प्रहरी हिरासतबाटै निरन्तर भागिरहेका छन् थुनुवा, लापरबाही कि मिलेमतो?

भैँसेपाटीमा हिरासतबाट थुनुवा भागेको ठाउँ।

काठमाडौँ- मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसँगै जोडिएको सिंहदरबार प्रहरी वृतबाट शनिबार राति चार जना थुनुवाले हिरासत कक्ष ‘ब्रेक’ गर्दै फरार भए। प्रहरीले तीन जनालाई समातिसकेको छ भने एक जना अझै फरार छन्।

शनिबार फरार भएका चोरी मुद्दाका अनिल थापा, सुब्बा लामा र सुकलाल वाइबा पक्राउ परिसकेका छन् भने मदन तामाङ अझै फरार छन्। उनीहरुले हिरासत कक्षको झ्याल काटेर फरार भएका थिए। सबै जना मोटरसाइकल चोरी मुद्धामा अनुसन्धानमा थिए।

काठमाडौं प्रहरी परिसरले घटनाका बेला सिंहदरबार वृतमा ड्युटीमा रहेका असई तथा ड्युटी अफिसर भीमबहादुर थापा, ड्युटीमा रहेका हवलदार बोधबहादुर माझी र चन्द्रबहादुर विकलाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको छ। वाइबा चोरी मुद्धाका पटके हुन्।

काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले आफन्तले थुनुवालाई खाना लैजाँदा हटकेसमा ह्याक्सो ब्लेड लुकाएको प्रारम्भिक निष्कर्ष रहेको बताए। ‘हटकेसको तलतिर ह्याक्सो ब्लेड लुकाइएको पाइएको छ। सुरक्षा गार्डले ध्यान नपुर्‍याउँदा गल्ती भएजस्तो देखिन्छ’, डीएसपी बोगटी भन्छन्। थुनुवालाई पुर्‍याइने खाना तथा अन्य सामानको पूर्ण जाँच हुने गरेपनि पर्याप्त ध्यान नदिएको निष्कर्श काठमाडौं प्रहरीको छ।

प्रहरीको गल्ती तथा जिम्मेवारीको विषयमा छानबिन गर्न काठमाडौं प्रहरी परिसका एसपी अशोक सिंहको नेतृत्वमा छानबिन समिती गठन भएको छ। ‘तत्कालका लागि निलम्बन गरिएको छ। थप कारबाहीका विषयमा छानबिन समितीको प्रतिवेदनका आधारमा निर्णय हुने छ’, डीएसपी बोगटी भन्छन्। यसअघि पनि सिंहदरबार वृतबाट म्याद थपका लागि पाटन उच्च अदालत लगिएका एक थुनुवा एक महिना अघि अदालत परिसरभित्र रहेको शौचालयबाट फरार भएका थिए।

फरार ती व्यक्ति पछि पक्राउ परे। बैंकिङ कसुरका ती थुनुवा अहिले पुर्पक्षका लागि कारागारमा छन्। ती थुनुवा शौचालयभित्र पसेपछि हत्कडी खोल्दै भेन्टिलेसनबाट भागेका थिए। ड्युटीमा लापरबाही गरेको भन्दै काठमाडौं प्रहरी परिसले एक जनालाई २ वर्ष बढुवा रोक्का र एक जनालाई तल्लो टाइम स्केलमा घटुवा गरेको छ।

गत असार २८ गते इलाका प्रहरी कार्यालय धनौली,खजुरा, बाँकेको हिरासत कक्षबाट तीन जना थुनुवा फरार भए। उनीहरुले हिरासत कक्षको  शौचालयको भेन्टिलेटर काटेर भागेका थिए।  खजुरा गाउँपालिका-४ का १८ वर्षीय सिमन विक, खजुरा-३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्की फरार भएका थिए। विक लागु औषध मुद्धामा तथा थापा र कार्की सार्वजनिक मुद्धामा पक्राउ परेका थिए।

गत साउन ७ गते इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराकोे हिरासतबाट एक थुनुवा फरार भए। फरार हुनेमा भारतको मोतिहारी लिपनी–४ का १९ वर्षीय फिरोज मियाँ थिए। उनलाई चोरी मुद्धामा हिरासतमा राखिएको थियो। खाना खुवाउन हिरासत कक्षबाट बाहिर निकाल्नेक्रममा मियाँ पर्खाल नाघेर भागेको प्रहरीको दावी थियो। ड्युटीमा रहेका प्रहरी हवल्दार शशिकान्त चौधरी र प्रहरी जवान अशोक साह निलम्बनमा छन्। साउन ३ गते सिम्रौनगढको हाट बजारबाट प्रदेश २ का सभामुख सरोज यादवको पाकेट मारेर भाग्दै गरेको अवस्थामा मियालाई प्रहरीले समातेको थियो।

गत असार २३ गते राती  ललितपुरको भैंसेपाटी प्रहरी प्रभागको हिरासतबाट तीन जना थुनुवा फरार भए। उनिहरु हिरासत कक्षसँग जोडिएको शौचालयको ग्रिल काटेर भागेका थिए। भाग्नेमा चोरी मुद्दाका शमशेर माझी र रुद्रलाल श्रेष्ठ तथा लागुऔषध मुद्दाका रबिकुमार तिमल्सिना थिए। प्रहरीले माझी र श्रेष्ठलाई पक्राउ गरिसकेको छ भने तिमल्सिना अझै फरार छन्।

अनुसन्धानका क्रममा  म्याद थप्न ल्याइएका बेला माझी र श्रेष्ठले अदालत परिसरबाट ह्याक्सो ब्लेड प्राप्त गरेको र त्यसलाई सफलतापुर्वक थुनुवा कक्षसम्म पुर्‍याएको प्रहरीको प्रारम्भिक निष्कर्श थियो। ललितपुर प्रहरी परिसरले घटना भएको दिन प्रभावको ड्युटीमा रहेका ड्युटी अफिसर रहेका असई, सेक्युरिटी गार्डको कमान्डर रहेका हवल्दार र हिरासत कक्षको सेक्युरिटी गार्ड रहेका जवानलाई निलम्बन गरी अनुसन्धान अगाडि बढाएको थियो। स्रोतका अनुसार निलम्बनमा परेका तीनैजनालाई बढीमा ग्रेड घटुवासम्मको कारबाही गरिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी विश्वराज पोखरेल हिरासत कक्ष राखिने संरचनामा भएका कमिकमजोरी र ड्युटीमा हुने लापरबाही दुवै यस्ता घटनामा जिम्मेवार रहने बताए। ‘हालसम्मका यस्ता घटनालाई हेर्ने हो भने प्रहरीको मिलेमतोमा भएको देखिँदैन। सबैमा ड्युटीमा भएको लापरबाही र संरचनामा भएको कमिकमजोरी नै कारण देखिन्छ’, डीआईजी पोखरेल भन्छन्। प्रहरीले ड्युटीमा लापरबाही गरेको भन्दै यस्ता अधिकांश घटनामा विभागीय कारबाही मात्र हुने गरेको छ।

पछिल्लो एक वर्षमा देशभर तीन दर्जन बढी थुनुवा हिरासतबाट भागेको तथ्यांक छ। प्रहरी प्रधान कार्यालयका अनुसार यसबीचमा कैलालीबाट एक महिलासहित चार जना, मकवानपुरबाट चार जना,  चितवनबाट तीन जना, हुम्ला र मोरङबाट २/२ जना प्रहरी हिरासतबाट भागेका छन्। यस्तै पाँचथर, झापा, काभ्रे, सिन्धुली, भक्तपुर, स्यांजा, कास्की, बर्दिया, दाङ र कालिकोटबाट पनि थुनुवाले हिरासत ब्रेक गरेको तथ्यांक छ पछिल्लो एक वर्षमा।

हिरासत ब्रेकमा चोर सिपालु 

हिरासतबाट भागेका अधिकांश घटनालाई हेर्दा चोरीका प्रतिवादी अग्रपंक्तीमा देखिन्छन्। अधिकांश घटनामा चोरले नै यसरी भाग्दा नेतृत्व गर्ने गरेको प्रहरीका अनुसन्धानबाट देखिने गरेको छ। गत वर्ष कुख्यात चोर टिकाबहादुर थापा मगर ‘टिके’ डिल्लीबजार कारागारबाटै भाग्न सफल भएका थिए। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले टिकेलाई चितवनमा गोली हान्दै नियन्त्रणमा लिएको थियो। ‘ चोरहरु यस्ता विषयमा सिपालु  हुने भएकाले पनि प्राय घटनामा उनीहरुले नेतृत्व लिएको हुन सक्छ’, काठमाडौं प्रहरी प्रवक्ता बोगटी भन्छन्।

 

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्