राजा महेन्द्र , योगी नरहरिनाथको थुना र वर्तमान राजनीतिक सन्दर्भ!

योगी नरहरिनाथ पिताजीलाई भेट्न आइरहन्थे , आमाले र दाइ दिदीहरूले चर्चा गर्दा मैले योगीजीको नाउँ थाहा पाएको थिएँ।

योगी राजा महेन्द्रका उच्च प्रशंसक थिए तर एकचोटि राजा महेन्द्रले उनलाई लामै समय (निश्चित अवधि सम्झना भएन) थुनिदिएका थिए।

विज्ञापन

उनै नरहरिनाथ थुना मुक्त भएछन् र डिल्ली बजारको सांस्कृतिक केन्द्रमा उनको भाषण हुने भएछ।

तिथिमिति सम्झना छैन, म स्कूलमै पढ्थेँ जस्तो लाग्दछ, बासु दाइ ( बासुदेव आचार्य , बोहोरेटार) हो वा अरू नै कोही अग्रज सँगै म पनि उक्त स्थलमा पुगेँ।

त्यहाँ नरहरिनाथले भनेका अरू कुरा सम्झना भएन तर उनले भनेको एउटा कुरा भने मेरो मनमा गडेर बसेको छ!

उनले भनेका थिए – राजाको झन्डा र राष्ट्रको झण्डा फरक हुनुहुन्न!

*****

स्मरणीय छ- नेपालको राष्ट्रिय झण्डा भन्दा राजाको झण्डा फरक थियो – राजाको झण्डामा सिंहले झण्डा समाएको देखिन्थ्यो।

लाग्दछ, यिनै आधारमा उनले राजा महेन्द्रको आलोचना गरेका थिए र उनी थुनिए।

*****

अहिले मुलुकका अत्यधिक ठूलो सङ्ख्याका जनताको धर्म र शासक समुदायको धर्म फरक छ, विश्वास र आस्था फरक छ।

उनीहरू इश्वरको नाउमा पद-ग्रहणको शपथ लिंदैनन्।

आम जनताको विश्वाससँग जोडिन नै चाहन्नन्।

एउटा सानो तर विदेशी शक्तिको भर र बल पाएको समूह र समुदायसँग मात्रै जोडिन चाहन्छन् उनीहरू।

त्यसैबाट शासकीय शक्ति प्राप्त हुने विश्वास उनीहरूको देखियो।

उनीहरू जनताको आस्था र भावनाको प्रतिनिधित्व नै गर्दैनन्।

त्यसैले जनताले उनीहरूलाई आफ्नो मान्न सकिरहेका छैनन्।

*****

एक चोटी भारतीय प्रधानमन्त्री राजिव गान्धीलाई शान्ति निकेतनका विद्यार्थीहरूले सोधे – तपाइँ ईश्वर मान्नुहुन्न तर पनि मन्दिर जानुहुन्छ नि?

गान्धीको जवाफ थियो – ‘हो म ईश्वर मान्दिन तर मेरो देशका करोडौं जनताको धार्मिक भावनाको सम्मान गर्न र म मन्दिरमा जान्छु, जहाँ जनताको आस्था छ त्यहाँवाट म कसरी विलग हुन सक्दछु? जनताको मन्दिर मेरो पनि मन्दिर हो।’

*****

मुलुकमा दुइ तिहाई बहुमतको सरकार छ।

संवैधानिक र कानुनीरूपमा सरकारमाथि कुनै चुनौती छैन।

तर सरकार संसद्को, कानुनको र संविधानको बलले मात्रै बलियो हुँदो रहेनछ।

अदालत,सेना, प्रहरी, प्रशासन संयन्त्र, संवैधानिक निकाय,बुद्धिजीवी समुदाय, पेशागत क्षेत्र, बिद्यार्थी, ट्रेड युनियन,मात्रै नभएर विदेशी गैर सरकारी सँस्था र विश्वका शक्तिशाली र समृद्ध मुलुकहरूको यत्रो ठूलो भर र बल हुँदा पनि सरकार किन अस्थिर देखिएको छ त ?

*****

किन राजनीतिक वा सत्ता परिवर्तनको कुरा सत्तारूढ दलकै सर्वोच्च नेताबाट बारम्बार आइरहेको छ त?

हाँसीहाँसी असाधारण सहजता प्रदर्शन गर्दै नारायणहिंटी छोडेर हिँडेका र पुन राजगद्दी प्राप्त गर्नमा कुनै लालसा नराखेका तर जनता र सबै पक्षले चाहेमा राज धर्म र राष्ट्र धर्म निर्वाह गर्नबाट पछि नहट्ने (सम्भवत निष्काम कर्म चेतना भनेको पनि त्यही हो) कुरा मात्रै गरेका राजा ज्ञानेन्द्रले खोक्दा पनि १० बर्षे विद्रोहका नेता र शक्तिशाली सत्तारूढ दलका अध्यक्षको किन सातो गएको देखिन्छ?

किन उनी असन्तुलित बन्न पुग्दछन् ?

*****

योगी नरहरिनाथकै भनाईको मर्मलाई जोडौं –

जनताको धर्म एउटा शासक समुदायको धर्म अर्को !

*****

आम जनता कम्युनिस्ट छैनन्,
कम्युनिस्ट पार्टीकै नेता कम्युनिस्ट छैनन्,
कम्युनिस्ट व्यवस्था संसारमा लोकप्रिय छैन।
दुइटा हातका औंलामा गन्न सकिने कम्युनिस्ट मुलुक पनि दुनियाँमा छैनन्।

*****

जनताले कम्युनिस्ट पार्टी मन पराएर दुई तिहाइ दिएका होइनन्,
एउटा सन्दर्भमा केपी ओलीको राष्ट्रियता प्रतिको दह्रो अडान,
भारतीय नाकावन्दी,
काङ्ग्रेसको मूल्यहीन राजनीति र काङ्ग्रेस नेतृत्वले जनतामा आशा र भर जगाउन नसकेको अवस्था आदि कारणहरूको योग र दुइटा ठूला पार्टीको एकता आदि धेरै कुराले त्यसमा योगदान पुर्‍याएको थियो।

नेपाली समाज, वौद्धिक समुदाय र राजनीतिक अवसरवादिताले पनि भूमिका खेल्ने नै भयो।

*****

राजनीति, प्रणाली र दलहरू जनतासँग जोडिएनन भने संविधान,कानुन र सेना-प्रहरी लगायत सिङ्गो राज्य संयन्त्रमा शक्तिशाली नियन्त्रण भए पनि सरकार कमजोर , अस्थिर र गतिहीन अनि सधैं सरकार परिवर्तन र सत्ता परिवर्तनका कुरा नै स्थायी हुने रहेछन्।

सरकार स्थायी भएको आभास नै हुँदो रहेनछ!

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्