पहिरोले सडक भाँसिदा यातायात ठप्पः आठ परिवारले घर छाडे

फाइल तस्बिर

बाजुरा – साँफे मार्तडी सडकमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । बूढीगङ्गा नदीले सडकनै कटान गरी भाँसिन थालेपछि यातायात सेवा ठप्प हुन पुगेको हो।

शिलान्यास भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनौँ स्थानमा पहिरो जाँदा सो सडक अवरुद्ध भएपछि बाजुरावासी प्रभावित भएका छन् ।

गत वर्ष मात्र कालोपत्रको काम सकिएर सो सडक नियमित सञ्चालनमा आएको थियो । कालोपत्र गरेकै वर्ष पनि पहिरोका कारण सडक अवरुद्ध बनेको थियो । यो वर्ष पनि दुई पटक अवरुद्ध बनिसकेको छ ।

सामान्य पहिरो गएको र पन्छाएपछि सुचारु हुने अवस्था नभएकाले लामो समयसम्म सडक बन्द हुने अवस्था देखिएको छ ।

सो सडकखण्ड अन्तर्गत बूढीगङ्गा नगरपालिका– १ अमकोट क्षेत्रमा पहिरोले सडक भत्किएको छ । सडकमा यातायातका साधन नै सञ्चालन गर्न नमिल्ने गरी सडक भाँसिएको प्रहरीले जनाएको छ ।

सडकनै भाँसिएकाले छिटो खुलाउन नसकिने सडक डिभिजन कार्यालय साँफेका इञ्जिनीयर दमन विष्टले बताए । “यसअघि सानातिना दर्जन बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो”, उनले भने, “यो पहिरोको प्रकृति हेर्दा पहिरो खुलाउन सहज छैन, पहिरो पन्छाउनका लागि निकै सकस हुने अवस्था छ ।”

सडकको आधा बढी भाग पहिरोले बगाइसकेको र बाँकी भाग पनि भत्किने खतरा रहेकाले बस र ठूला मालबहाक ट्रक आवतजावतमा रोक नै लगाइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । पहिरोले भाँसिएको क्षेत्रमा खतराको चिन्ह लगाएर प्रहरी परिचालन गरिएको छ ।

सो क्षेत्रको अम्कोट, द्ववारी र मलाती क्षेत्रको आधा किलोमिटर बढी सडक नै पहिरोको उच्च जोखिममा रहेको सडक डिभिजन कार्यालय साँफेबगरले जनाएको छ ।

त्रिवेणी नगरपालिका क्षेत्रमापर्ने पैमाको पहिरो र बूढीगङ्गा नदीको कटानले सडक नै उच्च जोखिममा रहेको इञ्जिनीयर दमन विष्टको भनाइ छ ।

“बाटो पूरै भत्किसकेकाले अहिले सवारी साधन सञ्चालन गर्ने अवस्था छैन्”, उनले भने, पहिरोको कारण करिब ६० मिटर सड़क भाँसिएकाले सड़क पूर्णरूपमा अवरुद्ध भएको छ, बाटोका लागि विकल्प खोजिए पनि तत्काल सुचारु गर्नसक्ने अवस्था छैन् ।”

सडक छेउको घर नै भत्काएर तत्कालका लागि वैकल्पिक बाटो निर्माण गर्नुपर्ने हुँदा यसका लागि प्रमुख जिल्ला अधिकारीसहित घरधनीको अनुमति चाहिने इञ्जिनीयर विष्टले जानकारी दिए ।

उनले भने, “बजेट नभएपनि पछि माग गरेर पूर्ति गर्ने गरी वैकल्पिक सडक बनाइने छ । सडक अवरुद्ध हुँदा सदरमुकाम मार्तडी आउने र मार्तडीबाट जाने मालवाहक तथा यात्रुवाहक सवारी अलपत्र परेका छन् । दर्जर्नौ सवारी साधान बल्देमै रोकिएका छन् ।”

सदरमुकाम मार्तडी आउने र मार्तडीबाट जाने सञ्जाल नै विच्छेद भएको स्थानीयवासी चेतन ऐडीले बताए ।

आठ परिवारले घर छोडे


साँफे मार्तडी सडक खण्डको छेउमा रहेका आठ परिवारले घर छोडेका छन् । तलपट्टी बूढीगङ्गा नदीको तीव्र कटान शुरु गरेसँगै आँगनमै पहिरो बग्न थालेपछि उनीहरुले घर छोडेका हुन् ।

सात परिवारले साउन पहिलो साता नै घर छोडेका हुन् भने टीकाराम पाध्यायका दाजुभाइले एकहप्ता अघिमात्रै घर छोडेको स्थानीयवासी नवराज पाध्यायले जानकारी दिए ।

निरन्तर वर्षाका कारण सडक पहिरोले भाँसिएसँगै घर पनि जोखिममा परेको छ । घरसमेत पहिरोमा बग्ने भएपछि घर छोडेर अन्यन्त्र सर्नु परेको टीकाराम पाध्यायको परिवारको गुनासो छ ।

सडक तलतिर रहेका लीला पाध्याय, हीरा पाध्याय, नन्दकृष्ण पाध्याय, मनिराम पाध्याय, टीकाराम पाध्याय लगायतका परिवार पनि अन्यन्त्र सरिसकेका छन् । उनीहरुको बस्ती नजिकै पहिरो बग्न थालेको छ ।

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्