्ति दिए पनि पार्टी भित्रबाट कुनै समर्थन नपाएपछि दाहालले अलिकति आफ्नै सरकारको कामकारवाही र खासगरी संघीयताको अभ्यासमा देखिएको असफलतालाई सार्वजनिक आलोचनाको विषय बनाउन थालेका छन् । आफ्नै पार्टीका मुख्यमन्त्रीहरु संघीयताको कार्यान्वयनको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट रहेका बेला संघीयतारुपी वृक्षबाट चाहेको भन्दा उल्टो फल फल्न थालेको त होइन भन्दै उनले प्रकारान्तरले ओली भन्दा फरक मत जाहेर गरेका छन्।

वन तथा वातावरण मन्त्रालय र सामुदायिक वन उपभोक्ता महासंघ नेपालले शनिबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई शक्तिशाली सरकारको ठाउँमा ल्याए। हामी असफल भयौँ भने राष्ट्र असफल हुन्छ । राष्ट्र असफल भयो भने हामी सबैको आत्मसम्मान समाप्त हुने खतरा हुन्छ। जनतामा भएको बोझलाई हल्का गर्न र जनतालाई सेवा प्रदान गर्न संघीयता ल्याएको हो । हामीले रोपेको एउटा अर्कै उम्रेला जस्तो भएको छ।’

त्यस्तै लेनिन विष्टसँगको जुहारी प्रत्युत्पादक भएको आशंकाले हुन सक्छ उनले आफू कहिल्यै पनि हिंशामा व्यक्तिगतरुपमा सामेल नभएको, बरु सशस्त्र आन्दोलनलाई सुरक्षित अवतरण गराउन सफल भएको दाबी पेश गरे। उनले आजसम्म कसैलाई एक लपेटो नलगाएको र नखाएको दाबी गरेपछि सामाजिक सञ्जालमा केही वर्ष अघि दसैँको चियापान कार्यक्रममा भृकुटीमण्डपमाएक कार्यकर्ताले झापड हानेको र यता ६० जनाको सुरक्षाकर्मीको घेराभित्र सुरक्षित रहेको प्रसंगहरु खुल्लारुपमा आएका छन् ।

उनले यही शुक्रबार भनेका छन्, ‘मेरो नेतृत्वमा त्यत्रो युद्ध भयो, हजारौँको बलिदान भयो। तर म त्यस्तो विद्रोही नेता हुँ जसले कसैलाई एक लपेटो हानेको छैन, कसैको एक लपेटो खाएको पनि छैन । हिंसात्मक क्रियाकलापमा मेरो कहिँ प्रत्यक्ष सहभागिता छैन। मान्छेहरूलाई यो कुरा पत्याउने गाह्रो छ। ’

पार्टी एकीकरणपछि राजीतिक प्रतिवेदन जारी गर्न लामो समय लागेको र त्यसमा पूर्व माओवादी एमालेमै विलय भएको अर्थ लाग्ने गरी ईश्वर पोखरेल लगायत केही पूर्ववर्ति एमालेका नेताहरुले जवजको प्रसंग उठाएपछि दाहालले प्रतिक्रिया स्वरुप पछिल्लो समय माओवादीकै पुरानै भाषा प्रयोग गर्न थालेको बताइन्छ।

तर अस्तित्वमा नरहेको, केही उनीसँग चिढिएको र नेकपाभित्र पूर्ववर्ती माओवादीको आकार तुलनात्मकरुपमा धेरै सानो रहेकोले दाहाल कमजोर धरातलबाट र रणनीतिक हिसाबले मात्र क्रान्तीकारी छवी देखाउन बाध्य भएको उनी निकट नेताले बताए।

त्यस्तै अन्तर्राष्टिय क्रान्तिकारीहरुसँगको सम्पर्क प्रगाढ रहेको देखाउन गत जनवरीमा भेनेजुयलाको निकोलश मदुरो सरकारको समर्थनमा विज्ञप्ती निकाल्दै त्यहाँको आन्तरिक मामिलामा हस्तक्षप गरेको भन्दै अमेरिकी साम्राज्यवादको विरोध गरेका थिए।

अमेरिकी सरकारको विरोधका लागि पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीको पनि विरोध खेप्नु परेपछि प्रत्यक्षरुपमा आफू सामेल नभई दाहालले आफ्ना समर्थक तथा युवा संघका राष्ट्रिय अध्यक्ष दीप शिखा मार्फत मदुरो पुत्रलाई काठमाडौँ बोलाउन लगाई साम्राज्यवाद विरुद्धको अन्तर्राष्ट्रिय आन्दोलनमा आफ्नो समर्थन रहेको सन्देश पुर्याएका थिए।

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्